लामो राजनीतिक विरासत बोकेका दलहरुबाटै सृजित अस्थिर राजनीतिक अभ्यास, कुशासन र राजनीतिभित्रको भ्रष्टीकरणबाट आजित नेपाली नागरिक विकल्पको खोजीमा छन् । राज्य सञ्चालनको मूल नीति राजनीति नै सङ्लो भएन भने सबै क्षेत्र धमिलो हँुदै जाने त्रासदीबाट मुलुकलाई बचाउन नागरिकस्तरबाटै नयाँ विकल्पको खोजी हुनु आफैँमा सकारात्मक र नागरिक सचेतताको संकेत पनि हो । यद्यपि नयाँ विकल्पको खोजी गर्ने क्रममा राजनीतिमा अनेकन भ्रम र वास्तविकताको लडाइँ पनि देखा पर्छन् । यस्तो अवस्थामा आमनागरिकलाई कुन भ्रम र कुन वास्तविकता भन्ने छुट्याउन निकै कठिन पर्दछ।
यही कठिनाइका बीच यति वेला नागरिकहरु भ्रमको पोखरीमा निसासिन बाध्य छन् । पछिल्लो समयमा बढ्दै गएको प्रविधिको विकासले ग्रामिण स्तरसम्म कब्जा जमाइसकेको छ । मान्छेहरुले सामाजिक सञ्जाल हेरेरै आफ्नो धारणा बनाउने अभ्यासले व्यापकता पाइरहेको छ । यो परिस्थितिमा सामाजिक सञ्जालमार्फत जसले बढी हल्ला फिँजायो उसैलाई हिरो ठान्ने तर हल्ला र वास्तविकता छुट्याउनतिर नलाग्ने प्रवृत्तिको विकास हुँदै जाँदा हाम्रो समाज कतातिर जाँदै छ भन्ने गम्भीर विषय बनेको छ।
लोकतन्त्र प्राप्तिपछिको बहुदलीय व्यवस्थामा सयौं दलहरु राजनीतिमा उदाए भने तीमध्ये केही छोटो समयमै अस्ताउँदै गएका उदाहरण प्रशस्त छन् । प्रजातन्त्र प्राप्तिको लामो संघर्षबाट आएको देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस, लोकतन्त्रको जगलाई बलियो बनाउन आएको दोस्रो पुरानो दल नेकपा एमाले अहिले पनि सत्ता भोगचलनको भान्से छन् । उनीहरुसँगै सहयात्री बनेर पछि–पछि आएका राजमो, नेकपा (माले) लगायत दर्जनौं पुराना दलहरु अस्तित्व संकटको चरणमा छन्।
केही नयाँ र क्षेत्रीय, जातीय रंग बोकेका दलहरु पनि एकाध समय सत्तामा पुगेर फेरि सानो साइजमा खुम्चिएको इतिहास साक्षी छ । पञ्चायतकालीन समयमै बलियो राजनीतिक हैसियत बनाएको राप्रपा अहिले पनि क्रियाशील छ । दश वर्षे युद्धपश्चात् शान्ति प्रक्रियामा आएर संसदीय राजनीतिमा पहिलो बनेको दल नेकपा माओवादी केन्द्र दश वर्षमै खिइएर निकै सानो भए पनि ऊ आफ्नो राजनीतिक वैचारिक एजेन्डाका कारण सधैँ सत्ताकै वरिपरि रहन सफल छ । यसबीचमा विभिन्न दल फुटाएर साना टुकडीमा पार्टी बनेकाहरुमध्ये कतिको सटर बन्द भइसक्यो भने केही दुःख–सुख टिकेका छन् । यसको पछाडि ती राजनीतिक दलका वैचारिक दृष्टिकोण, आर्थिक, सामाजिक र राजनीतिक एजेन्डा, जनजीविकाका मुद्दा, राजनीतिक लगानी, संघर्ष, त्याग, राजनीतिक तवरबाट भए/गरेका कामको जगका आधारमा नागरिकले कसलाई कत्रो बनाउने भनेर जोखी–तौली राखेको कुरालाई हामीले अन्यथा भन्नै मिल्दैन ।
झट्ट हेर्दा नेपालको राजनीतिमा पुराना र परम्परागत राजनीतिक शक्तिहरुकै हालिमुहाली चलिरहँदा देश र जनताको अवस्था परिवर्तनमा उल्लेख्य उपलब्धि हुन नसकेको कुरा सत्य हो । तर, केही न केही काम भइरहेको पनि सत्य नै थियो । स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, मानिसहरुमा आएको चेतनाको विकाससँगै प्रविधिको विकास यही राजनीतिक व्यवस्थाले ल्याएको उपलब्धिलाई स्वीकार गर्नै पर्छ । नयाँ दलहरु उदाएका पनि यही व्यवस्था, चेतनाको विकास, प्रविधिको विकास र स्वतन्त्रताकै उपज हो । यद्यपि राजनीतिक शक्ति र सत्ताको आडमा नेताहरुले नागरिकलाई गुमराहमा राखेर रातारात धनी बन्ने सपनाले मुलुकको राजनीति नै भ्रष्टीकरणतिर उन्मुख भयो । दलहरुले टिकट वितरणदेखि राज्यसत्ताका विभिन्न जिम्मेवारी वितरणमा समेत ठूलो रकमको चलखेल गर्न थाले पनि त्यसको प्रत्यक्ष असर नागरिक तहमा पुग्यो ।
यस्ता विभिन्न हुटहुटीले केही व्यक्ति सफल भए पनि राजनीतिमा लागेकाहरु कतिपय गुमनाम छन् । सोही जगबाट आएको रास्वपा र सो दल हाँक्ने नेताहरुको प्रवृत्तिमा परिवर्तन नहुने हो भने २०८४ मा ठूलै धक्का दिने योजना बनाएको रास्वपा आफैँले धक्का व्यहोर्न तयार हुनुपर्नेछ । वैचारिक दृष्टिकोणविनाका नयाँहरुबाट आउने अनेक फन्डा र भ्रम फैलाउने भुरेटाकुरेहरुको गतिविधिबाट निसासिएका नागरिकसमेत सचेत हुनुपर्ने बेला आएको छ ।
जनताबाट मोटोरुपमा कर असुल्ने, सेवाप्रवाहमै गैरकानुनी तवरबाट रिसवत लिने, नागरिकका स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरसमेत सत्ताकेन्द्रित गर्ने कुराले नागरिक तहमा वितृष्णा जाग्दै गएको अवस्था छ । मुलुकमा रोजगारी सृजना गर्दै आएका उद्योग–कलकारखाना बन्द गर्ने, आर्थिक स्रोतको पर्याप्त सम्भावना भए पनि नुनदेखि सुनसम्म, तरकारीदेखि पानीसम्म विदेशीकै भर गर्ने, नागरिकमा वार्षिक ऋणको भार बढ्दै जाने क्रम नरोकिँदा आक्रान्त नेपालीले नयाँ विकल्पको खोजी गरिरहेका थिए/छन् । यसरी धमिलिँदै गएको नेपालको राजनीतिमा नयाँ खेलाडीहरुको जन्म भएको कुरालाई पुराना दलका नेता, कार्यकर्ता र समर्थकहरुले हेक्का राख्नै पर्छ ।
