हिलारी इलिश हाईस्कुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ । 

काठमाडौँ महानगरपालिका वडा नं. ७ गौरीनगरमा अवस्थित हिलारी इलिश हाईस्कुलले आफ्नै प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको प्राविधिक सहयोग तथा नवजागरुक युवा क्लब, गौरीनगर सुधार समिति, लाइफलाइन हेल्थ होम केयर प्रा.लि., पुलचोक ललितपुर र लियो क्लब अफ काठमाडौँ सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, सामान्य शल्यक्रिया, आँखा परीक्षण तथा उपचार, कान, घाँटी, प्रसूति तथा स्त्री रोग, बाल रोग, छाला रोग, दन्त सेवा, भिडियो एक्स-रे र ल्याबटेष्टलगायतका सेवाहरू प्रदान गरिएको थियो ।

विद्यालयका विद्यार्थी- अभिभावक, समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हिलारी स्कुलका प्रधानाध्यापक लालकुमार राईले बताए। 

हिलारी इलिश हाई स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्माको सभापतित्व तथा बागमती प्रदेश सभासद्  श्रीराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ८ का महिला वडा सदस्य सरस्वती राजभण्डारी, वडा नं. ७ शहरी स्वाथ्य प्रबद्र्धन केन्द्रकी प्रमुख सुभाशिनी कर्माचार्य, नव जागरुक युवा क्लबका अध्यक्ष, गौरीनगर सुधार समितिका अध्यक्ष, लाइफलाइन हेल्थ होम केयर प्रा.लि.का निर्देशक समिर जोशीलगायतको आतिथ्यता रहेको उक्त स्वास्थ्य शिविरको संयोजन जीवनरेखा समाज ललितपुरका सदस्य  हरिभक्त महर्जनले गरेका थिए ।

 शिविरबाट ४५३ जनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका थिए ।