कृषितर्फ आकर्षण बढाऊ


नेपाल कृषिप्रधान मुलुक हो। यहाँका अधिकांश जनताको जीवनयापन कृषिकार्यबाट भइरहेको छ। नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि यहाँको कृषि प्रविधि अहिलेसम्म पुरानै छ। यहाँका कृषकहरुलाई थोरै उत्पादन गर्न पनि धेरै परिश्रम गर्नुपर्ने बाध्यता छ।

उता हुरी–बतास, असिना–पानी, खडेरी, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्नुपर्दाको समस्या पनि उत्तिकै छ, जुन कुरा गत भदौमा आएको अविरल वर्षाले गरेको क्षतिले नै पुष्टि गरेको छ। यस विपत्तिबाट काठमाडौं उपत्यकासमेत नराम्रोसँग प्रभावित भएको थियो। किसानले लगाएको तरकारी बाली नष्ट भएकाले अहिलेसम्म उपत्यकामा तरकारीको अभाव रहेको छ।

यहाँका बासिन्दाले महँगोमा तरकारी किन्नुपरिरहेको छ। कृषक–हितमा सरकारले ठोस कदम नचालेसम्म किसानका समस्या यथावत् रहनेछन्। हरेक वर्ष आइरहने यस्ता प्राकृतिक विपत्ति त छँदै छन्, कृषकले पर्याप्त मात्रामा मल–बीउ नपाउँदा कृषिउपजमा ह्रास आइरहेको छ। यस विषयमा राज्यको ध्यान केन्द्रित हुनै पर्छ।

प्रायः कृषकले आगामी वर्षका लागि चाहिने बीउ संरक्षण गरेर मात्र उत्पादित खाद्यान्न खाने र विक्री वितरण गर्ने हाम्रो परम्परा हो। ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भन्ने नेपाली उखान नै पनि छ। तर अहिले समय परिवर्तन भएको छ। बीउ एवं रासायनिक मलको व्यवस्थापन सरकारले गर्नुपर्छ। खेतीयोग्य जमिनमा सिंचाइ गर्ने कुलोहरु बिग्रिएका भए मर्मत र आवश्यक स्थानमा नयाँ कुलो निर्माण गर्ने काम सरकारकै हो। खेतीयोग्य जमिनको चक्लाबन्दी गर्ने, माटो जाँच गरी सोही अनुसारको बाली लगाउने, मल–बीउ, कृषिऔजार एवं कृषि प्राविधिकको व्यवस्था गर्ने र उत्पादित कृषिउपजको बजार व्यवस्थापन गर्ने काम राज्यको हो । तर यसमा स्थानीयवासीको सहयोग अपरिहार्य छ । यी सबै कुरालाई मध्यनजर गरी सरकारले कृषक–हितका लागि चाँडोभन्दा चाँडो ठोस कदम चाल्नुपर्ने देखिन्छ।

अहिले एक त ग्रामीण भेगमा खेती गर्ने युवाहरु रित्तिइसके, अर्कोतर्फ उनीहरुका परिवारसमेत शहर पस्ने क्रम बढ्दो छ । त्यसैले गाउँको अधिकांश जमिन बाँझै छ । यदाकदा गाउँमा उत्पादन गरिएका तरकारी, दूधलगायतका खाद्यवस्तुहरु बजार पठाउन पनि सकिएको अवस्था छैन भने शहरबजारमा यस्ता सामानको मूल्यमा व्यापारीहरुको मनोमानी त्यत्तिकै छ। कृषिक्षेत्रमा गरिएको लगानी नउठ्दा कृषकहरु अहिले चिन्तामा मात्र छैनन्, अब कसरी बाली लगाउने भन्ने थप समस्यामा छन्।

कृषि बिमाबारे अधिकांश कृषक अनभिज्ञ छन् । जानकार कृषकहरुका लागि पनि यो प्रभावकारी बन्न पुगेको छैन । यतिखेर सत्ता लम्ब्याउने खेल मात्र भइरहेको छ । किसानको सहारा कोही बन्न सकेको देखिँदैन । त्यसैले अबको बाली लगाउने मौसम शुरु नहुँदै सरकारले कृषक–हितका लागि ठोस कदम चालेर कृषिकार्यतर्फ आकर्षण बढाओस् ।