हेटौंडा ।
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सफल भएकोमा नेपाली कांग्रेस वागमती प्रदेश समितिले आभार व्यक्त गरेको छ ।
कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बुधबार सन्देश जारी गर्दै स्थानीय तहको उपनिर्वाचन उत्साहपूर्णरुपमा सम्पन्न भएको बताउनुभयो । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत् निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं,’ सन्देशमा भनिएको छ ।
उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् उत्साहजनकरुपमा सम्पन्न गर्न र गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा पर्यवेक्षक र मतदाता र पार्टी कार्यसमितिप्रति सभापति बानियाँले आभार व्यक्त गर्नुभएको छ ।
मंसिर १६ गते वागमती प्रदेशमा एक नगर प्रमुख, एक गाउँपालिका उपप्रमुख र ५ वडाध्यक्ष गरी ७ स्थानमा उपनिर्वाचन भएको थियो । जसमध्ये नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिका मेयर, कीर्तिपुर–१, कीर्तिपुर–४ र हेटौंडा–१२ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया