सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली प्लेअफमा


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि  इशान पाण्डेले अविजित ३८ ,कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ र सेफ जैबले ११ रन बनाए । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन प्रसालद शर्मा र नन्दन यादवले समान एक विकेट लिए। 

कर्णालीविरुद्ध सहज जित निकालेसँगै सुदूरपश्चिमले भने लिग चरणमा शीर्ष स्थान हासिल गरेको छ । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको छ। 

योसँगै सुदूरपश्चिम रोयल्सले क्वालिफायर १ मा जनकपुर बोल्ट्सको सामना गर्ने छ। सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली एनपीएलको प्लेअफमा प्रवेश गरेको छ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाएको थियो।

कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन्।विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११/११ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई/दुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारे।