एसियन कप छनोटको समूह एफ मा नेपाल


काठमाडौं ।

सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटको खेलका लागि भएको ड्र मा नेपाल समूह एफ मा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन्।

नेपालले उक्त समूहमा भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्दी पाएका छन् । २४ टिमलाई चार–चार समूहमा विभाजन गर्दै नेपाललाई पट ३ मा राखिएको थियो। जसअनुसार नेपालले पट १ बाट भियतनाम, पट २ बाट मलेसिया र पट ४ बाट लाओस प्रतिद्वन्द्वी पाएको हो। एएफसीका अनुसार २५ मार्चबाट सुरु हुने प्रतियोगिता राउन्ड रोबिन प्रारूप अनुसार होम एन्ड अवेमा हुनेछ।

प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुनेछ। नेपालले मार्च २४ मा मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। फिफा वरीयतामा १३२औं स्थानमा रहेको मलेसियाले चार पटक एसिया कप खेलिसकेको छ। सन् १९७६, १९८०, २००७ र २०२३ मा खेलेको मलेसिया समूह चरणबाट भने अगाडि बढ्न सकेको छैन।

त्यस्तै, भियतनाम फिफा वरीयताको ११६औं स्थानमा छ । यो टोलीले पाँच पटक एसियन कप खेलिसकेको छ । सन् १९५६ र १९६० मा यो टोली लगातार दुईपटक चौथो हुन सफल भएको थियो । सन् २००७ र २०१९ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।