अहिले पुराना दलहरुले गर्न नसकेका र खराब गरेका विषयमाथि अनेक व्याख्या गर्दै फोहोर बनाइएको राजनीतिक पोखरीलाई सफा गर्ने, नागरिकलाई स्वदेशमै रोगजारी, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय, सुशासन र समृद्धिको नारा लिएर उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमै सत्ताको बागडोरमा त पुग्यो, उसका गतिविधि नागरिकलाई भ्रमित बनाउनेतर्फ नै केन्द्रीय हुँदै गएका छन् । पछिल्लो दूई वर्षयता आफूलाई सबैभन्दा पृथक र सुशासनको मसिहा ठान्ने रास्वपाको हैसियत जनताले बिस्तारै बुझ्दै जानेमा शंका छैन । राजनीतिक दर्शन, विचार र एजेन्डा भन्दा पनि नागरिकमाझ सामाजिक सञ्जालमार्फत पपुलर बनेको उक्त दलको नेतृत्व नै नागरिकलाई भ्र्रम फैलाएर आफ्नो धन्दा चलाउने डिजाइनमा रहेको पुष्टि हुँदै आएको छ । जुन दलमा आबद्ध व्यक्तिहरुको कलात्मक भाषणले मोहित जनतालाई केही समय राहत प्रदान मिले पनि अन्ततः तिनै कलात्मक भाषणबाजको खोक्रो राष्ट्रवाद सर्वत्र छताछुल्ल भएपछि यति बेला नागरिकमा निराशाको कालो बादल मडारिएको छ।
पार्टी दर्ता भएको एक वर्षमै संसद्मा २१ सिट दिएर पठाएको उक्त दलको नेतृत्व नै अनेक काण्डमा मुछिनु राजनीतिमा दुर्भाग्य नै हो । सो पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।
अनुसन्धानको प्रक्रिया शुरु हुँदादेखि नै सो दलका सबै सांसद र केन्द्रदेखि प्रदेश तथा जिल्ला तहका नेताहरुसमेत सडकमा उत्रिएर रविमाथिको अनुसन्धानमा निरन्तर धावा बोल्नुले यो समाज र राजनीतिमा लागेका नयाँ अनुहारमाथि थप कालो धब्बा लगाउने काम भएको भन्दा अतिसयोक्ति हुँदैन। कुनै बेला टेलिभिजनको पर्दाबाट सबैभन्दा ठूलो स्वरमा राज्य सञ्चालनका सबै निकायमाथि प्रश्न गर्दै आएका लामिछानेले पार्टी स्थापना गरेपछि थप चर्को स्वरमा कराउँदै आएका थिए। तर उनै व्यक्ति सहकारी ठगी, सरकारी किर्ते, व्यक्ति हत्या दुरुत्साहन, दोहोरो पासपोर्ट, दोहोरो नागरिकतालगायतका अपराधमा अनुसन्धानको दायरामा पर्दा सो पार्टीका नेताहरु सडकमा निस्कनुले नयाँमाथिको विश्वासले नागरिकस्तरमा पूर्णविराम लगाउने अवस्था आएको छ। लामिछानेका पछाडि लागेर भर्खर स्थापना भएको वैकल्पिक शक्ति रास्वपालाई समेत नेताहरुले बाबुराम भट्टराई नेतृत्वका तत्कालीन दल नयाँ शक्ति नेपाल, उज्जल थापा नेतृत्वको विवेकशील, विवेकशील साझा, नेपाल सद्भावना पार्टी, लोकतान्त्रिक फोरमलगायत यसअघि स्थापना भएका दलहरुकै बाटोमा लैजाने काम गरिरहेका छन् ।
पुराना दलका नेताहरुभन्दा कैयौँ गुणा बढी गैरजिम्मेवार बनेर गैरकानुनी धन्दा चलाउने व्यक्तिमाथि अनुसन्धान नै गर्न पाइँदैन भनेर सडकमा कोकोहोलो गर्नुले रास्वपा र सो दलका केही आशा लाग्दा नेताहरुसमेत नागरिकको नजरमा नाजवाफ हुने अवस्था आएको छ । जसमाथि आशा थियो, उसैमाथि निराशाको भारी बिसाउनुपर्दा उक्त दलप्रति आस्थावान् व्यक्तिहरुको समेत वाक्य बसेको छ । केही समयअघिसम्म पुराना दल र ती दलमा आबद्ध नेता–कार्यकर्ताहरुमाथि