काठमाडौं ।
लालीगुराँस नेसनल एकेडेमी र ग्रिनल्यान्डले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। लालीगुराँस जुनियर ब्वाइज तथा ग्रिनल्यान्ड सिनियर गर्ल्समा च्याम्पियन बने।
बूढानीलकण्ठ नगरपालिका– ६ च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले भ्याली पब्लिकलाई २७–२३ ले पराजित गर्यो। लालीगुराँसका साहिद पुनले १७ स्कोर गरे। गोल्डेनपिक तेश्रो भयो।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई ३५–३० ले हरायो । ग्रिनल्यान्डकी विहानी राईले १२ स्कोर गरिन्। इडेन ब्रिज एकेडेमी (इबीए) तेश्रो स्थानमा रह्यो ।
जुनियर ब्वाइजमा लालीगुराँसका सर्गम गुरुङ तथा सिनियर गल्र्समा ग्रिनल्यान्डकी आहाना खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा लालीगुराँसका रोहित गुरुङ तथा सिनियर गर्ल्समा ग्रिनल्यान्डकी विहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (५० अंक) तथा सिनियर गर्ल्समा फेरिल्यान्डकी करुणा बोगटी (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा पारामाउन्ट तथा सिनियर गर्ल्समा न्युटनले अनुशासित टिमको ट्रफी हात पारे । जुनियर ब्वाइजमा बेल्मोन्ट इन्टरनेसनल एकेडेमी तथा सिनियर गर्ल्समा नवदीक्षित पाठशाला उदीयमान टिम ठहरिए ।
विजेतालाई पूर्व मन्त्री रेशम लामा, आयोजक जेबी सञ्चालक समितिका अध्यक्ष कृष्ण वस्ती, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया