कांग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक


धरान ।

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बिपीको विचारमा आधारित रहेको बताउनु भएको छ । शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित बिपीका साहित्यक विचारहरु नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले कांग्रेस बिपीको विचारमा हिँडेको बताउनु भएको हो ।

गृहमन्त्री लेखकले कांग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गर्नुभयो । कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइ राख्नु पर्छ उहाँले भन्नुभयो ।

यस्तै कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको बताउनुभयो । ूत्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन, उहाँले भन्नुभयो, यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।

धरानको विकासका लागि मदन भण्डारी राजमार्ग र किमाथांकाको सडक बाइपास गरि अगाडि बढाउने निर्णय ७ वर्षअघि आफू भौतिक पूर्वाधार मन्त्री हुँदा भएको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ूआज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु, उहाँ भन्नुभयो ।

कार्यक्रम पत्रकारलाई सम्मान गरिएकोमा धन्यवाद दिँदै गृहमन्त्री लेखकले पत्रकारलाई सम्मान र पुरस्कार गर्न जरुरी रहेको बताउनुभयो । प्रेस लोकतन्त्रको पहरेदार हो । हामीले संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरेका छौँ । हामी सबैले प्रेस स्वतन्त्रता पूर्णरुपमा सम्मान गर्नुपर्छ,गृहमन्त्री लेखक भन्नुभयो, प्रेसको अधिकार हनन गर्नुहुँदैन । सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको वातावरण बनाउँछ।