काठमाडौं ।
रात्रिकालीन डान्स बार, रेस्टुरेन्ट, क्लबहरू बाल कलाकारहरूका लागि असुरक्षित रहेको छ। रात्रिकालीन मनोरञ्जन थलो दलालको मानव बेचबिखनको थलो बन्दै छ । मनोरञ्जन भन्ने बित्तिकै एकतर्फी श्रमिकले मनोरञ्जन दिनुपर्ने, ग्राहकले मनोरञ्जन लिने भन्ने गलत रूपमा हेरिन्छ । यही परिभाषालाई स्पष्ट पार्दै बनेको मानव बेचबिखन रोकथाम सम्बन्धी ऐन २०६३ र कार्यविधि २०६४ को निर्देशिका कार्यान्वयन भएको छैन ।
उक्त भनाई सोमबार सुभ अवसर ग्राम नेपालले बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आयोजित मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूका सवालमा केन्द्रित अन्तर संवाद कार्यक्रममा शक्ति समूह नेपालकी चरीमाया तामाङले राख्नुभएको हो । उहाँले मानव बेचबिखनका विषयमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने औँल्याउँदै विभिन्न स्थानमा रोजगारीका नाममा बालबालिका र किशोरीहरूलाई कार्य थलोका रूपमा प्रयोग गरिँदै छ । स्थानीय सरकारले श्रम ऐनको सम्बोधन गरी आफ्ना क्षेत्रमा खुलेका होटल, व्यवसायमा रोजगारीको अवस्था र श्रमिकको सम्बोधन गरोस् भन्नुभयो ।
त्यसै गरी मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक कृष्ण बस्यालले आर्थिक वर्ष २०८०/०८१ मा मानव बेचबिखनमा परेका ७० जना महिला र ३३ जना बालबालिकालाई उद्धार गरिएको बताउनुभयो । उहाँले कतिपय पीडितहरू बदनाम होला, मैले बल्ल बल्ल रोजगारी पाएको छु त्यही पनि जाला भन्ने डरले उजुरी गर्न आउनु हुन्न र श्रमदाताले थप अन्याय गरिरहेको पाइएको छ । कानुनी प्रक्रिया अपनाएपछि म त्यही काम गरिरहेको छु । अब कहाँ जाने र के गर्ने म पुनः पीडित बन्छु भन्ने त्रास पीडितमा रहेको पाइन्छ । यस्तै कारणले गर्दा उद्धार गरेको एक महिना पछि तिनै बालबालिका, महिलालाई त्यही स्थानमा पहिलाकै काममा भेटिन्छ । यस्ता पीडितका मुद्दा दर्ता भएका छन् तर समयमै किनारा लागेको अवस्था छैन ।
उहाँ भन्नुहुन्छ—नेपालका कतिपय मनोरञ्जन क्षेत्रमा काम गर्ने बालिकाहरूलाई ललाई फकाई या दबाबमा पारेर यौन शोषण गर्ने र देश विदेशमा बेचबिखन समेत हुने गरेको छ । पैसाको प्रलोभन देखाई दुबई सम्म पुर्याउने गरिएको छ । पछिल्लो समय महिला, बालबालिकालाई भिजिट भिसामा पैसाको प्रलोभन देखाई बेच्न दुबई हब बनेको छ ।
भिजिट भिसामा दुबई जानेलाई प्रहरीले रोक लगाउँदा ठुलै विवाद हुन्छ । जनचेतनाको अभाव र आर्थिक प्रलोभनले गर्दा हामी किन जान नपाउने भन्छन् । इराकमा कानुनी रूपमा नेपाली महिला श्रमिक जानै पाइन्न तर अत्यधिक चोर बाटो अपनाएर पुर्याएको छ । अरविक मुलुकमा नेपाली महिलाहरूमाथि अत्यधिक यौन दुर्व्यवहारका घटना बढ्दो छ। विशेष गरी घरेलु कामदारका रूपमा जानेले न्याय पाएकै छैनन्। यसरी विदेश पुर्याउने दलालको ठुलो जालो छ।
