एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी भिड्दै


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुने छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुने छ।

आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन् भने सुदूरपश्चिमको  नेतृत्व दिपेन्द्रसिंह ऐरीले सम्हाल्ने छन्। लिगका चार खेलमा ३ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ। ४ खेल खेलेको जनकपुर अपराजित रहँदै ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ।

आज दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। प्लेआफमा पुग्न दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ। आज हारे लुम्बिनी बाँकी खेलअघि नै समूह चरणबाटै बाहिरिनेछ। 

लुम्बिनीसँग खेल हारे काठमान्डुको पनि प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्ने छ। एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ।