रास्वपाले विकल्पमा नेतृत्व दिन नसक्दा विरोधी थप हौसिए

2.07k
Shares

एउटा पार्टी आकस्मिकरुपमा जन्मियो, उसले अप्रत्याशित संघीय संसद्मा आफ्नो उपस्थिति देखाउन सक्यो, राजनीतिक घटनाक्रमहरुले तत्कालै उसलाई सरकारमा समेत पुर्‍यायो, नसोचेको अवस्था सृजना भयो ! रास्वपा तत्कालीन अवस्थामा एउटा पार्टीको रुपमा स्थापना भएको भए तापनि त्यो पार्टीको मूल आधार भनेको रवि लामिछाने नै थिए । यो सत्यो हो कि, रवि लामिछानेकै बुलन्द आवाजले धेरै नेपाली जनताको मन छोएको थियो।

धेरै युवाहरुमा आफ्नो कर्तव्य भनेको नेपालको मुहार फेर्नुपर्छ भन्नेमा तानिन थाल्यो। विदेशमा गएर होइन आफ्नै देशमा बसेर आफ्नो देशको लागि सक्दो गर्नुपर्दछ भन्ने हुटहुटी जागेका अधिकांश युवाहरुले रवि लामिछानेलाई दिल खोलेर साथ दिए, त्यही साथको परिणाम रास्वपाको जन्म हुन पुग्यो । युवाहरुको त्यही हुटहुटीलाई देखेर धेरै जनताले परीक्षणमा नै नआएको रास्वपालाई पूर्णरुपमा साथ दिए, समर्थन पनि गरे । रास्वपाको अप्रत्याशित उदयले कैयौं ठूला दलका नेताहरुको ब्रह्माण्ड पनि खलबलिन पुगेको देखियो । ‘यही अवस्था रहिरह्यो भने आगामी निर्वाचनमा रास्वपाले नेपालको राजनीतिक अवस्थामा उथलपुथल ल्याउन सक्छ’ भन्ने आँकलन धेरैले गर्न थाले । त्यही भएको कारण शुरुकै दिनबाट रास्वपा, त्यसमा पनि खास गरी त्यसका सभापति रवि लामिछानेमाथि विभिन्न कोणहरुबाट आक्रमण हुन थाले ।

राम्रो मत ल्याएर निर्वाचित भएका रास्वपा सभापतिको नागरिकता विवादलाई पहिलो चरणमा उठाउने कार्य गरियो । उनको नागरिकताको कारणलाई लिएर निर्वाचित सांसद सदस्यलाई अवैध घोषित गरियो । गैरनागरिक भएर पनि जनतालाई झुक्याएर निर्वाचित हुन खोज्नुजस्तो कार्य गरेको पात्रको रुपमा जनतामा घृणा जन्माउने प्रयास त्यो बेलामा पनि नभएको होइन तर जनताले त्यो षड्यन्त्रलाई स्वीकार्न चाहेनन् । जनताले फेरि पनि उही रवि लामिछानेलाई पहिलेभन्दा धेरै मतले विजयी गराएर जनादेश र जनविश्वासको शक्ति प्रदर्शन गरिदिए । त्यो जनादेशले ठूला दलहरुको मनमा महाभूकम्प जानु स्वाभाविक नै थियो । त्यसपछि रविलाई सरकारमा लगेर असफल बनाउने दोस्रो विकल्प रोज्नु बाध्यता बन्न पुग्यो । नयाँ र अपरिपक्व भएको कारण माहिर राजनीतिका खेलाडीहरुको चालमा रवि नराम्रोसँग जकडिन पुगे । उनी जति दिन सरकारमा बसे प्रायः सधैँजसो आलोचनाको सिकार बन्न पुगे । केही गर्छु भन्दा पनि आलोचनाकै सिकार हुन पुगे, केही गर्न नसक्दा पनि आलोचनाकै सिकार हुन पुगे । आलोचना नै आलोचनाको भुमरीमा परेको बेलामा दुई ठूला दलहरुको अप्रत्याशित एकता हुन पुग्यो । त्यो एकताले आज रवि अर्थात् रास्वपा मात्र सिकार हुन पुगिरहेको छ । त्यो एकता अभियानले रास्वपाको मात्र साख गिर्ने र गिराउने कार्य भइरहेको छ, जुन कुराको पुष्टि स्थानीय तहको उपनिर्वाचनसमेतले गरिसकेको छ ।

