काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन लालीगुराँस नेसनल एकेडेमीले तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। लालीगुराँसले २९ स्वर्ण, ६ रजत र ११ कांस्यसहित उपाधि रक्षा गर्यो।
तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कांस्य जित्दै दोश्रो भयो। गत संस्करणमा पनि हिमरश्मि उपविजेता भएको थियो। पहिलो संस्करणमा भने हिमरश्मिले टिम च्याम्पियनको उपाधि उचालेको थियो।
तेश्रो भएको किन्डर गार्टेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्यो। चौथो स्थानको मानसिंह धर्म माविले ५ स्वर्ण, ६ रजत र ३ कांस्य प्राप्त गर्यो । शीर्ष चार स्थानमा रहनेले क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरे ।
एथलेटिक्समा लालीगुराँस १९ स्वर्ण, ४ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो।
करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा लालीगुराँसले ६ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । तेक्वान्दोमा कौशल ३ स्वर्ण, २ रजत र १ कांस्यसहित टिम च्याम्पियन भयो । उसुमा टिम च्याम्पियन बनेको किन्डर गार्टेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो । टेबलटेनिसमा हिमरश्मि २ स्वर्ण र १ रजतसाथ टिम च्याम्पियन भयो । ब्याडमिन्टमा १ स्वर्ण र २ रजत जितेको हिमरश्मि टिम च्याम्पियन बन्यो।
सेक्रेड हार्टले छात्र/छात्रा दुवैमा फुटबलको उपाधि चुम्यो । कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि पहिलो भए। भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते। जुनियर ब्वाइजमा लालीगुराँस र सिनियर गल्र्समा हिमरश्मिले बास्केटबल उपाधि चुमे।
विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, उपमेयर सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
‘खेल तार्केश्वरको, सन्देश एकताको’ भन्ने नारासहित मंसिर १८ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न १० खेलमा प्रतिस्पर्धा भएको थियो। ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडीले सहभागिता जनाएको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सिनाले जनाएका छन्।











प्रतिक्रिया