पैसा कमाउने होडबाजीमा लाग्दा धेरै नेपाली चेली मानव बेचबिखनमा परेका छन् । आपराधिक क्रियाकलाप बढ्दो क्रममा छ । अपराध नियन्त्रणका लागि स्थानीय सरकारको निगरानी बढ्नु जरुरी छ । यस्ता आपराधिक क्रियाकलापमा लाग्ने १ जना व्यक्ति कोही कसैको आड र ढाकछोपमा छुट पायो भने यस्ताले सयौँ व्यक्तिलाई पीडित बनाउँछन् ।
सोही अवसरमा रात्रिकालीन सेवा प्रदायक विनोद श्रेष्ठ भन्नुहुन्छ—सेवाका विषयमा निर्देशिका तयार भैसकेको छ । सोही अनुरूप व्यवसायीले काम गर्नुपर्छ र सरकारले नियम सङ्गत काम भए नभएको अनुगमन गर्नुपर्छ । श्रमिकहरू विना सीप, विना प्रमाणपत्र कामको खोजीमा आउँछन् । मलाई जे जस्तो जुन काम भएपनि दिनुस् खान नपाएको यति दिन भयो भन्दै भौँतारिँदै आउँछन्।
यस्तो अवस्थामा काम दिँदा श्रमिक र रोजगारदाता दुबैलाई समस्या हुन्छ। पहिला काम नै सिक्नुपर्छ, काम जानेपछि बल्ल तलब तोक्ने, सम्झौता गर्ने, जस्ता काम हुन्छ । तर अहिले सरकारले न्यूनतम पारिश्रमिक तोकेको अवस्था छ । यस्तो अवस्थामा श्रमिकले काम गरेर तलब नपाएको खण्डमा उजुरी दिएर आफ्नो पारिश्रमिक लिन सक्छन् । रोजगारदातालाई पनि नियम बनेर सजिलो भएको छ । पहिला गुण्डागर्दी गर्ने, धम्क्याउने हुन्थ्यो भने अहिले त्यस्तो हरकत भयो भने तुरुन्त सुरक्षा निकायमा कल गरेपछि ३ मिनेट भित्र सुरक्षाकर्मी आइसक्छन् । यो नियमको पालना गरी काम गर्दा ढुक्क होइन्छ । निर्देशिकाको पूर्ण पालना गरी काम गरौँ र व्यवसायी ढुक्क होऊ ।
काठमाडौ स्कुल अफ ल का प्रिन्सिपल कपिल अर्याल भन्नुहुन्छ— अझै पनि कति रोजगारदाता कम्पनीहरू दर्ता नै नभै क्षणिक फाइदा र महिला तथा बालबालिका बेचबिखनलाई लक्षित गरी खुलेका छन् । उनीहरूले पारिश्रमिक हैन दैनिक पकेट खर्च दिन्छन् र श्रम शोषण गर्छन् । नेपालमा ऐन नबनेको हैन ऐनको पालना तथा कार्यान्वयन फितलो भएको कारण गैह्र कानुनी धन्दा फस्टाएको हो । देशका हरेक शहर र शहर जोडिने स्थानका होटल, रेस्टुरेन्ट, डान्स, बार जस्ता व्यवसाय २४ सैं घण्टा चल्ने नियम बन्यो। त्यहाँभित्र श्रमिकको पारिश्रमिक, सुरक्षा हुनुपर्छ। ८० प्रतिशत भन्दा बढी श्रमिकको सम्झौता विना नै काम लगाइएको छ।
यस्ता मान्छे आर्थिक प्रलोभनमा दलालको फन्दामा पर्छन् । कानुन विपरीत काम गर्ने निकायलाई जिल्ला अनुगमन तथा कार्यान्वयन समितिले कारबाही गर्नुपर्ने तोकिएको छ । तर यो समितिको प्रमुख नै प्रमुख जिल्ला अधिकारी तोकिएको छ । प्रमुख जिल्ला अधिकारीले छापा मार्दै हिँड्ने कुरा भएन । पीडितको पक्षमा कसले बोलिदिने ?
सोही अवसरमा राष्ट्रिय महिला आयोगका सदस्य सावित्रा कुमारी शर्माले आयोगले क्रस कटिङ विषयमा सम्बोधन गर्छ । तिनै तहको सरकार चनाखो हुनुपर्छ भन्नुभयो । त्यस्तै प्रसूति गृहका नर्सिङ इन्चार्ज सुकुमाया तामाङले प्रसूति गृहमा ओसिएमसी सेवा अन्तर्गत पिडामा परेका महिलाहरूका लागि ७ वटा सेवा निःशुल्क दिँदै आएको र ९२ स्थानमा यस्ता सेवा रहेको जानकारी गराउनुभयो । त्यसै गरी महिला रक्षक सञ्जालका अध्यक्ष रचना ढकालले १५ वर्ष अघिको अवस्था अहिले छैन, पैरवीको खाँचो छ भन्नुभयो ।
संस्थाका अध्यक्ष सानु अमात्यले हरेक समस्याको पहिचान र समाधान खोज्नुपर्छ । नैतिकता र संस्कारलाई बिर्सनुहुन्न । अहिले धेरै मानिसमा देखासिकी र विलासिता बढेको छ । १८ वर्ष मुनीका बालबालिकाले रोजगारीका नाममा श्रम गर्नै पाइन्न । धेरै पीडित यही उमेर समूहका छन् । विद्यालय तहमै विलासिनताले निम्त्याउन सक्ने दुर्घटनाका बारेमा नैतिक शिक्षा दिनुपर्ने देखिन्छ । आफैबाट सुध्रिने कोसिस गरौँ भन्नुभयो ।
सोही अवसरमा श्रमिक सरस्वती विकले आफूले काम गरेको चित्र उतारेर फोटोको भावना गितमार्फत खैत मेरो श्रम सम्झौता, करार पत्र सुरक्षित गरियोस् । मनोरञ्जन क्षेत्रका श्रमिकको श्रम र सुरक्षाको ग्यारेन्टी लिईयोस् भन्नुभयो । त्यस्तै चन्द्रिका तामाङले श्रमिक बन्नु सोचे जस्तो सजिलो रहेनछ । ग्राह ल्याउन नसके मालिकले श्रमिक माथि रिस पोख्छन् । काम धेरै भएपनि समयमा खान पाइन्न २ बजे बल्ल खान पाए पनि बासी खाना खाँदा हाम्रो स्वास्थ्य कस्तो होला ? के हाम्रो श्रम श्रम हैन ? यसको जवाफ कसले दिने ? भन्दै प्रश्न नै प्रश्न गर्नुभयो ।
त्यसैगरि शिक्षा लमसाल र आकृति दाहालले प्राय १८ वर्ष मुनीका बालिकाहरू व्याकेट क्षेत्रमा काम गर्छौ । चित्र देखाउँदै यो मेरो जीवनको चित्र हो स्वास्थ्य सेवा र सुरक्षाको अधिकार हाम्रो छैन र ? बासी खाना त्यो पनि कुबेला भन्दै भक्कानिए । त्यस्तै डोमा तामाङ र जानुका खड्काले मनोरञ्जनका क्षेत्रमा रात्रिकालीन काम गर्ने श्रमिकलाई घर मालिकहरूले कोठा सम्म भाडामा दिन गाह्रो मान्छन् र समाजले हेर्ने दृष्टिकोण अपमान जनक हुन्छ । त्यसैले नेपाली चेली बिदेसिन बाध्य छन्।
ऋतु नेसुर भन्नुहुन्छ, विदेशबाट फर्केपछि समुदायले हेर्ने दृष्टिकोण फरक हुन्छ । अर्का श्रमिक राधा गिरी मनोरञ्जन क्षेत्र र वैदेशिक रोजगार शीर्षकमा शब्द चित्रमा यसो भन्नुहुन्छ—कार्यस्थलबाट हरेक दिन हवाईजहाज उडेको हेर्छु र आफू पनि बिदेसिने सपना देख्दा देख्दै बिदेसिएका साथीहरूको पिडा सम्झेर झस्कन्छु । यी नै भावनालाई शब्द चित्रमा कोरेको छु भन्नुहुन्छ ।
प्रतिक्रिया