धेरै मानिस आफ्नो कर्तव्य, दायित्व, इमानदारीलाई आहुति दिएर अरुलाई अरु पक्षलाई मात्र दोष दिने गर्छन् । समस्याको मूल कारणलाई लुकाउन सहयोग गर्ने गरेर समस्यालाई अन्यत्र मोड्ने गर्छन् । कथित विद्वान भनिनेहरु पनि कुनै अन्यत्र प्रयोग भएको र पुरानो विचारको प्रभावमा गलत नै बानी परेर समस्यालाई समाधान गर्न खोजेको भ्रममा रहेर वा भ्रम दिएर एकतर्फ रहेको समस्याको कारण र समाधानको माध्यमलाई अन्यत्र नै भएको भ्रम दिन्छन् वा आफैँ भ्रममा रहन्छन् ।
हुन त हामीलाई एक प्रकारको रोग लागेको छ । राजनीतिमा त्यो रोग अझै व्यापक छ । त्यो रोगको कारण नै हामी पीडित पनि छौं । त्यो रोग भनेको अवस्थाको सदुपयोग नगर्ने र दोष अरुलाई दिने नै हो । अप्ठेराहरु आउँछन्, तिनलाई निराकरण गर्ने र सकारात्मक पक्षको सदुपयोग गर्ने हाम्रो दायित्व हो तर हामी यो पक्षमा छैनौँ । व्यवस्थालाई नेताहरुले केही दल र धेरै व्यक्तिगत फाइदाको लागि प्रयोग गरे अनि इमानदार कार्यकर्ताहरु पनि उनीहरुको पछि लागेर पदको लोभ र सहयोगको आशामा गलत गर्नेहरुकै पक्षमा उभिएका छन् । इमानदारहरु र गलत गर्नेको कारण दल बदनाम भएकोमा गल्ती देख्ने तर केवल दलको बदनाम मात्र नहोस् भनेर पनि गलतको पक्षमा उभिएको ठूलो दलीय सेनाजस्तो जत्था देखिएको छ ।
विडम्बना, हामी अचम्मका लाल बुझक्कड भएका छौं, गफ मात्र ज्यादा गर्न रुचाउने पनि भएका छौं । फिनल्यान्डमा गएका एक विद्वान र संविधानको बारेमा दखल राख्ने नेपाली नागरिकले त्यहाँको संविधान पढेछन् । त्यसपछि त्यहाँका संविधानका ज्ञातालाई भनेछन्, ‘तपाईंहरु यति विकसित र पढेका भएर पनि किन सक्रिय राजतन्त्र नै भएको देखिने संविधानलाई राख्नुहुन्छ, किन बदल्नुहुन्न ?’ उनले त्यो व्यवस्था संसोधन गर्न पर्ने हो भन्ने जिज्ञासा पनि राखेछन् । त्यहाँका विद्वानले राजालाई त्यो अधिकार दिए पनि यहाँका राजा एक्लै साइकल लिएर तरकारी किन्न जान्छन् । उनले त्यो व्यवस्थाको दुरुपयोग गर्नै सक्दैनन् । दुरुपयोग गरेको दिनमा उनी मात्र समाप्त हुँदैनन्, बरु राजसंस्था नै खत्तम हुन सक्छ भनेछन् । उनका अनुसार जनता सचेत छन्, केवल राष्ट्रियताको सवालमा मात्र उनले बोल्छन् र केही गर्दछन् भने जनताले बुझ्छन् र सहयोग गर्छन् । त्यस्तो विकसित देशमा पनि नेताहरुबाट राष्ट्रियताको बारेमा ध्यान जाँदैन कि भन्ने शंका रहेछ र राजा चाहँदा रहेछन् ।
कतिपय देशमा र विशेषतः गरिब देशहरुमा राजा नभएमा देशलाई नै कमजोर बनाएर भए पनि पद र पैसाको लागि विदेशको प्रभावमा नै राजनीति गरेको देखिन्छ । ती देशहरुमा नेताहरुका राष्ट्रियताको बखान केवल राजनीतिको लक्ष्य पूरा गर्ने माध्यम बन्ने गरेका छन् । राजा देशमा हुँदा कमसे कम पद र पैसाको लागि देशलाई नै कमजोर बनाउँदैनन् भन्ने सत्यलाई कतिपय पश्चिमा राष्ट्रहरुले पनि आत्मसात् गरेको देखियो । अर्कोतर्फ केही दलका नेताहरुको ताबेदारी गरेको देखिने केही कथित महान् विद्वानहरुले नेपालको विकास नहुनुको ऐनाजस्तो प्रस्ट कारणलाई अन्यत्र मोड्न प्रयास गरेका छन् ।
