डिप्रेसिभ डिसअर्डर (जसलाई डिप्रेसन पनि भनिन्छ) एक मानसिक विकार हो। यसमा लामो समयसम्म दुःखी मुड वा कुनै गतिविधिमा रुचि वा आनन्दको कमी अनुभव हुन्छ। डिप्रेसन एक गम्भीर मानसिक अवस्था हो, जसले व्यक्तिको दैनिक जीवनमा नकारात्मक असर पार्दछ। यस अवस्थामा व्यक्तिहरू निराश, थकित, असहाय र मूल्यहीन महसुस गर्छन्। धेरैजसो अवस्थामा, डिप्रेसनले व्यक्तिको ऊर्जामा कमी ल्याउँछ, उसको सोच्ने र निर्णय गर्ने क्षमतामा प्रभाव पार्छ र अन्य मानिससँगको सम्बन्धमा टाढापन पैदा गर्दछ। मानसिक स्वास्थ्यसम्बन्धी यो समस्या सामान्यतया तनाव, व्यक्तिगत जीवनका असफलता, पारिवारिक समस्या र समाजिक दबाबहरूका कारणले उत्पन्न हुन सक्छ।
डिप्रेसन सामान्य मुड परिवर्तन र दैनिक जीवनका भावनाहरूभन्दा फरक हुन्छ । यसले परिवार, साथीभाइ र समुदायसँगको सम्बन्धसहित जीवनका सबै पक्षलाई असर गर्न सक्छ । यो स्कूल वा काममा समस्या वा अन्य कारणबाट उत्पन्न हुन सक्छ। डिप्रेसन जो कोहीलाई हुन सक्छ । दुव्र्यवहार, ठूलो क्षति वा तनावपूर्ण घटनाहरूको सामना गरेका व्यक्तिहरूलाई डिप्रेसन हुने सम्भावना बढी हुन्छ । डिप्रेसन सामाजिक, मनोवैज्ञानिक र जैविक कारकहरूको जटिल अन्तरक्रियाबाट उत्पन्न हुन्छ। बेरोजगारी, शोक र तनावपूर्ण घटनाजस्ता प्रतिकूल जीवन घटनाहरूको सामना गरेका व्यक्तिलाई डिप्रेसन हुने सम्भावना बढी हुन्छ।
डिप्रेसनले तनाव र असन्तुलनलाई बढाउँछ, जसले व्यक्तिको जीवनलाई अझ कठिन बनाउँछ र डिप्रेसनलाई गम्भीर बनाउँछ । डिप्रेसन शारीरिक स्वास्थ्यसँग नजिकै सम्बन्धित छ । डिप्रेसनमा प्रभाव पार्ने धेरै कारकमध्ये शारीरिक गतिविधिको कमी वा मदिराको हानिकारक सेवन, हृदय रोग, क्यान्सर, मधुमेह, श्वासप्रश्वास रोग पनि हुन् । यी रोग भएका व्यक्तिलाई पनि आफ्नो स्वास्थ्य समस्या व्यवस्थापन गर्दा डिप्रेसनको अनुभव हुन सक्छ।
महिलामा पुरुषको तुलनामा डिप्रेसनको सम्भावना बढी हुन्छ। विश्वभर करिब ३.८ प्रतिशत जनसंख्याले डिप्रेसन अनुभव गर्छन्, जसमा ५ प्रतिशत वयष्क (पुरुषमा ४ प्रतिशत र महिलामा ६ प्रतिशत) पर्दछन् । विश्वभर करिब २८ करोड मानिसलाई डिप्रेसन छ, साथै डिप्रेसन महिलामा पुरुषभन्दा करिब ५० प्रतिशत बढी देखिन्छ । गर्भवती र सुत्केरी महिलामध्ये १० प्रतिशतभन्दा बढीमा डिप्रेसन हुन्छ । डिप्रेसनको कारण हरेक वर्ष ७ लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् र १५–२९ वर्ष उमेर समूहमा डिप्रेसनको कारण आत्महत्या चौथो प्रमुख मृत्युको कारण तथ्यांकअनुसार प्रमाणित हुन्छ।
यद्यपि मानसिक विकारहरूको लागि प्रभावकारी उपचारहरू उपलब्ध छन्, तर कम र मध्यम आय भएका देशहरूमा ७५ प्रतिशतभन्दा बढी व्यक्तिले कुनै उपचार प्राप्त गर्दैनन् । यसका प्रमुख कारणहरूमा मानसिक स्वास्थ्यमा लगानीको अभाव, प्रशिक्षित स्वास्थ्यकर्मीको कमी र मानसिक विकारसँग सम्बन्धित सामाजिक कलंक समावेश छन् । डिप्रेसनको पहिलो चरणको समयमा व्यक्तिले दुःखी, चिडचिड वा खाली महसुस गर्नेजस्ता डिप्रेस मुड अनुभव गर्छन् । उनीहरूले धेरै गतिविधिमा रुचि वा आनन्द गुमाउन सक्छन् । साथै अन्य लक्षणहरू पनि देखिन सक्छन्, जस्तै– कमजोर ध्यान, अत्यधिक दोषी महसुस गर्नु वा आत्म–सम्मानको कमी, भविष्यप्रति निराशा, मृत्यु वा आत्महत्याबारे सोच, निद्रा बिग्रनु, भोक वा तौलमा परिवर्तन, थकाइ वा ऊर्जाको कमी आदि । डिप्रेसनले समुदाय, घर, काम र विद्यालय जीवनका सबै पक्षहरूमा कठिनाइ निम्त्याउँछ ।
