आयुर्वेद चिकित्सा पद्धतिमा आहार र विहारलाई बढी ध्यान दिएको पाइन्छ । जसका कारण हामी मानवहरू हाम्रो शरीर र प्रकृतिबीच उचित सन्तुलन कायम गर्न सक्छौँ । यदि हामी अनुचित खानेकुरा खान्छौँ भने निश्चित रूपमै हामी रोगी हुन्छौँ । अन्नादि खानेकुराले नै हाम्रो प्राण जोगाएको छ । खानेकुरा खाएनौँ भने हाम्रो प्राण धेरै समय टिक्दैन । हामी जस्तो खानेकुरा खान्छौँ, हाम्रो शरीर र मन त्यस्तै हुन्छ ।
आचार्य सुश्रुत भन्नुहुन्छ–
‘आहारः प्रीणानः सद्यो बलकृद्देहधारकः ।
आयुस्तेजः समुत्साहस्मृतयोऽग्नि विवद्र्धनः ।।’
अर्थात् भोजनले तृप्ति गर्ने, तत्काल ताकत ल्याउने, देहको धारण गर्ने, आयु, तेज, उत्साह, स्मरण–शक्ति र जठराग्नि (खानेकुरा पचाउने शक्ति) बढाउने गर्दछ ।
त्यस्तै महर्षि वाग्भट्ट भन्नुहुन्छ–
काले सात्म्यं शुचि हितं स्निग्धोष्णं लघु तन्मनाः ।
षड्रसं मधुरप्रायं नातिद्रुतविलम्बितम् ।
स्नातः क्षुद्वान् विविक्तस्थो धौतपादकराननः ।
तर्पयित्वा पितृृन् देवानतिथीन् बालकान् गुरून् ।
प्रत्यवेक्ष्य तिरश्चोऽपि प्रतिपन्नपरिग्रहान् ।
समीक्ष्य सम्यगात्मानमनिन्दन्नब्रुवन् द्रवम् ।
इष्टमिष्टैः सहाश्र्नीयाच्छुचिभक्तजनाहृतम् ।।
भोजनको महत्वपूर्ण १० नियमहरू–
१. काले सात्म्यं
२. शुचि हितं
३. स्निग्धोष्णं लघु
४. तन्मनाः
५. षड्रसं मधुरप्रायं
६. नातिद्रुतविलम्बितम्
७. स्नातः
८. क्षुद्वान्
९. विविक्तस्थो
१०. निन्दा त्याज्य
१. समयमा खाने (काले सात्म्यम्)
दैिनक एउटै समयमा खाना खानुपर्छ । निश्चित समयमा खाना खाँदा जठराग्निले पेटमा भएको खाना सजिलै पचाउँछ । त्यसैले खानेकुरा जहिले पनि निश्चित समयमा नै खानुपर्छ, न समयअघि न पछि । कसैले केही न केही खाइरहन्छन् भने पनि समस्या हुनसक्छ । पहिले खाएका कुरा नपच्दै अरू खानेकुरा खाँदा अपच भएर रोग लाग्न सक्छ ।
२. सफा भएर खाने (शुचि हितम्)
धेरै जसो बच्चा बाहिरबाट आएर सीधै भान्सामा गएर खानेकुरा खाने गर्दछन् । सफा–सुग्घर भएर खाना खानुपर्छ । खाना खानु अघि हात–खुट्टा, मुख राम्ररी धुने, कुल्ला गर्ने गर्नुपर्छ । खाना खानुअघि खुट्टा धुँदा जठराग्नि बलियो बन्छ र खानेकुरा राम्ररी पचाउँछ ।
३. घ्यु वा तेलयुक्त सजिलै पच्ने खाना खाने(स्निग्धोष्णं लघु)
हामीले खाने खानामा घ्यु अथवा तेल हुनुपर्छ । किनभने हाम्रो शरीरमा एउटा कोष बन्न ४२ प्रतिशत घ्यु अथवा तेल चाहिन्छ । त्यसमा पनि सजिलै पच्ने खानेकुरा खानुपर्छ ।
४. खानामा एकाग्रचित्त हुने (तन्मनाः)
खाना खाँदा एकाग्रचित्त (खानामा मात्रै ध्यान दिएर) खानुपर्छ । खाँदा अन्य कुरा हेरेर, सुनेर खानु हुँदैन । आजकल भोजन गर्दा टिभी, मोबाइल हेर्ने गरेको पाइन्छ । त्यसो गर्न हुँदैन ।
५. ६ रसका खाना खाने (षड्रसं मधुरप्रायम्)
खाना खाँदा ६ प्रकारका खाना खानुपर्दछ । जस्तै– गुलियो, नुनिलो, अमिलो, तीतो, पीरो, टर्राे खानेकुरा हाम्रो शरीरलाई आवश्यक पर्दछ । यी ६ प्रकारका रस मीठो नलागे पनि मात्रा मिलाएर खानुपर्छ ।
६. धेरै छिटो–छिटो र ढिलो नखाने (नातिद्रुतविलम्बितम्)
खाना खाँदा धेरै छिटो–छिटो वा धेरै बिस्तारै खानुहुँदैन । छिटो खाँदा खानेकुराको स्वाद नै थाहा नहुन सक्छ । छिटो खाँदा राम्ररी नचपाइने भएकाले ठोस पदार्थ पच्न गाह्रो हुन्छ । त्यसैले एक गाँस खाँदा कम्तीमा पनि ३२ पटक चपाएर मात्र निल्नुपर्छ । लगभग २० मिनेटभित्र खाना खाइसक्नुपर्छ ।
७. नुहाएपछि खाने (स्नातः)
नुहाएपछि मात्र खानुपर्छ । जसले खाना खाने बित्तिकै नुहाउँछन् उनीहरूलाई आमवात (आउँको विकारबाट शरीरका विभिन्न भाग दुख्ने र जोर्नी सुनिने एक प्रकारको रोग) हुनसक्छ । खाना खाएको कम्तीमा ३÷४ घण्टापछि भने नुहाउन सकिन्छ ।
८. भोक लागेपछि मात्र खाने (क्षुद्वान्)
जब भोक लाग्छ अनि मात्र खाना खानुपर्छ । भोक नलाई खाँदा अपच हुन सक्छ ।
९.शान्त वातावरणमा खाने (विविक्तस्थो)
एकान्तमा बसेर खाना खानुपर्छ । भोजन गर्दा वातावरण शान्त हुनुपर्छ ।
१०. निन्दा नगरी खाने (निन्दा त्याज्य)
सकेसम्म नबोली खाना खानुपर्छ । धेरै बोलेर खानुहुँदैन । खाँदा परिवार तथा साथीहरूसँग बसेर शान्त भएर खाँदा राम्रो हुन्छ । खाना खाँदा यो पुगेन, त्यो भएन भन्ने बानी पनि कसैको हुनसक्छ । यस्तो गर्न हुँदैन ।
भोजनका यी दश नियम हामीले पालना गर्नुपर्छ । यसले हामीलाई स्वस्थ र निरोगी हुन सहयोग गर्छ ।
प्रतिक्रिया