खनिदै आएका रास्वपाका कार्यकर्ता र समर्थकहरु अहिले आफ्नै बोली, भाषा र व्यवहारप्रति निरर्थक बनेका छन् । यसले नागरिकमा थप निराशा छाएको छ। अनेक अभियोगमा अनुसन्धान भइरहेका बेला रास्वपाका सांसद र केन्द्रीय समितिका नेताहरु नै पुराना र परम्परागत दलहरुभन्दा तल झरेर लामिछाने बाचाउ आन्दोलनमा उत्रिनुले रास्वपाको जग बलियो हुने संकेत देखिएको छैन।
जनतालाई अझै केही भ्रम फैलाउनमै उक्त दलका नेता–कार्यकर्ताहरु लागिरहेका छन् भने रविको भ्रमको पोखरीमा आफ्नै दलका नेता–कार्यकर्तादेखि उनका पछि दौडिने नागरिकसमेत निसासिन बाध्य छन् । उनीहरुलाई भ्रमबाट मुक्त हुने केही समय त अवश्य लाग्ने नै छ । धमिलो पानीमा माछा मार्न सजिलो हुन्छ भन्ने हेक्का भएका ती नयाँ राजनीतिक खेलाडीले धमिलो राजनीतिलाई सङ्लो बनाउँछु भनेर जनतामा ठूलो भ्रम फैलाउँदै राजनीतिको पोखरीमा हाम फालेर पानीमाथि थप दिसा गरी निस्किने प्रयत्नमा लागिरहेका छन् । फोहोर बन्दै गएको राजनीतिलाई सफा गर्छु भन्नेहरु सानो–ठूलो रुपमा पटक–पटक देखा नपरेका होइनन् । उनीहरुको नियति अन्ततः सत्ता प्राप्ति मात्रै बन्यो ।
केही समययता राजनीतिप्रति मान्छेहरुको क्रेज अत्यन्तै बढेका कारण पनि नागरिकले फरक–फरक टेस्ट खोज्ने बहानामा थप खराबहरुको संगत गर्न पुग्ने त्रास अझै बढ्दो छ । आम विकसित मुलुक र अधिकांश विकासशील मुलुकमा समेत व्यक्तिहरु आ–आफ्नै पेसा र व्यावसायिकरुपमा सम्पन्न हुने र राजनीतिलाई समाज सेवाकै रुपमा उपयोग गर्ने गर्छन् । तर, नेपालमा जुनसुकै पेसा व्यवसाय वा सरकारी जागिरबाट निस्किएर राजनीतिमा हाम फाल्ने प्रवृत्ति अत्यधिक बढेको छ।
सरकारी, गैरसरकारी, निजी जुनसुकै क्षेत्रबाट माथिल्लो तहमा पुगेका व्यक्तिहरु अन्ततः राजनीतिमै हाम फाल्ने अभ्यासले अहिले व्यापकता पाएको छ। नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, व्यापारी, ठेकेदार, गैरसरकारी संस्थाका सञ्चालकहरु, पत्रकार, कानुन व्यवसायी, उद्योगी व्यवसायीलगायत सबै पक्षबाट अन्तिममा सांसद हुँदै मन्त्री बन्ने हुटहुटी जागेको देखिन्छ। यस्ता विभिन्न हुटहुटीले केही व्यक्ति सफल भए पनि राजनीतिमा लागेकाहरु कतिपय गुमनाम छन्।
सोही जगबाट आएको रास्वपा र सो दल हाँक्ने नेताहरुको प्रवृत्तिमा परिवर्तन नहुने हो भने २०८४ मा ठूलै धक्का दिने योजना बनाएको रास्वपा आफैँले धक्का व्यहोर्न तयार हुनुपर्नेछ । वैचारिक दृष्टिकोणविनाका नयाँहरुबाट आउने अनेक फन्डा र भ्रम फैलाउने भुरेटाकुरेहरुको गतिविधिबाट निसासिएका नागरिकसमेत सचेत हुनुपर्ने बेला आएको छ ।











प्रतिक्रिया