एचआईभी/एड्स रोकथाम दिवसमा सीमित नहोस्


हरेक वर्ष डिसेम्बर १ मा एचआईभी/एड्स दिवस विश्वव्यापीरुपमा मनाइन्छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा एचआईभी/एड्स अन्त्यका लागि दिगो विकास लक्ष्य हासिल गर्ने हाम्रो यात्रामा बाधा पुर्‍याउने असमानताहरूको सामना गर्नुपर्छ भन्दै ‘अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मूल नाराका साथ यस वर्ष विश्वभर एकसाथ एचआईभी÷एड्स दिवस मनाएको छ।

यसले एचआईभी/एड्सबाट प्रभावितहरूलाई जीवन्त र पूर्ण जीवन जिउनका लागि सशक्त बनाउन सकोस् । यस्तो दिवसले वर्षमा एकपटक चर्चा गर्ने मात्र नभई प्रत्येक व्यक्तिको गरिमा, स्वास्थ्य र स्वायत्ततालाई कायम राख्ने प्रतिबद्धतासहित कार्यान्वयन गरोस् । विशेष गरी सबैभन्दा जोखिममा रहेकाहरूको स्वास्थ्य समस्याको रोकथाम, उपचार र हेरचाहमा पहुँच पुर्‍याउन साथ–सहयोग मिलोस् ।

यसै गरी डब्ल्युएचओ वातावरण सिर्जना गर्न नारासहित लागिपरेजस्तै नेपाल सरकारले पनि एचआईभी/एड्स लाग्नै नदिन र लागिसकेकालाई समाजमा डर वा बहिष्कारविना आवश्यक स्वास्थ्य सेवाहरूको पहुँच पुर्‍याउन सकोस् । एचआईभी/एड्सको उच्च जोखिममा परेकाहरूको आवाजलाई प्रवद्र्धन गर्ने र स्वास्थ्य परिणामहरूसँग मानवअधिकारलाई जोड्ने सहयोगी ढाँचालाई बढावा दिनपट्टि लाग्नुपर्छ । यता समुदाय र नागरिक समाजलाई सशक्त बनाउन आवश्यक छ।

सीमान्तकृत जनसंख्याले यस महामारीको चपेटामा निरन्तरता पाइरहेको छ। विशेष गरी यौनकर्मी, लागूऔषधको सुई लिनेहरू, ट्रान्स जेन्डर, लिंग परिवर्तनलगायत विविध कार्य गर्ने व्यक्ति र कैदीहरूमा एचआईभी/एड्सबाट संक्रमित भई यसको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले औँल्याइसकेको अवस्था छ । यस्तो अवस्थामा सामाजिक, आर्थिक, कानुनी र सांस्कृतिक असमानताहरूलाई सम्बोधन गरी एचआईभी/एड्स संक्रमितलाई समाजमा सम्मानपूर्वक व्यवहार गर्ने वातावरण सृजना गर्नुपर्छ।

विश्वव्यापीरूपमा ३९ दशमलव ९ मिलियन मानिस एचआईभीसँग दैनिक लडेर बाँचिरहेको विश्व स्वास्थ्य संगठनको सन् २०२३ को तथ्यांकमा उल्लेख छ। उक्त तथ्यांकमा १ दशमलव ३ मिलियन नयाँ संक्रमितहरू भएको उल्लेख छ। सन् २०२५ को लक्ष्य यो संक्रमित संख्यालाई ३ लाख ७० हजारभन्दा कम गर्ने रहेको छ।

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा मात्र लगभग ३ दशमलव ९ मिलियन मानिस एचआईभी/एडस् संक्रमण भएर बाँचिरहेका छन्। जसले विश्वव्यापी बोझको १० प्रतिशत प्रतिनिधित्व गर्दछ। सन् २०२३ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यस क्षेत्रका ७८ प्रतिशत एचआईभी संक्रमितले आफ्नो अवस्था थाहा पाएका थिए। ६६ प्रतिशतले जीवन बचाउने एन्टिरेट्रोभाइरल उपचार पाएका थिए। र, ६४ प्रतिशतले एचआईभी भएका मानिसमा भाइरल भारलाई दबाएका थिए। एचआईभी/एड्स नियन्त्रणका लागि बलियो राष्ट्रिय प्रतिबद्धताको खाँचो रहेको समेत प्रतिवेदनमा उल्लेख छ।

यो भयावह अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले समयमै वैदेशिक रोजगारीमा जानेलगायतका विविध गतिविधिमा संलग्न व्यक्तिहरुको परीक्षण र उपचारको पहुँच सहज बनाउनेतर्फ ध्यान देओस्। विशेष गरी युवा पुस्तामा यो समस्या बढ्दो क्रममा रहेकाले एचआईभी/एड्स के हो र यसबाट जोगिन के गर्नुपर्छ भन्ने बारेमा जनचेतनामूलक शिक्षा विद्यालय स्तरबाट नै शुरु गर्नु आजको आवश्यकता हो । युवा पुस्तामा सकारात्मक सन्देश समयमै दिन सक्नु नै रोग लाग्नबाट बचाउनु हो। एचआईभी संक्रमण न्यूनीकरण गर्न दिवस मनाएर मात्र हुँदैन, सरकारले युवा जनचेतनाका विषयमा ध्यान दिनै पर्छ।