कल्पदेखि कल्पतक–४

658
Shares

भलिबल खेल्ने क्रममा हावामा रहेको बललाई नभेट्टाई मैले हावामै सास बन्द बललाई छुन सफल भएको किस्सा नेपालको सर्वप्रथम वरिष्ठं मुख्य भलिबल प्रशिक्षक प्रचन्द्रबहादुर सिंहले प्रसङ्गवश उच्चारण गरेको सम्झना रहेको छ । गुरुत्वाकर्षणबारे ध्यानाकृष्ट गराउन मात्र यो प्रसङ्ग समाविष्ट गरिएको हो।

हामीले खाने चामल, दालमा पनि वर्षायाममा चाँडै नै स–साना कीरा र जीवहरु देखा पर्दै, झिक्दै, फाल्दै गरेको दृश्य त यदाकदा देखेकै होला । फोहोर र पसिनाको कारण पनि जुम्रा र कीरा उत्पन्न हुन सक्ने त शब्दकोशमै लेखिएको छ। यसर्थ शक्तिविना जीव सम्भव छैन, शक्तिविना विर्य पैदा हुँदैन । गर्भाधारणको लागि पनि शक्तिको दरकार पर्दछ। गर्भमै रहँदा गर्भिणीले गरेको खानपिनले समेत बच्चाको जन्ममा असर पर्दछ । गर्भिणीले यसतर्फ समेत सजग र सचेत रहन जरुरी छ। बच्चा पैदा भइसकेपछि बच्चाको रहनसहन, बसिबसाइ, खानपिन, अध्ययन, बोलीचाली, शिक्षादीक्षा, ज्ञान, गुण इत्यादिले पनि थप स्तरयुक्त वा स्तरहीन बनाउने भन्ने कुरा त स्वतः सिद्ध छ ।

यसै बुँदाअन्तर्गत एक व्याधाले एउटै रूखको टोड्कामा रहेका दुई स–साना सुगाका बच्चालाई घरमा ल्याई पालेछ । केही दिनमै तो दुई सुगाका बच्चालाई बजारमा बेच्न लगेछ। एउटा सुगालाई तल्लो वर्गको परिवार र अर्कोलाई उच्च वर्गको परिवारले किनेछ। त्यसको केही महिना वा वर्षपछि त्यो सुगा विक्रेता कुनै मनसायले सुगाक्रेता तल्लो वर्गको घरमा पसेछ । पस्नासाथ त्यो सुगाले अलि रुखो र ठाडो भाषाले छुचो बोली प्रयोग गर्दै मान्छे आएको छ भन्यो । त्यसपछि त्यो सुगा विक्रेता उच्च वर्गको घरमा पसेछ । पस्नासाथ त्यो सुगाले अति आदर–मानको भाषामा मालिकलाई एक मानिस भेट्न पाल्नुभएको छ भन्ने बोली निकालेछ । त्यही टोड्काबाट ल्याइएका दुई सुगा पनि रहनसहन, बानीबेहोराको हिसाबले बोलाइमा कति फरक हुँदो रहेछ भनेर दर्शाउन मात्र यो कुरो उठाइएको हो । कसैलाई घोचपेच, गिल्ला र हेला गर्ने मनसाय पटक्कै नभएको छर्लङ्ग पारिएको छ ।
जन्म र मृत्युलाई थप बल प्रदान हुने गरी नेपाल समाचारपत्रमा वि.सं. २०८० पौष १९ गते बिहीबार छापिएको ‘विनाश र निर्माणको निरन्तरता’ शीर्षकको (रोहिणीप्रसाद घिमिरेद्वारा रचित धर्म विज्ञान २०८९ ग्रन्थबाट साभार) लेख सान्दर्भिक सम्झी प्रस्तुत गरेको छु।

‘‘दाउरा बल्दा शक्तिमा परिणत हुन्छ र तेज उत्पन्न हुन्छ, जसले हामीलाई उज्यालो प्रदान गर्छ । दाउरामा भएको ओस (जल) उडेर बाफको रूपमा परिणत हुन्छ । दाउराभित्र कणकणमा भएको हावा वायुमा मिल्छ । दाउरा विनाश हुँदा यसले आफ्नो रुप परिवर्तन गर्छ । दाउरा बालेर सकिएजस्तै कुनै दिन हामी रहेको पृथ्वी पनि रहँदैन । चन्द्रमा र सूर्य पनि रहँदैनन् । पृथ्वी, चन्द्रमा, सूर्य आदि नै रहँदैनन् भने आकाशीय पिण्डहरू सबै समाप्त हुनेछन्। यससँगै सबै जीवको समाप्त हुनेछ। त्यस बेला कुनै चिजको अस्तित्व रहेको देखिँदैन तर रूप परिवर्तन भएको हुन्छ। पूर्णरुपमा नाश भएको भने हुँदैन। धार्मिक मान्यताअनुसार पृथ्वी अर्थात् ठोस वस्तु जलमा मिल्नेछ । जल तेजमा र तेज वायुमा मिल्नेछ । वायु आकाशमा मिल्नेछ अनि अन्त्यमा शून्यता छाउनेछ । यो सौर्यमण्डल नै विन्दुमा परिणत हुनेछ । सो विन्दु नै ब्ल्याक होल हो । अझ भन्ने हो भने पूरा ब्रह्माण्ड नै विन्दुमा परिणत हुनेछ । विज्ञानले पनि यही भन्छ । यो महाप्रलय भएको अवस्था हो । यो करोडौँ वर्षमा हुने कुरा हो । सानातिना प्रलय भने भइरहन्छन् । यस पृथ्वीको कतिपय स्थान धेरैपटक उथलपुथल भइसकेको छ । यसै क्रममा नेपाल मण्डल अर्थात् काठमाडौँ उपत्यका पनि कैयौँपटक जलमय तलाउ हुँदै, खोलिँदै गरेको हो ।

यसै गरी समुद्रबाट जमिन माथि निस्किएपछि नै द्वापर युगमा कृष्णको द्वारका शहर निर्माण गरिएको थियो । पछि यो सुविधा सम्पन्न शहर पुनः समुद्रमै विलीन हुन पुग्यो । जसको अवशेष समुद्रको पिँधमा अहिले भेटिने गरेको छ । त्रेतायुगमा रामचन्द्रले निर्माण गराएको लङ्का जोड्ने सेतु (पुल) पनि यसरी नै समुद्रमा विलय भयो । जसरी द्वारका शहर समुद्रमा विलय भयो त्यसै गरी अहिले समुद्रकिनारमा बनेका सुविधा सम्पन्न शहरहरू क्रमशः समुद्रमा विलीन हुनेछन् तर लामो अन्तरालमा द्वारका शहर अनि रामसेतु रहेको जमिनको भाग पुनः समुद्रमाथि नआउला भन्न सकिन्न । यसरी विनाश र निर्माणको निरन्तरता चलिरहन्छ ।’’
उक्त दृष्टान्तलाई गहनरूपले लिने हो भने नकार्न पनि सकिन्न । सुनामीको कारण धन, जन, महल, जग्गाजमिन डुबानमा परी हानि नोक्सानी गरेको त पक्कै हो । बाढीपहिरोले क्षतविक्षत गर्ने त साल बसाली सुनिरहने र भइरहने घटना हुन् । ज्वालामुखी सक्रिय हुने र विस्फोट हुने कुरा पनि चर्चामा आइरहेकै हो । चट्याङ, बिजुली चम्काइ आदिले भौतिक तथा अभौतिक क्षति भएको र भैरहने कुरा पनि नौलो भएन । भूकम्पले त बेलाबेलामा विनाश, सर्वनाश, सत्यानाश र हाहाकार मच्चाएकै छ । मेटोराइटलगायत अन्य पदार्थहरु अन्तरिक्षमा तैरिँदै, हल्लिँदैरहेका र पृथ्वीमा खस्न सक्ने भविष्यवाणी पनि सुनिदै आएको हो। एकताका पोखरा शहर पनि विदेशी विज्ञद्वारा १०० वर्ष मात्र आयु हुने भविष्यवाणी गरेको हल्ला फिँजिएको थियो।


मानिसले मलमूत्रको रूपमा निकाल्ने दिसा–पिसाबमा पनि शक्ति केन्द्रित रहेको देखिन्छ । मलमूत्रलाई मलको रुपमा प्रयोग गरी फलाएका ठूल्ठूला काउली र तरकारी खाएको रसिलो स्वाद त बिर्सेकै छैन । शक्तिको सृजनामा हामीले खानपिन गर्ने पदार्थ, वायु, जल तथा अन्य तत्वसमेत अन्तर्निहित हुन सक्छ । वीर्यले नै गर्भधारण प्रक्रिया शुरु हुन्छ। कुरूप, अन्ध, अपाङ्ग, लाटो, गोब्रे, गुंगो, लठेब्रो आदि जन्मनुमा पनि वीर्यको स्वरूप र स्वभाव तथा खानपिनले समेत निकै प्रभाव पार्दछ।

यसलाई धर्म–पापको दृष्टिकोणले मात्र हेरिनु न्यायोचित देखिँदैन । मानिसको जन्ममा खुशी र मरणमा दुःखी हुनु संसारकै रीति हो । तर मृत्युमा पनि मानव कल्याणको लागि केही भलो वा राम्रो होस् भन्ने धारणाले यो लेख अभिप्रेरित भएको छ । मानिसलाई मृत्युपश्चात् आगोमा दहन गर्नुभन्दा शव वा लासलाई खेतबारी, बगैँचा, पाखापखेरो, जग्गाजमिन, कम्पाउन्ड आदि निश्चित घेरामा गाडेर मलजलसहित मनपर्ने बोटबिरुवाहरु रोप्दै, उमार्दै, फसल उपयोग र उपभोग गर्न पाए त आर्थिकरूपले समेत समृद्ध भई इतिहास/अभिलेख पनि रहन्छ नि । आवश्यक परे शिलापत्र/लेखसमेत राख्न सकिन्छ। अनि वातावरण तथा स्वास्थ्यको लागि पनि कुशल नै छ।


केही समयपहिले एक विदेशीले तातो, चिसो सबै तापक्रम मिलाई मानिसको शवबाट तयार पारेको मलको रूपमा प्रस्तुत वस्तु पत्रिकामा देख्नुको साथै चराचुरुङ्गीहरु मर्दा मरेको शरीर मलको रूपमा प्रयोग हुन्छ भनेको सुन्दै कौसीको बोटबिरुवाहरुमा गाडेको अनुभव पनि सँगालेको छु । तर कार्यान्वयनमा कठिन त छ नै । परापूर्वकालदेखिको विकृत मनोभावना, मनोवृत्ति, रीतिरिवाज, धर्म, संस्कार, संस्कृति, बाधा–बन्धनबाट बेरिएको गाँठोलाई फुकाउन त समय लाग्छ नै । तर असम्भव छैन । सरकार दृढ संकल्पित भएमा सहमत र जनमत प्राप्त गर्न सकिन्छ । पहिले यसलाई खुकुलो पार्दै स्वेच्छामा भन्ने प्रावधान राखी बिस्तारै परिमार्जन र परिष्कृत गर्दै लैजानुपर्छ ।

भूत, प्रेत, पिशाच, डङ्किनी, किचकन्नी, राक्षस, ख्याक, मृतात्मा (नेवारीमा सिक) आदि उपस्थितिको अन्धविश्वास एवं पुरातनवादी सोचले व्याप्त यस देशमा नाना थरीका जालझेल, तिकडम, भय, डर र त्रास देखाउँदै विरोध, विद्रोह, प्रतिगमन र प्रतिकार गर्ने समूह वा जमात पनि बाक्लै देखिन्छन् । तर यसलाई सबुत/प्रमाण, प्रयोगद्वारा मिथ्या र झुट साबित गर्दै लैजानुपर्छ । जसरी नेपालमा सती प्रथाको उन्मूलन र मुलुकी ऐन लागू भएको छ ।

हत्या, हिंसा, मारकाट, आगजनी, लुट, डकैती, चोरी, बलात्कार, भ्रष्टाचार, ठगी, छली, झेली, बेइमानी, बेइन्साफी आदिले ढलपल, ढलमल रहेको यस देशको शासकीय व्यवस्थाले यतापट्टि ध्यान त अवश्यै जगाउँदैन होला, तैपनि बाह्र वर्षमा एकपटक खोला पनि फर्कन्छ भन्ने उखानझैँ आशावादी हुनु त जायजै छ ।

अझ जन्म र मृत्युबारे थप खुल्ने हो भने पहिले–पहिले जन्म र मृत्युलाई भगवान्को कृपा मानी चित्त बुझाउँथे । कसै–कसैले केटी पक्षको अक्षमताले हो कि भनी दुई–तीनवटी श्रीमती भित्र्याउँथे । धर्मकर्म, यज्ञहोम, जपतप, पूजापाठ पनि गर्दथे । अचेल त कारण खोज्ने विभिन्न संसाधन र तौरतरिकाहरु अपनाई समाधान गरिन्छ, गर्भधारण भएदेखि नै गर्भिणीले ध्यान दिनुपर्ने पाठहरू चिकित्सकबाट पढाइन्छ । खानपिनमा बार्नुपर्ने, पिउनुपर्ने, हलचलबारे, सरसल्लाह एवं सुझाव प्रदान गरिन्छ । अन्धो, लाटो, गुंगो, बहिरो, अपाङ्ग, कुरुप भई जन्मने बालकहरूप्रति समेत ज्ञान आदानप्रदान गरिन्छ । अन्धो भई जन्मनु धर्म–पापको कारणले मात्र नभई अन्य कारणले पनि हुन सक्ने आधार र तथ्यलाई खोलिन्छ । अन्धो व्यक्तिले गरेको कमाल र करामतको कहानी सुनाई सान्त्वना प्रदान गरिन्छ । अझ गर्भमै रहेको बच्चाको स्वरूप, स्वभाव, बानीबेहोरा र आयुको समेत अन्दाज र भविष्यवाणी गर्न सक्ने विज्ञ, दक्ष, कुशल चिकित्सकहरू भएको बयान र बखान पनि सुनिने गरिएको छ । बच्चा पैदा गर्ने वा नगर्नेतर्फ परामर्श लिने÷दिने गर्नुको साथै पुत्र वा पुत्री प्राप्त गर्नमा तिथि, मिति, साइत, बार आँकलन गर्न सक्ने चिकित्सक पनि पाइएको छ । जसले प्रसूति सेवातर्फ पनि आफ्नो पहुँच र पहिचान बढाएकै छ ।

(क्रमशः मंगलबार)