विवेचना : दुर्लभ मनुष्य जीवन र अनमोल शिक्षा

1.6k
Shares

मनुष्य जीवन दुर्लभ छ । ब्रह्माण्डमा भएका कैयौैँ जीव, प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी मनुष्य हो । मनुष्य जीवनलाई विविधरुपमा व्याख्या गर्न सकिन्छ । जे–जस्तो रुपमा व्याख्या भए पनि आखिरमा अन्य प्राणीभन्दा मनुष्यहरुमा सोच–विचार गर्ने क्षमताले नै फरक र विशिष्टता भएका हो। अन्य जीवजन्तु, चरा, कीटपतंगहरुको जीवनमा विचारको क्षमता नभएको तर धर्म–श्रवण, पठनपाठन गर्ने अवसर भएकोले नै मनुष्य जीवन दुर्लभ भएकोमा विमति नहोला । यति हुँदाहुँदै पनि आज मानव जीवन यावत् समस्या समाधानको पछि–पछि लाग्दैमा आफ्नो जीवनको महत्व खेर फालिराखेको त छैन ? आज शिक्षा प्रणाली ठीक नभएको बहस सुन्न, पढ्न पाइरहेको अवस्था हो भने कस्तो खालको शिक्षा चाहिन्छ, त्यसमा पनि अझ व्यापक खोजीनीतिको जरुरी छ । केवल आफ्नो समुदायको सोच–विचार लाद्ने खालको भएमा यसले समाज झन् भड्खालोमा जाने निश्चित देखिन्छ ।

विभिन्न वर्ग, उमेर, समूहको फरक–फरक इच्छा, आकांक्षा हुनु नौलो कुरा भएन । तर ज्येष्ठ नागरिककै पनि दुई समूहहरुले जीवनको आफ्नो अनुभव, शिक्षा, धन र आफूसँग भएको कुनै पनि प्रकारको सम्पत्ति समाज वा युवा पुस्तालाई हस्तान्तरण गर्ने/गराउने परिपाटी भए पनि समाजको धेरै समस्या समाधान पो हुन्छ कि ? यसको विपरीत अनुभव वा कुनै पनि सम्पत्ति खाली जम्मा मात्र गरेर राखेमा यसको औचित्य सिद्ध हुन नहुने मात्र होइन बरु पोखरीको पानी सुकेर गएझैं सम्पत्ति पनि सुकेर जाने निश्चित छ । समाजमा विभिन्न थरीका व्यक्ति हुनु अस्वाभाविक होइन, तर शिक्षित समाजमा के–कस्तो शिक्षा प्रवाह गरेको छ वा धनी व्यक्तिले समाजमा आफ्नो धनको के–कस्तो योगदान दिएको छ ? यसको पनि विश्लेषण र अनुसन्धानको आवश्यकता देखिएको छ ।

कोही बुद्धिमान, कोही अनपढ त कोही धनी, गरिब तथा स्वस्थ र रोगीहरु नाना प्रकारका भेद पनि छन् । यी सबैमा रोगी व्यक्तिहरुको साटो स्वस्थ व्यक्तिले आफ्नो स्वास्थ्य त दिन सकिँदैन, तर शिक्षितहरुले अनपढलाई शिक्षा दिन त सकिन्छ अथवा धनी व्यक्तिले निर्धन परिवारलाई सहयोग त गर्न सकिन्थ्यो । आज समाजमा यत्रतत्र सुन्नमा आइरहेको नै हो, यहाँको शिक्षा प्रणाली नै ठीक भएन, व्यावहारिक शिक्षा दिनुपर्छ । तर यस्तो सुन्नमा आइरहेको पनि दशकौं बितिसक्यो, पुस्ताहरु कति आइसके, गलत शिक्षा, अपूरो शिक्षा प्राप्त भएका व्यक्तिहरुबाट समाजको अपेक्षित विकास नहुनु पनि के आश्चर्य भयो र ?
समाजमा देखा परेको कुण्ठा, छटपटी तथा देश पलायनको स्थिति आउनुमा शिक्षा प्रणालीको दोष भएको स्वीकार्न कठिनाइ नहोला । घर–परिवारको सामान्य कर्तव्य, व्यवहारमुखी शिक्षाबाट वञ्चित तर विविध महोत्वाकांक्षी अनुत्पादक तर बेराजगारी उत्पादनको स्रोत भएको शिक्षा प्रणालीमा कमजोरीबारे सम्बद्ध निकायमा बहसको विषय त पक्कै होला । शिक्षाको दैनिक जीवन र घर–परिवारको उत्थानमा प्रयोग हुँदैन भने त्यो शिक्षा प्रणाली असफल भएको भनिरहनुपर्दैन । यसको प्रतिफल समाज र परिवारले भोगिरहेको आजको यथार्थ पनि हो ।

