रत्नेचौरको शिविरमा एक सय महिला लाभान्वित

2.73k
Shares

म्याग्दी।

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको लामागरामा सोमबार पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच शिविर अर्थात् भिआईए क्याम्प सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।

सोमबार दिनभर चलेको शिविरमा बेनी नगरपालिका–१ नम्बर वडाको रत्नेचौर, लामागरा, २ नम्बर वडाको खबरा, ७ र ८ नम्बर वडा बेनीबजार तथा पर्वतको जलजला गाउँपालिका–७, मिलनचोक क्षेत्रबाट महिलाहरु सेवा लिन पुगेका थिए । कुल १ सयजना महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको सम्भावना भए, नभएको बारेमा गरिएको परीक्षणमा एक जनामा शङ्कास्पद देखिएकाले थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

यसैगरी शिविरको क्रममा पाठेघरको मुखमा मासु पलाएको ५ जना महिला भेटिएको, ४ जना महिलाहरुको पाठेघरमा रिङपेसरी राखिएको र ५ जनामा पाठेघरमा भएको संक्रमणको उपचार गरिएको बेनी नगरपालिकाको सिनियर अनमी लिलाकुमारी गौतमले जानकारी दिनुभयो । शिविरमा बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर रवि गुरुङ, एमडिजीपी डा. विजयकुमार रानाभाट, दक्ष स्वास्थ्यकर्मीहरु डेकमाया केसी, करुणा थापा र सुमित्रा थजालीसहितको टोलीले शिविरमा सेवा लिन आएका महिलाहरुको उपचार गर्नुका साथै परामर्श सेवा दिएको थियो ।

शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले महिलामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ क्याम्प सञ्चालन गर्नको लागि यसवर्ष तीनलाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आवश्यक बजेट विनियोजन गरिएको बताउँदै यसपालि पनि लामागरासहित तीन ठाउँमा शिविर सञ्चालन गरिने बताउनुभयो । शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ ।

नगर उपप्रमुख लामिछानेले शिविरमा पाठेघरको उपचार गर्न आएका महिलाहरुलाई महिनावारीको समयमा स्वास्थ्यको सुरक्षा, सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आयोजित शिविरको सन्दर्भमा उहाँले अभियान चल्दै गर्दा अहिले पनि समुदायमा महिला, किशोरीहरु र बालिकामाथि विभिन्न प्रकृतिका हिंसाहरु भैरहेको हुँदा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । नगर क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनको लागि बेनी नगरपालिकाबाट ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख लामिछानेले कार्यक्रममार्फत महिलाको आयआर्जनमा जोड दिइएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रवि गुरुङले महिला र पुरुष दुवै जनाले स्वास्थ्यलाई विशेष रुपमा ध्यान दिएर स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष टेकबहादुर थापाले स्वास्थ्य सेवाबाट पछाडि परेका लामागराका स्थानीयलाई लक्षित गरेर महिलालक्षित स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । कार्यक्रम वडाध्यक्ष थापाको अध्यक्षता, लामागरा गाउँघर क्लिनीक व्यवस्थापन समितिका उपाध्यक्ष कमल थापाको स्वागत र रत्नेचौर स्वास्थ्यचौकी प्रमुख होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।