सन्तुलित परराष्ट्र नीति अपनाऊ


नेपाल दुई छिमेकी मुलुकबीचको सानो राष्ट्र हो । तर सामरिक हिसाबले नेपाल ती दुई ठूला मुलुकभन्दा पनि अग्रस्थानमा रहेको छ। नेपालको भूमि प्रयोग गरेर एक–अर्का देशले आफ्नो स्वार्थसिद्ध गर्न लागेका थुप्रै उदाहरणहरु रहेका छन्। पछिल्लो समय नेपालमा संयुक्त राज्य अमेरिका नयाँ ढंगले उदाएपछि छिमेकी मुलुकहरुका लागि टाउको दुखाइको विषय पनि बनेको छ।

दुई परस्पर विरोधी देशले नेपाललाई आफू अनुकूल प्रयोग गर्न नेपालका राजनीतिक दल तथा शासकहरुलाई उपयोग गर्ने गरेका छन्। यो नेपालका लागि खतराको घन्टी पनि हो । स–साना कुरामा लोभिने शासक तथा दलका नेता–कार्यकर्ताका कारण उनीहरुले नेपाललाई आफू अनुकूल प्रयोग गर्न खोजेको पाइन्छ । कतिपय शासकहरुले अडान लिँदा उनीहरु सत्ताबाट विमुख हुनुपरेको तीतो यथार्थ हामीसामु छर्लङ्गै छ भने कतिपय शासकले सत्ता टिकाउन गरेका सम्झौताहरुले नेपालीको शिर पनि झुकेको छ।

खास गरी दक्षिणी छिमेकी मुलुकले नेपालमाथि पटक–पटक धोका दिँदै आएको छ भने पछिल्लो समय उत्तरी छिमेकी मुलुकले नेपाललाई आफू अनुकूल प्रयोग गर्न अपनाएका हथकण्डा हेर्दा नेपालमाथि उनीहरुले ठाडो हस्तक्षेपको नीति अपनाएको देखिन्छ । नेपाली जनतामा राष्ट्रियताको भावना ओतप्रोत भए पनि शासकहरु भने आफ्नो स्वार्थ अनुकूलका गतिविधिमा लाग्दा नेपालको सार्वभौमिकतामाथि पटक–पटक संकट आउने गरेको छ।

दुई छिमेकी मुलुकमध्ये उत्तरी छिमेकीसँग नेपालको अहिलेसम्म सीमा विवाद नरहे पनि दक्षिणी छिमेकी मुलुकसँग भने दर्जनौं ठाउँमा सीमाको समस्या रहेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा नेपालले आफ्नो स्पष्ट अडान राख्न नसक्दा दक्षिणी छिमेकी मुलुकले आफ्नो हेपाहा व्यवहार देखाउँदै आउनुलाई सहज मान्न सकिँदैन । परापूर्वकालदेखि नेपालले उपभोग गर्दै आएको उक्त भूभागलाई आफ्नो भनेर नेपालले दाबी गरिरहँदा छिमेकी मुलुकले भने नेपालमाथि नै आक्षेप लगाउने जुन काम भएको छ त्यसले नेपालको अस्मितामाथि धावा बोलेको भान भइरहेको छ ।

उता उत्तरको छिमेकी मुलुकले भने नेपालमा तिब्बतीयन गतिविधि हुने गरेको र आफ्नो मुलुकमाथि षड्यन्त्र गरेको भन्दै नेपालमाथि विभिन्न माध्यममार्फत दबाब दिने काम गर्दै आएको पाइन्छ। नेपालले पनि आफ्नो पञ्चशीलको सिद्धान्तलाई व्यवहारमा उतार्न कत्तिको सकेको छ, त्यसतर्फ पनि ध्यान दिन जरुरी छ।

नेपाललाई यी दुई विशाल छिमेकी मुलुकले साथै लिएर हिँड्न सके मात्रै नेपालले केही फाइदा लिन सक्ला नत्र भने नेपाल फुटबल मैदानजस्तै प्रयोग हुने देखिन्छ। त्यसैले नेपालले सन्तुलित परराष्ट्र नीति अपनाउन सकेन भने यो सधैँ अस्थिर मुलुकको रुपमा दर्ज हुने देखिन्छ। आफ्ना स्वार्थभन्दा पनि राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर शासकहरु अघि बढ्नुको विकल्प देखिँदैन।