नेपाली क्रिकेटमा ऐतिहासिक क्षण, पहिलोपटक पाकिस्तानमाथि जित


काठमाडौं ।

नेपाली यु–१९ महिला क्रिकेट टोलीले एसीसी महिला यु–१९ एसिया कपमा पाकिस्तानमाथि सोमबार ऐतिहासिक जित हासिल गरेको छ । नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको हो। नेपालले पुरुष र महिला दुवै स्तरमा टेस्ट क्रिकेट खेल्ने राष्ट्र पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।

यो जितले नेपाललाई सुपर–४ मा समेत पुर्‍याएको छ। अब नेपालले समूह चरणअन्तर्गतको खेलमा मंगलबार भारतको सामना गर्नेछ । नेपालसँग पराजित भएपछि पाकिस्तानले समूह चरणबाटै बाहिरिनुपर्‍यो। पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा तीन टोलीमात्रै रहेका छन् ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपाली खेलाडीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए। विशेष गरी कप्तान पूजा महतोले दुुवै विधामा राम्रो गरेर नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभयो। पहिले ब्याटिङ गरेको पाकिस्तानलाई १ सय ४ रनमा समेट्न उहाँले २ विकेट लिनुभयो । अन्य बलरमा रचना चौधरी, रिया शर्मा, सिमाना केसीले १–१ विकेट लिनुभएको थियो।

जवाफमा १सय ५ रनको सामान्य लक्ष्यमा पुग्न पूजाको ब्याटिङ कारक बन्यो । नेपालले ५ बल बाँकी राखी ४ विकेटको नोक्सानीमा सो लक्ष्य प्राप्त गर्दा पूजाले ४७ रन बनाउनुभयो। जबकि, अन्य ब्याटरमा सोनी पाख्रिनले १३ रन, सिमाना केसीले १२ रन र सना परविनले १० रन बनाउनुभएको थियो ।

यसअघि यु–१९ महिला टी–२० विश्वकपमा छनोट गराएकी पूजाले ६६ रनसम्म पुग्दा ४ विकेट पतन भए पनि एक्लैले ब्याटिङ सम्हाल्नुभयो । पाँचौं विकेटका लागि पूजा र सिमानाले नटआउट हुँदै ३९ रनको साझेदारी गर्नुभएको थियो।