आधारभूत अस्पतालको प्रमुख अब जनस्वास्थ्य विषयको अधिकृत हुने : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आधारभूत अस्पतालको प्रमुख अब जनस्वास्थ्यको अधिकृत हुने बताए । नेपाल जनस्वास्थ्य संघ (नेफा)को आयोजनामा आज राजधानीमा आयोजित प्रथम राष्ट्रिय जनस्वास्थ्य दिवसको उद्घाटन मनतब्य दिँदै मन्त्री पौडेलले भनाई राखेका हुन् ।

मन्त्री पौडेलले भने-‘उपचारात्मक सेवा त ठिकै नै छ । तर बिरामीको संख्या बढेको बढ्यैं छ । यहि हिसावले बढ्दै गए राज्यले उपचारमा खर्च गर्न पनि सक्दैन । अब रोग लाग्न नदिनका लागि काम गर्नुपर्ने छ । त्यसैले म त ७५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल चाहिने हो भने त्यो अस्पतालको प्रमुख जनस्वास्थ्य अधिकृत हुनुपर्छ भन्ने पक्षमा छु ।’

उनले यसो भन्दा हलमा भरिएका जनस्वास्थ्यकर्मीहरुले ताली बजाएर समर्थन गरेका थिए । तर, उहाँको भनाई भेला भएका जनस्वास्थ्यकर्मीहरुलाई क्षणिक खुशी बनाउँन बोलिएको जस्तो देखिन्थ्यो । भेलामा सहभागी धेरै जनस्वास्थ्यकर्मीले मन्त्रीको कुरालाई ‘खुशी बनाउन दिएको’ अभिव्यक्ति वा ‘बोल्दा बोल्दै चिप्लिएको’ रुपमा अभिव्यक्ति दिईरहेका थिए । मन्त्रीले बोल्नुभएको कुरा ‘यो सम्भव हुने कुरा होइन, अस्पतालले उपचारात्मक सेवा दिने हो ।

त्यसको नेतृत्व चिकित्सकले नै गर्नुपर्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले सभाहलबाट बाहिरिदै गर्दा प्रतिक्रिया दिनुले प्रष्टिन्थ्यो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पनि यो कुरामा खासै सल्लाह नभएको र मन्त्रीले बोल्दा बोल्दै त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

सोही अवसरमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यको छुट्टै ऐन आवश्यक छ र त्यो बन्नेछ भन्नुभयो । ‘स्वास्थ्य ऐन छुट्टै चाहिन्छ भन्ने पक्षमा मन्त्रालय छ । त्यसमा हामी लागि रहेका छौँ । स्वास्थ्य ऐन छुट्टै बन्छ बन्छ । छुट्टै ऐन बन्दै गर्दा जनस्वास्थ्यकर्मी, चिकित्सक वा अन्य स्वास्थ्यकर्मीहरुलाई कहानिर कसरी म्यानेज गर्ने भन्ने विषय आउने छ उहाँले भन्नुभयो ।

सचिव डा. पोखरेलले ‘क्युरेटिभ’ र ‘प्रिभेन्टिभ’ दायित्व बोकेका स्वास्थ्यकर्मीहरु आपसमा वादविवाद गर्नु भन्दा एकजुट भएर स्वास्थ्य क्षेत्र सम्हाल्नु राम्रो हुने धारणा राखे । त्यसैगरी नेफाका अध्यक्ष कृष्णमान शाक्यले जनस्वास्थ्यका क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने आवश्यकता देखिएको बताए । स्वास्थ्य राष्ट्र निर्माणका लागि जनस्वास्थ्यका लगानी भन्ने नारासहित यसपटक ३४ औं दिवस मनाउन लागिएको भन्दै अब प्रिभेन्सनका लगानी बढाउनु पर्ने बताए ।


कार्यक्रममा उपाध्यक्ष तेजप्रसाद दुलाल महासचिव कैलाशखाकी श्रेष्ठ लगायतले जनस्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीको महत्व र दिवसको बारेमा प्रकाश पारेका थिए । वि.सं २०४७ साल मंसिर २३ गते स्थापना भएको नेपाल जनस्वास्थ्य संघले पहिलो पटक राष्ट्रिय रुपमा जनस्वास्थ्य दिवस मनाएको हो ।