इलाम ।
सात मिनेटको अन्तरमा लगातार दुई गोल गरेपछि ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज एफसी जारी इलाम गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ।
ललितपुरको क्लब चर्च ब्वाइजले उपाधिको दाबेदार मानिएको बलियो टोली त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले हराएको हो । खेल सुरु भएको २ मिनेटमै आर्मीका निरज चौधरीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए ।
७५ मिनेटसम्म आफनो अग्रता कायम राखेको आर्मीले खेल सकिन १४ मिनेट सम्हालिन नसक्दा क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भएको हो । खेलको ७६ र ८३ औं मिनेटमा चर्च ब्वाइजले लगातार दुई गोल गरेपछि आर्मीको इलाम यात्रा छोटो बन्यो ।
७६ औं मिनेटमा रोहन कार्कीले गोल गर्दै १–१ को बराबरीमा ल्याएपछि बिदेशी खेलाडी अर्मान्डोले ८३ औं मिनेटमा विजयी गोल गरेर चर्च ब्वाइजलाई अन्तिम चारमा पुर्याए।
अधिकांश राष्ट्रिय खेलाडी आबद्ध दुबै टोलीले खेल अवधिभर गोल गर्ने थुप्रै अवसरहरु खेर फालेका थिए। पहिलो हाफमा आर्मीले चर्च ब्वाइजलाई दबाबमा राखेपनि दोस्रो हाफपछि चर्च ब्वाइज आर्मीबिरुद्ध हाबी भएको थियो।
बिजयी टोलीका रोहन कार्कीले म्यान अफ दि म्याच भएर नगद ८ हजार प्राप्त गरे । चर्च ब्वाइजले आयोजक रेडहर्ष फूटबल क्लब इलामसंग फाइनल प्रबेशका लागि प्रतिष्पर्धा गर्नेछ। मंगलबार अन्तिम क्वार्टरफाइनल खेल मच्छिन्द्र फूटबल क्लब काठमाडौं र रेडस्टार फूटबल क्लब झापा बीच प्रतिष्पर्धा हुनेछ।











प्रतिक्रिया