काठमाडौं ।
पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार विश्राम दिइएको छ। विश्राम हुन्जेलसम्म १५ खेल समाप्त भएकोमा विकेट नगुमाई जितेको एक मात्र खेल रहेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई हराउँदा १० विकेटले जित हासिल गरेको थियो।
एनपीएलअन्तर्गत ११ औं खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय ७० रन जोडेको थियो । टी २० मा यति रन ठूलै मानिन्छ । पोखराले अघिल्लो दुई खेलमा गरेको खराब प्रदर्शनले गर्दा त्रिवि मैदानमा सबैले अनुमान लगाइसके कि जित लुम्बिनीकै हुनेछ ।
तर, यस्तो भएन पोखराका दुई ओपनरले सबैको अनुमान गलत साबित गरे । नेपाली खेलाडी दिनेश खरेल र अमेरिकी खेलाडी एन्ड्रीज गौसको राम्रो तालमेल हुँदा १० विकेटले पोखराले जित हासिल गर्न सफल भयो । उनीहरुको शानदार प्रदर्शनले गर्दा पोखराले जारी प्रतियोगितामा पहिलो जितको स्वाद समेत लियो ।
उनीहरुले १ सय ७६ रनको साझेदारी गरेर एनपीएलमा कीर्तिमानी पनि रचे । दिनेश ६१ रनमा नटआउट रहे भने गौसले शतक (१०४ रन) बनाए । दिनेश र गौसले १६.५ ओभरमै जित दिलाएका हुन् । दिनेशले ४ चौका र ४ छक्का प्रहार गर्दा गौसले १२ चौका र ५ छक्का प्रहार गरे ।
हेरौं एनपीएलमा भएका केही तथ्यहरुः
—पोखरा एभेन्जर्सका दिनेश खरेल र एन्ड्रीज गौसले पहिलो विकेटका लागि १७६ रनको साझेदारीको कीर्तिमान बनाएको ।
—लुम्बिनी लायन्सविरुद्ध भएको उक्त साझेदारी प्रतियोगितामा कुनै पनि विकेटमा भएको उच्चतम साझेदारी समेत हो ।
—लुम्बिनी लायन्सले १९१ रनको विशाल लक्ष्य रक्षा गर्न नसकेको । लुम्बिनीलाई विराटनगर किंग्सले २ विकेटले हराएको ।
—पाकिस्तानी पूर्व बलर सोहेल तनवीर एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेको । चितवन राइनोजबाट खेलेका उनले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका हुन्।
—हालसम्म प्रतियोगितामा एक मात्र शतक बनेको । यो शतक अमेरिकी खेलाडी एन्ड्रीज गौसले लुम्बिनीविरुद्ध बनाएको ।
—नर्भस नाइन्टीमा दुई खेलाडी शिकार भए । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल पोखराविरुद्ध ९५ रनमा रनआउट भए । अर्का खेलाडी सुदूरपश्चिम रोयल्सका सैब जैब लुम्बिनीविरुद्ध ९० रनमा आउट भए ।
—टोलीतर्फ विराटनगर किंग्सले १९३ को उच्चतम रन बनाएको । यसअघि यही खेलमा लुम्बिनी लायन्सले १९१ रनको उच्चतम रनको कीर्तिमान बनाएको ।
—टोलीतर्फ पोखरा एभेन्जर्सले न्युनतम ७४ रन बनाएको । यो रन चितवन राइनोजविरुद्ध बनाइएको थियो । यसपछि न्युनतम रन विराटनगर किंग्स र काठमाडौं गुर्खाजले एकै टोली सुदूरपश्चिमविरुद्ध क्रमशः ९२ रन र ९४ रन बनाए ।
—१५ खेल समाप्त हुँदा १६ अर्धशतक बनेकोमा चितवन राइनोजका रवि बोपराले दुई पटक अर्धशतक प्रहार गरेको ।











प्रतिक्रिया