विचरण गर्ने बालबालिका पालुवा निमोठिएका बिरुवा जसरी


हेटौंडा ।

बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदीजीवन बिताइरहेका बालबालिकालाई बाल मन्दिरहरुमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रसंशा गरेका छन् ।
बालबालिकाको हकहितका लागि कार्य गर्ने सबभन्दा पुरानो, ठूलो र सशक्त संस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार यस्तो बताएका हुन् । बालबालिकाको सरोकारको यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेतको उपस्थिति रहेको कार्यक्रममा उनले भने–भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भविष्यको गोरेटो देखाउने कार्य कुनै चानचुन कुरा होइन ।


बालबालिकाहरुमा असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा विचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएका बिरुवा जसरी बाँचिरहेका बताए । राज्यको मात्र मुख नताकी अवोध नानीबाबुको भविष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बालमन्दिर र बालबालिका क्षेत्रमा काम गर्ने संस्था र सरोकारवाला सबैमा उनले हार्दिकता व्यक्त गरे ।


नेपालको संविधानले मौलिक हकअन्तर्गत् बालबालिकाको हकसम्बन्धि व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्ने बताए । बालबालिकाका आधारभुत आवश्यकता, प्रतिभा पहिचान र प्रष्फुटनमा गरिने मन, धन, वचन र कर्मको लगानी सबभन्दा महत्वपूर्ण कार्य भएको उनले बताए ।


राज्य र मनकारी दाताले नेपाल बाल संगठन र बालमन्दिरको नाममा अर्पेको भौतिक सम्पतिबारे नरमाइला कुरा सुन्नुपरेको भन्दै उनले सम्बन्धित निकायले उक्त विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए । २०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ ।

‘यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभूति भएको छ । म भावुक भएको छु,’ उनले भने ।
नेपाल बाल संगठनको स्थापनापश्चात् बालमन्दिर भवन निर्माण गरी विभिन्न जिल्लाबाट प्रतिकूल परिस्थितिमा रहेका बालबालिकाका लागि आवास तथा बालमन्दिर विद्यालय सञ्चालन गर्दै आएको अध्यक्ष विद्या उपाध्यायन्यौपानेले बताइन् । ‘समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कानसहितको बालअधिकार’ भन्ने नारासाथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।