इतिहासको त्यो नृशंस हत्याकाण्ड

658
Shares

नेपालको इतिहासका हरेक पाना पल्टाउँदा अनेकन निर्दोष नागरिक मारिएका घटना भेटिन्छन् । यसरी कुनै पनि शासनको कालखण्डमा निर्दोष मान्छेको हत्या गराउनु इतिहासका पानामा कालो दाग लगाउनुसरह हो । जुन बेलामा धर्मभिरु समाज र शासक हुन्थे, त्यस बेला त मान्छेको अनाहकमा वध गराउनु महापाप हो भन्ने दिमागी सोचका शासक र जनता हुन्थे । तर ती सब विषय भनेको बाहिरी देखावटी मात्रै रहेछन् भन्ने कुरा इतिहासका घटना पढ्दा थाहा हुन्छ। होला शासनको अंगको रुपमा रहेको व्यक्तिले ठूलै वा अक्षम्य अपराध गरेको भए उसलाई मृत्युदण्डको सजाय दिनु उपयुक्त नै हुन्थ्यो होला । तर शासकको आफ्नो स्वार्थ पूर्ति गर्ने र स्वार्थ पूर्ति हुने लक्षण नदेखिएपछिका दिनमा उसलाई पन्छाउन खोज्ने अनि सजिलै पन्छाउन नसकेको महसुस गरेर सफाया नै गरी बाटाको काँडो पन्छाएजसरी मारेर, आफ्नो आपराधिक बाटोबाट अवरोध हटाएर निष्कण्टक शासनको सपना देख्ने शासक वर्गको अदूरदर्शिताको पराकाष्ठा मान्नुपर्छ।

नेपालको इतिहासमा यसरी शासकको स्वार्थको बलिमा बोको बनेर आफ्नो प्राण बलिदान गर्न विवश हुनुपर्ने पात्रहरुमध्ये माथवरसिंह थापा थिए । उनी राजा सुरेन्द्र, राजेन्द्र अनि तिनका महारानीहरुका आ–आफ्ना स्वार्थ पूर्तिका लागि बलिको बोको बनाइएका एक स्मरणीय पात्र हुन् । अझ बढेर भन्ने हो भने कति इतिहासकारहरुले त त्यो दोष शासकलाई नदिएर स्वयं माथवरसिंहलाई नै थोपरेका छन । इतिहासको कठघरामा उभिएर तीतो सत्य ओकल्ने आँट आउँछ भने नेपालको इतिहासले माथवरसिंह थापालाई भन्दा तत्कालीन शासकलाई दोष अधिक दिनुपर्ने हुन्छ।

राजा पृथ्वीनारायण शाहको शासनकालमा यसरी निर्दोष नागरिक मार्ने काम हुँदै नभएको त होइन तथापि ज्यादै न्यून मात्रमा मारिए होलान् । उनको विचारमा आफ्ना नागरिकलाई मार्नुहुँदैन । यदि कुनै अक्षम्य अपराध गरेछ नै भने पनि उसलाई युद्धको मैदानमा पठाउनु, यदि जितेर आए फाइदै भयो नभए पनि युद्धको मोर्चामा लडेर देशको लागि राम्रै काम गर्न सक्यो भन्ने सोचाइ पृथ्वीनारायण शाहको थियो। पृथ्वीनारायण शाहपछिका हरेक कालखण्डमा निर्दोष मान्छेलाई समेत सफाइ गर्ने चलन बढेर गएको पाइन्छ। कतै न कतै आश्रय लिई निस्फिक्री भएर शान्तिपूर्णरुपले बाँच्दै गरेको नागरिकलाई समेत अनेक तरहका प्रलोभनमा फसाउने अनि आफ्नो स्वार्थ पूर्तिको एउटा हतियार वा साधन बनाउने, त्यसपछि आफ्नो स्वार्थ पूर्ति हुने लक्षण नदेखिएपछि आफ्नै आँखाको कसिँगर बनाउने चलन चलेको पाइन्छ। आँखाको कसिँगर बनेको मान्छेलाई अचानक हटाउन सक्ने अवस्था आएको छ भन्ने थाहा पाएपछिका दिनमा उसको सफाया गरेरै बाटो खुल्ला बनाउन खोज्ने शासकको दुश्चरित्रका बारेमा इतिहासका पानामा कम वर्णन गरेर अथवा उसका सर्वत्र गुणैगुणका कुरा गरिदिएर मारिने वा सजाय पाउनेका दोषैदोषका कुरा बखान्ने चलन बस्दै गएको छ । नेपालको इतिहासको यो एउटा खराब पक्ष हो।

पृथ्वीनारायण शाहपछिका हरेक कालखण्डमा निर्दोष मान्छेलाई समेत सफाइ गर्ने चलन बढेर गएको पाइन्छ। कतै न कतै आश्रय लिई निस्फिक्री भएर शान्तिपूर्णरुपले बाँच्दै गरेको नागरिकलाई समेत अनेक तरहका प्रलोभनमा फसाउने अनि आफ्नो स्वार्थ पूर्तिको एउटा हतियार वा साधन बनाउने, त्यसपछि आफ्नो स्वार्थ पूर्ति हुने लक्षण नदेखिएपछि आफ्नै आँखाको कसिँगर बनाउने चलन चलेको पाइन्छ।

भीमसेन थापाको अवसानपछि नेपालमा बस्नु उचित नठानेर तराईमा सेतो हात्ती निस्केको र त्यसलाई पक्रन जाने निहुँ पारेर माथवरसिंह थापा मुग्लान पसेका थिए । उनी विदेशी फौजमा लागेर महिनाको एक हजार रुपियाँ (अहिलेको पाँच लाख जति) जागिर खाएर अनन्दले रहँदै थिए । यता नेपाल दरबारमा भने भीमसेन थापाको पतनपछि भीमसेनले जस्तै गरी शासन चलाउन सक्ने पात्रको खोजी हुन थालेको थियो। विचार गर्दै जाँदा त्यस्तो योग्य पात्र माथवरसिंह थापा नै हुन्छ भन्ने ठानेर नेपाल दरबारबाट तारन्तार बोलाउने काम हुन थाल्यो। यो बोलावटले गर्दा उनी नेपाल आउन बाध्य भएका मात्र होइन कि भीमसेन थापाको अन्त्यकालतिर थापाहरुमाथि लागेको मुद्दासमेत फिर्ता लिएर, थापा परिवारलाई पूर्णरुपेण सफाइ दिएर, उनलाई जडगी र निजामतीका साथै शासनको सबै अधिकारसमेत दिएर सन्तुष्ट पार्ने काम भयो। हालसम्म कुनै पनि शासकले नपाएको कमान्डर इन चिफ र प्राइममिनिस्टरको पदसमेत दिने काम भयो । यति धेरै अधिकार पाएका माथवरसिंह थापाले करिब दुई वर्ष पनि शासन सम्हाल्न नपाई मारिनुपरेको थियो।

उनी मुग्लानमा जागिर खाएर आनन्दले बसेका व्यक्तिलाई तारन्तार नेपाल बोलाई यति धेरै शक्तिशाली बनाएर मराउनुपर्ने कारण के थियो होला ? भन्ने बारेमा तर्क उठ्न सक्छ । पहिलो कुरा, यो थियो कि कान्छी महारानीको सल्लाहअनुसार उनी मुग्लानबाट नेपाल झिकाइएका व्यक्ति थिए । माथवरसिंह थापाको सहयोगमा जेठी महारानीका युवराज सुरेन्द्रलाई पर पन्छाएर कान्छी महारानीका छोरा रणेन्द्रलाई राजा बनाउने धुनमा कान्छी महारानी लागेकी थिइन् । तर माथवरसिंह थापाले यस्तो अवैध काम गर्न इन्कार गरेका हुनाले उनी कान्छी महारानीका लागि आँखाको कसिँगर बन्न थालेका थिए र यो स्वाभाविक अवस्था पनि थियो ।

