काठमाडौं ।
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला राजधानीमा सम्पन्न भएको छ। दृष्टिविहीन क्रिकेट संघ नेपालले सीबीएम ग्लोबल नेपालको साझेदारीमा राष्ट्रिय खेलकुद विकास नीति तथा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था विषयमा १ दिने कार्यशाला सम्पन्न गरेको हो ।
कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले नेपालमा दृष्टिविहीन क्रिकेट खेल र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सुरुवात तथा विकासको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे। उनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सुरुवात वि.स.२०२५ देखि भएको, वि.स.२०३२ सालमा शारीरिक अपाङ्गता भएकी महिला सूर्य कुमारी गुरुङले जापनमा स्वर्ण पदक जितेको, वि.स.२०५२ सालमा नेपाल पारा ओलम्पिक कमिटीको स्थापना भएको भन्दै अहले नेपालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने २१ वटा संघ संस्था मार्फत खेलकुदका कार्यक्रमहरूको आयोजना गर्दै आएको बताए ।
त्यस्तै उनले राष्ट्रिय खेलकुद नीति बनाउँदा अपाङ्गता भएका खेलाडीहरू तथा अपाङ्गताको खेलकुदका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसँग छलफल गरी सल्लाह सुझावलाई पनि समावेश गर्नु पर्ने बताए ।साथै उनले राज्यले खेलकुदमा नीतिमा अपाङ्गता भएका खेलाडीहरूका लागि पनि सम्बोन्धन गरिएका व्यवस्थाहरूका विषयमा जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुदका सवालमा गरिएका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मार्फत पनि अपाङ्गता भएका खेलाडीहरूका लागि विभिन्न सवालमा वकालत तथा पैरवी गरिरहेको भन्दै राज्यले खेलकुद सम्बन्धी नीति कानुन ल्याएको भए पनि ती नीतिहरूमा अपाङ्गता भएका खेलाडीहरूका सवालहरूलाई समावेश गर्न छुटेको गुनासो गर्दै २०८० मा ल्याएको राष्ट्रिय नीति, अपाङ्गता अधिकार ऐन २०७४, नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासम्धीमा समावेश गरिएका व्यवस्थाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने, युवा तथा खेलकुद मन्त्रालयमा पनि अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि निरन्तर प्रयास भएको बताए ।
कार्यक्रममा उच्च अदालतका इजलास अधिकृत सुमेधा खनालले सर्वोच्च अदालत तथा न्यायपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि गरिएका व्यवस्थाहरूको विषयमा, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत प्रमीला खनालले राष्ट्रिय खेलकुद विकास ऐन तथा राष्ट्रिय खेलकुद निजीको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरूको सवाल सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि र दृष्टिविहीन क्रिकेट खेलको विकासका लागि पनि भएका ऐन कानुन तथा नीति नियमहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि पहल गर्नु पर्ने, अपाङ्गता भएका खेलाडीहरू र अपाङ्गता नभएका खेलाडीहरू बिचमा प्रतियोगिता तथा सेवा सुविधामा विभेद गर्न नहुने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपाङ्गता महिला खेलाडी सरिता थुलुङ्गले खेलकुद अन्य नागरिकहरूका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि अति नै महत्त्वपूर्ण रहेको बताइन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरूका खेलकुदका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिदिएको खण्डमा अपाङ्गता प्रति सकारात्मक रूपमा जनचेतना जाग्ने, राज्यको ध्यानाकर्षण हुने उल्लेख गरिन् ।
कार्यक्रममा अपाङ्गता भएका खेलाडीहरू तथा खेलाडीका अभिभावकहरूले राज्यले अपाङ्गता भएका र अपाङ्गता नभएका खेलाडीहरूमा खेल प्रतियोगिता, सेवा सुविधा तथा अवसर, स्वागत, सहभागिता लगायतका विषयमा विभेद गर्दै आएको, अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो गरेका थिए।
प्रतिक्रिया