धनगढी।
कञ्चनपुरको लालझाडी गाउँपालिका ४ इटाहामा रहेका १७ घर हात्तीले भत्काएपछि स्थानीय बासिन्दाको बिचल्ली भएको छ । इटाहामा रहेका १८ घर मध्ये १७ घर आइतवार राती आएको हात्तीको बथानले भत्काएपछि स्थानीयको बिचल्ली भएको हो । १७ घरका करिब ५० जना हात्तीले भत्काउनबाट बचेको एक स्थानीयको घरको आगनमा बस्न बाध्य भएका छन् । घरमा राखेको अन्नपात समेत हात्तीले नोक्सान गरेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । करिब तीन महिनादेखि लालझाडी गाउँपालिकाका बासिन्दाहरु हात्तीको आतंकबाट पीडित भएका छन् ।
लालझाडी गाउँपालिकामा हात्तीको आतंकले धनजनको क्षति पुर्याएको खबर पाएपछि सुदूरपश्चिम सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सोमवार स्थलगत निरीक्षणको लागि लालझाडी गाउँपालिका पुगेका थिए । लालझाडी ४ को इटाहामा हात्तीले भत्काएका घरहरुको निरीक्षण गर्दै स्थानीयहरुसंग क्षतिको विवरण लिनुभएको मन्त्रीका स्वकीय सचिव राधाकृष्ण जोशीले जानकारी दिए । रातीको समयमा आएको हात्तीको बथानले बस्ने घर र खाने अन्नमा क्षति पुर्याएपछि साँझ नै खाने अन्न नभएपछि मन्त्रीले आफ्नो ब्यत्तिगत खर्चमा ४ कट्टा चामल र १० किलो दाल पठाउनुभएको स्वकीय सचिव जोशीले बताए ।
हालसम्म हात्तीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरेर राहातको ब्यवस्थाकालागि प्रदेश सरकारले पहल गर्ने मन्त्री वीरबहादुर थापाले बताए । यस बारेमा मुख्यमन्त्री कमलबहादुर शाह संगपनि छलफल भएको र मंगलवार यस विषयमा मुख्यमन्त्री सहित सरोवारवाला निकायसँग छलफल गरेर राहातकालागि काम अघि बढाउने मन्त्री थापाको भनाई छ ।
भदौको दोस्रो सातादेखि लालझाडी गाउँपालिकाको विभिन्न वार्डहरुमा प्रवेश गरेको हात्तीको बथानले धन जनको क्षति पुर्याएको छ । भारतको दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको करिब ४०, ५०को समूहमा रहेको हात्तीको बथानले लालझाडी क्षेत्रको घरहरु भत्काउनुका साथै खेतीको नोक्सान गरेको छ । भने लालझाडीका ५० वर्षीय रामदल रानाको हत्ति धपाउने क्रममा आत्तिको आक्रमणबाट मृत्यु भएको छ भने कहियौ किसानले पालेका गाई बस्तु र बाख्राहरु मारेको छ ।
यतिबेला लालझाडी गाउँपालिकाको वार्ड नम्बर १ देखि ५ नम्बर वार्डसम्म पुरै जनजीवन प्रभावित भएको छ । रातीको समयमा हात्तीको बथान बस्तीमा प्रवेश गरी घर भत्काउने , उखु खाने तोरी र गहुँ माडेर नोक्सान गर्दै आएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए । उनले हात्तीले गरेको हाल सम्मको क्षतिको विवरण तयार गरिरहेको जानकारी दिए।
प्रतिक्रिया