रास्वपा नेताहरुले अदालतको अवहेलना गरेको मुद्दामा लिखित जवाफ माग

6.11k
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई लिखित जवाफ माग गरेको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि मंगलबार न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश गरेको हो ।

यसअघि मंसिर ११ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गर्ने आदेश दिएको थियो। अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतको अवहेलना हुने गरी प्रदर्शन गरेको भन्दै कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सहरजिष्ट्रार अच्युत कुइँकेलले रिट दरपीठ गरेका थिए।

उक्त रिटमा पुनर्विचार गर्न भन्दै अधिवक्ता भट्टराईले पुनस् निवेदन दिएका थिए । कात्तिक २७ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त दरपीठ बदर गरी रिट दर्ता गर्न आदेश दिएको थियो।

अधिवक्ता भट्टराईले रास्वपा केन्द्रीय पदाधिकारी, बागमती प्रदेश सभापति अच्युतम लामिछाने,सांसदहरूलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।

गत कार्तिक २ गते रास्वपा सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाटै पक्राउ परेका थिए ।