रास्वपा रवि लामिछानेको बुलन्द आवाजको परिणाम हो । रास्वपा जन्मिनुमा रवि लामिछानेको आवाज र युवाहरुको चाहना वैकल्पिक शक्तिको आवश्यकता हुन सक्ला तर रास्वपाको जन्म भएपछि त्यो कुनै व्यक्तिको आवाजमा मात्र सीमित नराखेर सम्पूर्ण युवाहरुको ढुकढुकी बनाउन सक्नुपर्दथ्यो, त्यसमा रास्वपा चुकेको जस्तो देखिन्छ । ठूलो उद्देश्य बोकेर एकछत्र राज गरिरहेका ठूला दलका हस्तीहरुसँग पौँठेजोरी खेल्ने साहस गरिसकेपछि हार्ने वा असफल हुन सक्ने ठूला हस्तीहरुले विभिन्न कोणहरुबाट आक्रमण गर्न सक्छन् भन्ने त्यो दलले बुझ्न सक्नुपर्दथ्यो । जनताको विश्वासले मात्र सधैंँ टिक्न सकिँदैन भन्ने तथ्यलाई आत्मसात् गर्नु सक्नुपर्दथ्यो । जनताको साथ निर्वाचनमा मात्र हुने गर्दछ । निर्वाचनपछिको ५ वर्ष राजनीतिक दलहरुले नै आफ्नो अस्तित्वको रक्षा गर्ने मात्र होइन, आशा बोकेका जनताको भरोसा पनि जितिराख्न सक्नुपर्दछ । कता–कता रास्वपाले यो कुरामा पनि ध्यान पुर्‍याउन नसकेको जस्तो देखियो । यसैले होला आज ‘रवि लामिछानेलाई माछोलाई खेलाएजस्तो खेलाइरहेका छन्, एउटा क्रुर अपराधीलाई भन्दा बढी अस्वाभाविक व्यवहार गरिरहेका छन्’ भन्ने एक कोणबाट असन्तुष्टिको आवाज उठिरहेको छ। हुन त जुन मात्रामा विरोधहरु देखिनुपर्दथ्यो, त्यो मात्रामा विरोधहरु अझै देखिन सकिरहेका छैनन् । स्वयं रास्वपाको विरोध प्रदर्शन पनि कर्मकाण्डीजस्तो मात्र देखिएको भन्ने गुनासो सुनिन थालेको छ ? यो प्रश्नको जवाफ रास्वपाले नै खोज्नुपर्ने बेला आएको छ ।

रवि लामिछानेले कसुर गरेका हुन् वा होइनन् भन्ने कुराको निधो अदालतले गर्ने नै छ । अदालती प्रक्रियाबाट एउटा निष्कर्ष निक्लने नै छ । तर रास्वपा एउटा पार्टी हो, पार्टीमा निर्विकल्प कोही पनि हुँदैन । भोलि रवि लामिछानेलाई अदालतले कसुरदार प्रमाणित गरिदियो भने के रास्वपा पार्टी बन्द गर्ने हो ? हिजो रविको बुलन्द आवाजले जन्मिएको रास्वपा, कथंकदाचित रविको अनुपस्थिति रहन पुग्यो भने रास्वपाको अवसान हुने वा रास्वपा अभियान शून्यमा झर्ने छ त ? यो कुराको ठोस जवाफ रास्वपाका जिम्मेवार पक्षहरुबाट आउन नसकेको कारण आज रास्वपामाथि चौतर्फी आक्रमण भइरहेको छ । हिजो देखिएको थियो कि यदि रास्वपा यही गतिमा अघि बढ्दै जाने हो, रास्वपालाई जनताले यही रुपमा समर्थन गर्दै जाने हो भने अन्य दलले आफ्नो अस्तित्व रक्षाको लागि महागठबन्धन गर्नुपर्ने अवस्था पनि आउन सक्ने थियो । त्यो सम्भावना बोकेको पार्टी आज कता–कता माउविनाको बाछोझैँ हुन पुगेका छ । रविको विरुद्ध छानबिन हुँदै गर्ला, विभिन्न षड्यन्त्रमूलक तानाबाना पनि बुनिदै गर्ला तर रास्वपा खास गरी युवाशक्तिको विश्वासको पुञ्ज हो भन्ने विश्वास गरेर आत्मबल दह्रो बनाई अघि बढेको भए रास्वपाले तत्काल दमदार विकल्प चयन गरेर आफ्नो अभियानलाई अझ दु्रत गतिमा अघि बढाउन सक्नुपर्दथ्यो । नेतृत्व गर्ने व्यक्ति २ दिनको लागि विदेश जानुपर्दा त दोस्रो व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिएर जानुपर्दछ भने महिनौं सरकारी बन्धक हुनुपर्ने अवस्था आउँदा पार्टीको मनोबल बढाइराख्नको लागि भए पनि जिम्मेवारी दिन सक्नुपर्दथ्यो ।

रास्वपाको अस्तित्व जोगाइराख्ने हो वा यसलाई अझ सशक्त बनाएर अघि लाने हो भने तत्काल विकल्पको खोजी गर्नुपर्दछ र भत्किएका आधारहरु तुरुन्त निर्माण गर्दै अघि बढ्न सक्नुपर्दछ । अझ पनि सम्हालिएर अघि बढ्ने हो भने ८४ को निर्वाचनमा रास्वपाले एक जिम्मेवार वैकल्पिक शक्तिको रुपमा आफूलाई उभ्याउन नसक्ला भन्ने छैन ।

