गणेशमान सिंह स्मृति किक बक्सिङ शुरू


काठमाडौं ।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीबारदेखि शुरू भएको छ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा ३ विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफ र सातै प्रदेशका क्लबका १ सय ३ पुरुष र ४९ महिला गरी १ सय ५२ खेलाडीको सहभागिता रहेको छ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा समावेश छन्। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ८÷८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। स्वर्ण विजेतालाई अनरको मोबाइल पनि प्रदान गरिने छ।

टिममा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही २५ हजार नगदसहित अनर मोबाइलबाट पुरस्कृत गरिने छ।

पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन्।

महिला ४५ केजीमुनि एपीएफकी रिना माझी, बुदो उसुकी सरु राई, टोखा सो क्योकुसिनकी अस्मिता दोङ तामाङ र आयोजककी करिष्मा कार्की सेमिफाइनलमा पुगे।

महिला ६० केजीमुनि एपीएफकी सुमित्रा नगरकोटी, आर्मीकी अप्सरा कुमाल, स्ट्रोङगेस्ट मुवाँथाईकी समनेह राज्वी र थुलुङ दुधकोशीकी मेसकुमारी कार्कीले सेमिफाइनल यात्रा तय गरे। प्रतियोगिता शनिवार सम्पन्न हुनेछ।