यहाँ बुद्धकालीन घटना उतार्न सान्दर्भिक हुन्छ । एकपटक सिंगालको छोराले पूर्व, पश्चिम, उत्तर, दक्षिण आदि दिशाहरुको पुजा, नमस्कार गरिरहेको देखेर भगवान् बुद्धले यो के गरिरहेको भनी सोध्नुभयो । यसको जवाफमा उसले आफ्नो बुबाले मरणकालमा ६ दिशा पूजा गर्नु भन्नुभएकोले यसो गरिरहेको भन्ने जवाफ दियो । यसपछि भगवान् बुद्धले ६ दिशाको वास्तविक अर्थ र पूजाको मर्म बताउनुभयो । यो सूत्रअनुसार पूर्व दिशा भनेका आमाबुबा, दक्षिण दिशा भनेको आचार्य गुरु, पश्चिम दिशा भनेको पत्नी–परिवार, उत्तर दिशा भनेको साथीभाइ–नातागोता, माथिको दिशा भन्नाले श्रवण र ब्राह्मण तथा तलको दिशा भन्नाले आफूसँग आश्रित भएका सहयोगीहरु हुन् । यी ६ दिशाको अर्थ तत् बमोजिमको कर्तव्य निर्वाह गर्नुपर्ने धर्म हो ।

अब यी गृही विनय (नियम)मा भएका शिक्षाहरु अहिलेको समाजमा झन् सार्थकसिद्ध भएको देखिन्छ । यसमा बताएका शिक्षाहरुमा आमाबाबुप्रति सन्तानका कर्तव्यहरुमा वृद्धावस्थामा पालनपोषण गर्नु, कामकाज गरिदिनु, कुल–परम्परा स्थिर राख्नु, अंश लिनयोग्य बन्नु, दिवंगत भएका आमाबाबुको नाममा पुण्यदान गर्नु हो । यसै गरी सन्तानप्रति आमाबाबुका कर्तव्यहरु हुन्– नराम्रो बानी बसाल्न नदिनु (पापबाट बचाउनु, पुण्य कार्यमा लगाउनु, विद्यामा पारंगत गराउनु, योग्य स्त्री (वा पुरुष) सँग विवाह गरिदिनु, यथोचित खर्च गर्न दिनु (उत्तराधिकार सुम्पनु) हो ।

यसैमा अझ व्यक्तिको जिम्मेवारीमा आफ्नो कमाइको चार भागको एक भाग खाना र जीवन निर्वाहमा लगाउने, दुई भाग उद्योग व्यापारमा लगाई अर्को एक भाग आपत् कालको लागि सञ्चय गर्नु हो । यसअन्तर्गत पनि व्यक्तिले धनलाई संञ्चितभन्दा लगानीमा बढी लगाउनुमा जोड दिएको छ । अब यो लगानी भनेको समाजको विविध क्षेत्र, समाज सेवा, परोपकार आदि कार्य हुन् भने यस्तो कार्य बढेमा समाज, व्यक्तिहरुको समस्या समाधानका लागि उत्तम उपाय हुन्छ भने व्यक्तिहरु पनि खालि सम्पत्ति थुपार्ने प्रवृत्तिबाट जोगिनसमेत ठूलो मद्दत मिल्नेछ। यसो त विभिन्न खालका समाज कल्याणकारी कार्यहरु नभइरहेका पनि होइन तर यसलाई अझ व्यापक र घर–घरमा पुर्‍याउन आवश्यक महसुस हुन्छ।

यो शिक्षा के खालि बौद्धमार्गीहरुलाई मात्र चाहिएको हो र ? बौद्धमार्गीहरुले पनि यो शिक्षा अनुरुप व्यवहारमा लागू गर्न जमर्को गर्दैनन् भने के आफूलाई बौद्धमार्गी भन्न सुहाउँछ र ? समाजको विकासको लागि यो शिक्षाको आवश्यकता छ भने सबै समुदायको यो साझा शिक्षा बन्न सक्दैन र ? समाज विकासका लागि यो शिक्षाको जरुरी छ भने यो शिक्षा फरक–फरक उमेर, समूह वा फरक कक्षाहरुमा यस्तै खालको समसामयिक र उचित पठनपाठनको व्यवस्था गर्न/गराउन सकिन्छ वा सकिँदैन ?
यो शिक्षा केवल पढ्न, विलासी वा बौद्धिकपन देखाउनका लागि मात्र कदापि होइन, अपितु व्यवहारमा लागू गर्नका लागि हो । यो व्यवहारमा जति–जति लागू गर्न सक्यो त्यसैमा व्यक्ति स्वंयं र समाजको हकहित सुनिश्चित छ। यस्तो शिक्षा दिनु वा नदिनुमा कसलाई के–कसो हानि भइरहेको वा फाइदा भएको भन्ने विश्लेषण गर्न आवश्यक देखिन्छ।

समाजमा बुद्धिजीवी र धनी व्यक्तिहरुको समाजप्रतिको आ–आफ्नो जिम्मेवारीप्रति थप सजगता भए पनि अशिक्षित र बेरोजगारी अथवा गरिबीको केही हदसम्म भए पनि निराकारणको आश गर्न सकिन्छ । व्यक्ति र परिवारलाई जीवन निर्वाह गर्न कति धन चाहिन्छ ? यसको मापदण्ड के छ ? व्यक्ति–परिवारले खालि आफ्नो लागि मात्र सम्पत्ति थुपार्ने होडबाजीले कतै समाजको विसंंगति, कुरीतिको कारक तत्व त भएको छैन, आ–आफैँले मूल्यांकन गर्नुपर्ने देखिन्छ । निश्चितरुपमा सबैले उस्तै कामकाज गर्न सकिँदैन वा सबैले उही अनुपातमा कमाइ गर्न सक्षम पनि हुँदैन । तर यसको अर्थ कमाउन सक्षम भएका व्यक्तिहरुले अरु निमुखा परिवारलाई आवश्यक सहयोग, सद्भाव, करुणाभाव देखाई सहयोगीका हात बढाउन सकेमा वास्तविकरुपमा धनको सदुपयोग भएको मान्न सकिन्छ। वास्तविकरुपमा समाजको समस्याको हलका लागि प्रभावकारी कार्य हुन सक्छ।

आज यसको झन् बढी खाँचो महसुस हुन्छ। शिक्षा हुनेले नैतिक र उदाहरणीय भइदिनु, धन हुनेले धन, बल हुनेले बल–परिश्रम दिनु नै आजको समाजको विसंगतिको विरुद्ध मलजलको उपाय हुन सक्छ । विम्बिसार महाराजाको आधा राज्यको निम्तोलाई पनि अस्वीकार गर्नुभएका सिद्धार्थ गौतम भगवान् बुद्धको शिक्षाको महत्ता हाम्रो समाजमा के–कस्तो अवस्थामा रहेको छ ? यसको लेखाजोखा गर्न शायद अब ढिला गर्न नहुने ठान्छु । यहाँ धम्मपदको एउटा श्लोक राख्न उचित हुन्छ ।
पथव्या एकरज्जेन–सग्गस्स गमनेन वा ।
सब्बलोकाधिपच्चेन–श्रोतापत्तिफलं वरं ।

अर्थः सबै पृथ्वीको राज्यभोग गर्नुभन्दा, स्वर्गमा जानुभन्दा, सबै लोकको अधिपति हुनुभन्दा श्रोतापत्ति फल प्राप्त गर्नु नै उत्तम छ ।
आजको विषम सामाजिक अवस्थालाई सुल्झाउन व्यावहारिक शिक्षाको महत्व भएको सर्वव्यापी माग नै हो तर पनि कस्तो खालको व्यावहारिक शिक्षा हो ? त्यसमा गहन चर्चा–परिचर्चाको आवश्यक छ । त्याग र परित्याग गर्न सक्नु पनि समाजका लागि ठूलो योगदान हुन्छ भने यो स्वंयं व्यक्तिको महान् धर्म पनि हो । यसको विपरीत आज समाजमा धन थु्पार्ने होडबाजीको कारणले आजको विसंगति बढिरहेको भन्न सकिन्छ कि सकिँदैन ?

मनुष्य जीवन दुर्लभ भएको विविध कारणमध्ये, यो पृथ्वीका विभिन्न मुलुक, जाति, वर्गहरुले के–कस्तो शिक्षा पाउन सकेका छन्, कस्तो अवसर मिलेको छ, एउटै परिवारका सदस्यहरुमा पनि फरक सोच क्रियाकलाप हुन, फरक परिवेशको कारणले फरक शिक्षा, व्यावहारिक शिक्षा, अनमोल शिक्षा पाउने अवसर मिल्नु/नमिल्नुमा पनि विभिन्न संयोग आदिमा निर्भर हुने भयो।

आखिरमा यो परिवेश मिल्नु/नमिल्नु पनि त मनुष्य जीवनको संंगत, इच्छा आदि भेदको कारणले नै भएको हो। व्यक्तिको इच्छामा भेद भएझैँ बुझाइमा पनि फरक हुन्छ नै । कोहीले एकैचोटि बुझ्ने क्षमता हुन्छ त कोही–कोहीलाई बारम्बार भन्नुपर्ने हुन्छ। अझ कोही त भनेर पनि नपुगी आफैँले अझ बारम्बार अध्ययन गर्नुपर्ने हुन्छ । आखिरमा यस्ता भेदहरु भएझैँ, अनमोल शिक्षा पाउनुको अवसर पनि फरक परिवेश, संयोगको मौका र अहोभाग्यको रुपमा प्राप्त हुन्छ । आखिर यो सबै मनुष्य जीवनमा नै प्राप्त हुने÷नहुने निर्भर हुन्छ, अन्य प्राणीहरुमा यो अवसर कदापि मिल्न सक्दैन । अतः दुर्लभ मनुष्य जीवनको सार्थकता सिद्ध गर्नसमेत आज घर–परिवार तथा राष्ट्रप्रति जिम्मेवारीबोध गराउने अनमोल शिक्षाका पाठ्यक्रमहरु यथोचितरुपमा विभिन्न कक्षामा समावेश गर्नुको विकल्प नहोला ।

(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणकका पूर्वनिर्देशक हुनुहुन्छ ।)