हामीले देखेका छौं, क्षतिको शोकलाई शक्तिमा बदल्न सक्नु राजनीतिक दलहरुको चातुर्यता र सक्षमता बन्ने गरेको छ । नेपाली राजनीतिमा कैयौँ यस्ता घटना छन्, जसले शोकलाई शक्तिमा बदलेर नयाँ राजनीतिक शक्तिहरुको उदय गर्न सफल भएका छन्। आफूले काम गर्न नपाउँदा वा आफूलाई बन्धनमा राख्दा आफ्नो जिम्मेवारी अरुलाई दिन सक्ने हिम्मत पनि हुनुपर्दछ भने आफ्नो जिम्मेवारी पूरा गर्न साहसपूर्ण निर्णय गर्न सक्ने शक्ति पनि हुनुपर्दछ । यहाँ जिम्मेवारी दिने साहस पनि देखिएन, जिम्मेवारी लिने कर्तव्य पनि भेटिएन । यसको परिणाम आज रास्वपामाथि चौतर्फी आक्रमण हुँदा पनि सशक्त प्रतिवाद गर्न सक्ने पूर्ण क्षमता देखिएन ।

छातीमा वाण लागेर पनि रगतको धारा बगाई बाण वोकेर शत्रुमाथि अन्तिम क्षणसम्म लडिरहने वीरहरुको कथा बोकेको नेपालको इतिहासमा सेनापतिको हातबाट हतियार खोसिनासाथ सिंपाहीहरुले लत्तो छाड्नु स्वाभिमान र अस्तित्वको मृत्यु हुनु हो। तसर्थ रास्वपाको अस्तित्व जोगाइराख्ने हो वा यसलाई अझ सशक्त बनाएर अघि लाने हो भने तत्काल विकल्पको खोजी गर्नुपर्दछ र भत्किएका आधारहरु तुरुन्त निर्माण गर्दै अघि बढ्न सक्नुपर्दछ। अझ पनि सम्हालिएर अघि बढ्ने हो भने ८४ को निर्वाचनमा रास्वपाले एक जिम्मेवार वैकल्पिक शक्तिको रुपमा आफूलाई उभ्याउन नसक्ला भन्ने छैन।

आज रविको विरुद्ध जुन मानवअधिकार हननसम्मका कुराहरु आइरहेका छन्, त्यसको जड पनि रास्वपाको थरथरी काँपिरहेका खुट्टा नै हुन् भन्ने बुझ्नुपर्दछ । रास्वपा गलेको छैन, रास्वपा ढलेको छैन । रास्वपाको विरुद्धमा कुनै षड्यन्त्र गरियो भने भविष्यमा हाम्रो पनि अवस्था ठीक हुने छैन भन्ने त्रासले मानिसलाई केही गर्नुअघि दशपटक सोच्न बाध्य बनाउने थियो। त्यो शक्ति र साहस रास्वपाले जति देखाउन सक्छ त्यति नै छिटो अभियोजन प्रक्रिया पनि टुंगिनेछ । सबैले रुचाएको मीठो फललाई एउटा प्लास्टिकको झोलामा बन्द गरेर जति दिन राख्न सकिन्छ, त्यो फलको अस्तित्व त्यति कम गराउन सकिन्छ। राख्दा–राख्दा त्यो फल आफैंमा गलेर जान्छ, कुहिएर जान्छ अनि कसैले पनि त्यस फललाई ग्रहण गर्दैन भन्ने कुरा रास्वपाका विरोधीहरुले बुझेका छन्।

तसर्थ जति सक्दो छिटो त्यो सबैले रुचाएको फललाई बन्द झोलाबाट झिकेर खुल्ला राख्ने प्रयास रास्वपाले गर्नुपर्दछ । कसैले त्यो फल झोलामा राखेर लुकाएको छ भने वैकल्पिक फल सो–केस (सजावट गर्ने बाकस) मा राखेर हाम्रोमा मीठा र गुणी फलहरु थुप्रा छन्, एकाध फलमाथि कसैले आक्रमण गरेर हाम्रो अभियान रोकिने छैन भन्ने कुराको सन्देश त्रासको रुपमा विरोधीलाई र आशको रुपमा जनतालाई देखाउन सक्नुपर्दछ । यसो गर्न सकियो भने मात्र रास्वपाको भविष्य सुनिश्चित हुनेछ । अन्यथा दुःखका साथ भन्नुपर्ने हुन्छ कि ‘जसरी उदाएको थियो, त्यसै गरी अप्रत्याशितरुपमा अस्तायो’ भनेर ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)