नेपालमा रहेको वर्गीय समस्या विकास नहुनुको एक कारण हो भनिने गरेको छ । के अमेरिका, बेलायत, जापानमा वर्ग छैन ? त्यहाँ किन विकास भएको हो ? वर्गीय समस्या देशको समस्या भएकोमा विवाद छैन तर यसै कारणले देशमा प्रगति नभएको भन्ने कुरा सत्य होइन । गाईवस्तुहरु पालन नामको किताबमा जनावर पनि दुई किसिमका हुन्छन् र ती फरक जनावरहरुबीच समानता हुन्छ तर दुई थरी जनावरबीच होइन भन्ने देखाइएको छ । संसारमा वर्ग मेटिएको छैन । केवल कतै–कतै रहेको वर्गलाई कागजमा लुकाउने गरिएको मात्र हो । वर्ग सामाजिक अन्याय हो र अन्त्य पनि हुनै पर्छ तर यसले विकास र आधारभूत आवश्यकता पूरा गर्न रोक्दैन । सबै सिद्धान्तको प्रयोगमा केही वा धेरै भिन्नता हुनु अलग विशेषता हो ।
नेपालमा पितृ सत्ताबाट समस्या भएको र विकास नभएको पनि देखाउने गरिएको छ । पितृ सत्ता नेपाली समाजको साह्रै ठूलो र समाधान हुनै पर्ने रोग हो । अहिले छोरीहरुलाई जन्मघरमा छोरासरह अंश पाउनु राम्रो फड्को हो । तर बुहारीहरुले किन हो किन, सम्बन्ध विच्छेदमा ज्यादा चाख राख्नु अप्ठेरो हो । नेपालमा मात्र हैन, भारतमा पनि यो समस्या छ । चीनमा समेत लगभग ७५ वर्षमा एकजना पनि महिला राष्ट्रपति बन्न सकेनन् । भारतमा बने भन्ने हो भने वर्गीय कारण भन्ने र चीनमा बनेनन् भन्ने हो भने पुरुष र महिलामा विभेद छैन, पुरुष बनेर के फरक प¥यो र भन्ने गरिन्छ, के चीन र उत्तर कोरियामा महिला राष्ट्रपति बन्न यति लामो समयसम्म पनि अयोग्य नै हुन् ? अचानक नै भए पनि त्यहाँ महिला किन राष्ट्रपति नबनेको ? नेपालमा महिलाको समानताको लागि भनेर सशस्त्र हिंसात्मक गतिविधि चलाउने माओवादी पार्टीका नेता प्रचण्ड धेरै पटक प्रधानमन्त्री बने, बन्दुक बोक्न र विचार दिन सक्ने महिला प्रशस्तै थिए त । प्रधानमन्त्री, पार्टीको अध्यक्ष दिँदा कसले रोक्थ्यो ? समावेशी र समानुपातिक भनेको देखाउने दाँत हो भन्ने देखिएन र ? आफैँ समस्या छ भन्ने आफँै समाधानमा नलाग्ने । यो कस्तो हो ? पण्डितले किताबका माछा नखाने भनेको हो, बाहिरका माछा त खान हुन्छ भनेजस्तो भएन ? भारतमा सिलाङ अर्थात् अहिलेको मेघालयमा पुरुष विवाह गरेर महिलाको घरमा जान्छन्, त्यहाँ त सबै समस्या सामाधान हुन पर्ने, किन भनिएको ?
अर्कोतर्फ उत्पीडितहरुको कारणले पनि देश माथि नगएको भन्ने गरिन्छ । अमेरिकामा उत्पीडित भनिने कालाहरु १५ प्रतिशतभन्दा ज्यादा छन्, त्यहाँ किन विकास भएको हो ? कि सबै समस्याको कारण देखाएर र उदाहरण दिएर हुन्छ ? नेपाल उदाहरण दिनको लागि मात्र बनेको देश हो ? कस्तोसम्म धारणा राख्छन् भने– एकपटक नेपालमा संसद्मा कुटाकुट, कुर्सी हानाहान आदि भयो । किन यस्तो गरेका भन्दा जापानमा संसद्मा नै अण्डा फालेको देखाएर त्यति ठूलो लोकतन्त्रमा त त्यस्तो हुन्छ, हाम्रोमा किन नहुने ? भनेर गल्ती गर्नेहरुले ठूला हौँ भन्ने देखाउन खोजे, हनुमानहरुले ताली बजाए । जापानको विकास पनि त गरेर देखाए भयो नि । विकास त अरु देशहरुले गर्दा नदेख्ने र केही गलत भएको मात्र देख्ने सबै दलका हावादारी गफ पनि सुन्न पाइरहिन्छ र पाइएला पनि ।
विदेशीहरुको कारण पनि देशमा विकास नभएको भन्ने विद्वान छन् । विदेशसँग नजोडिएको देश टापु देशबाहेक कुन छ ? टापुमा पनि विदेशीले प्रभाव पार्न सक्छन् । आफू गल्ती गर्ने र विदेशीका सामु त्वं शरणम् भन्ने अनि उनीहरुलाई नै दोष दिने ? कस्तो विडम्बना ! देशका तमाम समस्याको कारण केलाउन सबै तयार छन् । कहिले संविधानलाई त कहिले राजालाई अनि कहिले अर्को पार्टीलाई दोष दिइयो । साथै समानुपातिक प्रतिनिधित्व नभएको भनेर पनि दोष दिइयो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता नभएर देशमा राम्रो भएन पनि भनियो । अहिले सबै आयो त !
अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री नभएर समस्या भएको भन्ने आवाज सुनिन थालेको छ । यो पूरा भएपछि पनि सिद्धान्त ज्यादा जानेकाहरुले अरु कुनै नयाँ व्यवस्थालाई रोज्न बाँकी नभएकोले कुनै कुरा देखाएर यस्तो भएको हो भन्ने दोष दिनेछन् नै । हिन्दु राष्ट्र भएर देशको विकास नभएको समेत भनेर पनि धर्मनिरपेक्ष बनाइयो । अब मुसलमान राष्ट्र, कृश्चियन राष्ट्र, यहुदी धर्मको राष्ट्र चाहिन्छ आदि भन्ने कुनै आल्टुफाल्टु आयो भने के गर्ने हो ? सचेत होऔँ ।
रोजगारी हुने ग्यारेन्टी दिने हो भने यो देशको जनसंख्याको कति प्रतिशत अमेरिकामा जान पाए भने जालान् ? त्यति बेला यो देश कस्तो होला ? कसको होला ? कि यो अमेरिकाको दलाल हो भनेर यो लेखकलाई नै आरोप लगाएर देश सप्रने हो कि ?
नेपाल समस्याको चाङ हो । यस देशलाई समस्यामा न्याक्ने भनेका यसै देशका नेता र राजनीति गर्नेहरु हुन्। उनीहरुको पछि लाग्ने विद्वान भाटहरु पनि हुन् । कर्मचारीहरुको पनि भूमिका छ। नेताहरुलाई दलीय संगठन बनाएर गलत गर्न सिकाउने र मिलिभगत गर्ने कर्मचारी नै हुन् भन्न के गाह्रो छ ? देशको दूध, टमाटर आदि फाल्ने अवस्था ल्याउने मात्र हैन देशमा फलेका कागती, मासु, तरकारी, खाद्यान्नको बजार व्यवस्थापन नगर्ने र विदेशीको लागि सजिलो बनाउने कार्य भएको छ।
आफू गल्ती गर्ने र विदेशीका सामु त्वं शरणम् भन्ने अनि उनीहरुलाई नै दोष दिने ? कस्तो विडम्बना ! देशका तमाम समस्याको कारण केलाउन सबै तयार छन् । कहिले संविधानलाई त कहिले राजालाई अनि कहिले अर्को पार्टीलाई दोष दिइयो । साथै समानुपातिक प्रतिनिधित्व नभएको भनेर पनि दोष दिइयो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता नभएर देशमा राम्रो भएन पनि भनियो । अहिले सबै आयो त !
यसको दोष सत्तामा रहनेहरुमा जाँदैन ? प्रहरी, सेना, शिक्षकसमेतका कर्मचारीको संख्या बढाएर रोजगारी दिने तर उचित परिणाम आउँदै नआउने अवस्था ठीक कि युवाहरुलाई फलफूल, माछामासु, तरकारी, खाद्यान्न उत्पादन गर्न सब्सिडिटी दिने र बजार व्यवस्थापन तथा बिमा गरेर विकास र उत्पादनमूलक कार्यमा लगाउने भन्ने सोच्न कसले कसलाई रोकेको छ ? अहिले त पालिकाका प्रमुखलाई पट्याएर कमिसनमा मिलिभगत गरी बजेटको ३० प्रतिशतसम्म दुरुपयोग कर्मचारी र पालिका प्रमुखहरुले गर्न सक्छन् भन्ने गरिन्छ । अर्को चुनाव जित्न नपरेका र नपाउनेहरुले त जे पनि गर्न तयार हुने गरेको पनि सुनिन्छ ।
सामान्य किसिमले पूरा गर्न सकिने कार्य नगरेर पनि देशमा आधा समस्या भोग्नुपरेको छ । तर सिद्धान्तनिष्ठहरुलाई राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन नभएकोले, वर्ग भएकोले, पितृसत्ता तथा जातीयता भएको आदि कारणले देशको विकास नभएको भन्न परेको छ । यो समस्या हो तर यो समस्या विकासको ठूलो बाधक होइन, जति ठूला बाधक जनताले विश्वास गरेका नेता र दलहरु छन्।
सबै रोजगारीहरुमा तलबको समानता, स्वआर्जनमा सब्सिडी र बजार व्यवस्थापन, गफ हैन काम गर्ने र दलका पछि लाग्ने होइन, क्षमता हुनेहरुको हातमा देश हुने हो भने देश दश वर्षमा नै सिंगापुर हुन सक्छ । तर सिंगापुर, स्विट्जरल्यान्डका उदाहरणहरु त बदनाम नै भए । दश वर्षमा देशलाई माथि नै पु¥याउने सपना देखाउने धेरै नेता र दलहरु दश वर्षभन्दा ज्यादा सत्तामा बसे । अझै दश वर्ष भन्न लाज मान्दैनन् । किनकि उनीहरुसँग गलत बोल्दा पनि हो हो भन्दै पछि लाग्ने दलाल, भाट, काम नगरी खान पल्केका जमातहरु छन् । बुद्धि भ्रष्ट भएका मतलाई गलत ठाउँमा लग्ने पैसाखोरहरु छन् ।
प्रतिक्रिया