दोस्रो कारण, त्यस बेला कोही नागरिकले आपराधिक काम गरेको खण्डमा मृत्युदण्डको सजाय हुन्थ्यो । तर अपराध गर्ने अपराधीलाई कायलनामा गराएर राजाको लालमोहर लागेपछि मात्र मृत्युदण्डको सजाय हुने गथ्र्यो । तर वर्तमान राजा राजेन्द्र विक्रम शाह छँदै युवराज सुरेन्द्रलाई राजगद्दी दिनु उपयुक्त होइन भनेर राजा राजेन्द्रका पक्षका बोल्ने १६ जना तल्ला अफिसरहरुलाई आफैँले काटेर मार्न लगाउनुका साथै बाहुनलाई मार्नु नहुने भन्ने अड्चन रहेकोले दोषी ठहरिएका तीनजना बाहुनलाई चार पाटा मुड्न लगाएर माथवरसिंह थापाले डाँडो कटाउन लाएको सन्दर्भ पनि इतिहासमा लेखिएको छ । माथवरका यी अराजक कदमबाट दिक्क भएका राजा राजेन्द्रले यति मात्रै बिरामले मार्न लाउने थिए कि थिएनन् ? भनेर अन्दाज गर्न सकिन्छ । माथवरसिंह थापा मारिनुमा अरु पनि आन्तरिक कारण पक्कै होलान् ।

माथवरसिंह थापालाई मुग्लानबाट नेपाल झिकाएपछि राजा राजेन्द्रले उनलाई सबैजसो अधिकार दिएर आत्मैदेखि प्रसन्न तुल्याउन खोजे होलान् भनेर सबैले अन्दाज गर्ने कुरो हो । अन्दाज गरेनुसारकै सबै अधिकार माथवरसिंह थापालाई प्रदान गरे भनेर उल्लेख भइसकेको छ । यति धेरै अधिकार हात लगाएका माथवरसिंह थापाले अब आफू अधिकारसम्पन्न भइसकेपछि आफूलाई अधिकार प्रदान गर्ने राजालाई समेत टेर्न वा गन्न छोडेका थिए भनिन्छ । आफूलाई अधिकारसम्पन्न बनाउने राजाको सम्मान गर्नु र मर्यादा राख्नुको साटो उनी राजाका हरेक बचनमा मुखमुखै लाग्न थालेका थिए । राजारानीको अपमान हुने खालका कर्म गर्न थालेका थिए । एकदिन राजा राजेन्द्रकै सामुमा उनले रिसाएर कसिँदै तपाईँहरु दुई सरकार (राजा राजेन्द्र र सुरेन्द्र) बाट राज्य चल्दैन, मजस्तो बजीर र माहिला साहेबज्यू (उपेन्द्र विक्रम शाह) जस्तो राजा भएको भए म कति राम्रो राजकाज चलाउने थिएँ भनेर कड्केका थिए।

त्यसपछिको कुनै अर्को दिन राजा राजेन्द्र कतै बाहिरको सवारीमा निस्कनको लागि घोडाको तबेलामा पुगेका थिए । उनलाई के कुराको चित्त नबुझेर माथवरसिंह थापासँग केही गुनासो सुनाउन लाग्दाखेर रिसले मुर्मुराएका माथवरसिंह थापाले रिसको आवेगमा ई… भनेर आफ्नो लिंगतिर इशारा गरी राजालाई देखाएका थिए रे !

माथवरसिंह थापाको यस्तो खराव हर्कतले गर्दा भित्रभित्रै राजारानीको मनमा दिग्दारीको भाव पैदा हुनुका साथै आफूलाई माथवरले सम्मानको साटो घोर अपमान गरेको छ भन्नेजस्ता भावना मानसमा प्रकट हुन थालेको थियो होला । यति धेरै कारणबाट चिढिएका राजा राजेन्द्रले माथवरलाई पूर्णरुपेण पन्छाउने कदम उठाउन थाले । पहिले आफैँले त्यत्रो अधिकार दिलाएर नियुक्त गरेको शक्तिशाली व्यक्तिलाई अब कसरी हटाउन सकिएला ? भनेर राजा आफैँले धेरै समय माथापच्चीसी गर्नुपरेको थियो । अन्त्यमा सफाया गरेरै हटाउने निर्णय भयो । यो निर्णय केवल राजा राजेन्द्र, गगनसिंह खवास र जंगबहादुर राणाबाहेक शायद कसैलाई थाहा भएन । वि.सं. १९०२ जेठ महिनाको ६ गते राति राजा राजेन्द्र, रानीकै रोहबरमा गगनसिंह खवास र जंगबहादुरले माथवरसिंह थापालाई मार्ने सबै पाँजो मिलाइएको थियो।

रातको १२ बजेको समयमा माथवरसिंह थापालाई दरबारमा रानीलाई मुटु दुखेर सिकिस्त भएको निहुँमा बोलाएर ल्याउने जिम्मा काजी कुलमानसिंह थापालाई दिएर खटाइएको थियो । खटाइएअनुसार काजी कुलमानसिंह थापा माथवरसिंहको घर (अहिलेको बागदरबार) गएर उनलाई खबर सुनाए । अरु बेला राजारानीको अपमान गरेको भए पनि रानी सिकिस्त भएको खबर सुनेपछि माथवरसिंह थापा दरबार नगई हुने कुरो थिएन। उनी दरबार जाँदै गर्दा पक्कै डराएनन्। किनभने शारीरिकरुपमा पनि उनी पहलमान नै थिए। भनिन्छ, दशैँमा बलि दिने दश धार्नीको बोको दाहिने हातले चटक्क छिनाउने र देवे्र हातले एक मुठी हाडे ओखर मरक्क पारेर फुटाउने तागत उनको शरीरमा थियो।

षड्यन्त्र हो भनेर शंका गर्न पनि आफूलाई बोलाउन आफ्नै मान्छे आएको छ। त्यसैले उनी कुनै शंकाबेगरै दरबार पुगे। घोडा सवारी गर्न खोज्दा पनि घोडाले नमानेर संकेत गरेको थियो। तर उनलाई त्यसको कुनै विश्वासै भएन। जब उनी दरबारतिर हिँडे तब केही भइहाल्छ कि भनेर उनका मामा दलकेशर पाँडे, कप्तान शमशेरबहादुर थापा उनको पछि लागेर गएका थिए । तर दरबारको भित्रको खोपीमा पस्ने बेलामा उनीहरुलाई बाहिरै रोकेर केवल माथवरलाई मात्रै भित्र जान दिइएको थियो। माथवरसिंह सरासर भर्‍याड चढेर कोठाचोटा हुँदै खोपीमा दाखिल हुनासाथ कुलमानसिंहले ढोका लगाए।

रानी पलङमा सुतिरहेकी थिइन्। यता पर्दाभित्र लुकेर बसेका जंगले उनीमाथि गगनसिंहको आदेशअनुसार गोली हान्न चुकेनन्। जंगले पर्दामा छेकिएर चलाएको गोली माथवरको टाउकोमा लाग्न पुग्यो। माथवर ठूलो स्वरले कराउँदै बंलङ्ग लडे। दुई हात पसारेर राजासँग आफ्ना आमा र छोराको उपर दयाको याचना गरे। तर दयाको याचनाले पसारेका उनका दुवै हात तरबारले चटाचट काटिए भने प्राणपखेरु एड्न लागेको शरीरमा तरबार रोपियो । यस बेला उनी केवल ४६ वर्षका जवान थिए । त्यसपछि उनको प्राणपखेरु उडेर गयो । राजाले पनि उनको लासमा लात्तले हाने र तत्काल लासलाई डोरीले बाँधेर झ्यालबाट तल बाटोमा खसालियो । बाटोमा तयारी अवस्थामा रहेको फौजले माथवरको लासलाई पशुपतिनाथनजिकैको घाटमा जलाए।

यसरी एउटा होनाहार नागरिकको अनाहकमा ज्यान गयो । यदि त्यस बेला दरबारबाट बोलावट नभएको भए अथवा कुनै बहाना बनाएर उनी नेपाल नआएका भए पनि उनको त्यस्तो दुःखद अन्त्य हुने थिएन होला । आखिर मुग्लान पसेरै पनि उनले राम्रै आम्दानीको जागिर खाएकै र ढुक्कले बाँचेकै थिए । तर राजारानीहरु र राजकुमारका आ–आफ्ना स्वार्थ पूरा गर्नको लागि एउटा होनाहार नागरिकले आफ्नो ज्यानको आहुति गर्नुपर्ने किन ? भन्ने प्रश्न हरेक समय उठ्ने गर्दछ ।