काठमाडौंसँग लुम्बिनी पराजित, प्ले अफको दौडबाट बाहिरियो


काठमाडौँ।

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । आज भएको खेलमा काठमाडौंसँग १८ रनले पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो ।

प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो । काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।

काठमाडौंविरुद्ध लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे ।

उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १९ रन थपे । सूर्य तामाङले अविजित रन जोडे । लुम्बिनीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आठ रनमा पभेलियन फर्किए । यस्तै, ओपनर आशुतोष घिरैया चार, अर्जुन साउद तीन, टम मुरेस ६ र विवेक यादव दुई रनमा पभेलियन फर्किए । लुम्बिनीका साद बिन जफर ‘गोल्डेन डक’ भए । रेमोन सिमोन्ड्स ‘डक’ भए ।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेको करणले १६ रनमात्र खर्चिए । दीपेश कँडेलले तीन विकेट लिए । निकै इकोनोमिक स्पेलमा दिपेशले चार ओभर बलिङ गर्दा ६ रनमात्र खर्चिए । गेरहार्ड इरास्मसको नाममा दुई विकेट रह्यो । राशिद खानले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९।२ ओभरमा सबै विकेट गुमाएर १०२ रनको योगफल खडा गरेको थियो ।