डिप्रेसन एपिसोडलाई लक्षणहरूको संख्या, गम्भीरता र व्यक्तिको कार्यक्षमतामा प्रभावको आधारमा हल्का, मध्यम वा गम्भीररूपमा वर्गीकरण गर्न सकिन्छ । डिप्रेसन एपिसोडका विभिन्न ढाँचाहरू हुन्छन् :
(क) एकल एपिसोड डिप्रेसिभ डिसअर्डर : यसमा व्यक्तिले पहिलो र एकमात्र एपिसोड अनुभव गरेको हुन्छ ।
(ख) पुनरावृत्त डिप्रेसिभ डिसअर्डर : यसमा व्यक्तिको कम्तीमा दुईवटा डिप्रेसन एपिसोडको इतिहास हुन्छ ।
(ग) बाइपोलर डिसअर्डर : यसमा डिप्रेसन एपिसोड मैनिक लक्षणहरूसँग बदलिन्छ, जसमा अति उत्साही वा चिडचिडाहट, बढी ऊर्जा, बढी बोल्ने, सोचाइको तीव्र गति, आत्म–सम्मानको वृद्धि, निद्राको कम आवश्यकता, ध्यान विक्षेप र आवेगपूर्ण बानी समावेश छन् ।
मनोचिकित्सकले, डिप्रेसन रोकथामका कार्यक्रमहरूले यसलाई घटाउन सक्ने सम्भावनालाई दर्शाएका छन् । विद्यालयमा सकारात्मक समस्यासँग जुझ्ने क्षमता विकास गराउने कार्यक्रमहरूले बालबालिका र किशोरहरूमा डिप्रेसन रोकथाममा प्रभावकारी सहयोग पु¥याउने गर्दछ । व्यवहारगत समस्याका बालबालिका अभिभावकहरूको लागि हुने हस्तक्षेपले अभिभावकको डिप्रेसन कम गर्न र बालबालिकाको परिणाम सुधार गर्न सहयोग गर्छ । वृद्धहरूको लागि व्यायाम कार्यक्रम पनि डिप्रेसन रोकथाममा प्रभावकारी हुन सक्छ ।
डिप्रेसनको निदान र उपचारका लागि प्रभावकारी विधिहरू उपलब्ध छन्, जसमा मनोवैज्ञानिक उपचार र औषधिहरू समावेश छन् । डिप्रेसनका लक्षणहरू देखिएमा उपचार खोज्नु महत्वपूर्ण छ । डिप्रेसनको पहिलो उपचार मनोवैज्ञानिक उपचार नै हो । यी मध्यम र गम्भीर डिप्रेसनमा एन्टिडिप्रेसन्ट औषधिसँग संयोजन गरेर प्रयोग गर्न सकिन्छ । हल्का डिप्रेसनमा एन्टिडिप्रेसन्ट औषधिको आवश्यकता पर्दैन । मनोवैज्ञानिक उपचारहरूले सोच्ने, समस्यासँग जुध्ने वा अन्य व्यक्तिहरूसँग सम्बन्ध बनाउने नयाँ तरिकाहरू सिकाउँछन् । यी उपचारहरू पेसेवरहरूसँगको टक थेरापी वा स्व–अध्ययन सामग्री, वेबसाइट र एप्समार्फत प्राप्त गर्न सकिन्छ ।
समाधान कसरी गर्ने त ?
१. सकारात्मक समर्थन दिनु : अभिभावक र समाजले युवाहरूलाई सधैँ समर्थन र सहानुभूति दिनुपर्दछ । कुनै पनि व्यक्ति दुःखमा छ भने, समूहमा बसेर कुरा काट्ने होइन कि त्यस व्यक्तिको भावना सुन्ने र बुझ्ने प्रयास गर्नुपर्छ । युवाहरूलाई सहज महसुस गराउनको लागि घरमा खुला र प्रेमपूर्ण वातावरण प्रदान गर्नु महत्वपूर्ण छ । साथै सटिफाइड मनोवैज्ञानिक सहयोग लिने व्यक्तिलाई सकारात्मकरुपमा हेर्नुपर्छ ।
२. मनोवैज्ञानिक साक्षरता बढाउनु : समाजमा मानसिक स्वास्थ्यको बारेमा बुझाइ अभाव छ । स्कूल, कलेज र अन्य स्थानमा मानसिक स्वास्थ्य शिक्षा दिनु आजको अत्यावश्यक शिक्षाको सामग्रीको रुपमा देखा परेको छ । साथै विभिन्न मनोवैज्ञानिक सेवाहरूको बारेमा जानकारी दिनु आवश्यक छ । यसले मानसिक स्वास्थ्य समस्याहरूप्रति सजगता बढाउँछ । साथै आजको समयमा सबैको हातमा मोबाइल छ, त्यसैले सबै सजग नागरिकहरुले सटिफाइड मनोवैज्ञानिकहरूको भिडियो र सोसियल मिडियामा फलो गर्नु एउटा राम्रो उपाय हो । यसले केवल आफ्नो घरका सदस्यहरूको मात्र होइन पूरै समाजको नकारात्मक प्रभावलाई निराकरण गर्छ । उदाहरणका लागि, आजका चर्चित ब्लगर र सामाजिक सञ्जालमा सक्रिय नेपाली व्यक्तित्वहरु जसले आफ्नो जीवनमा डिप्रेसनको सामना गरिसकेका छन्, उनीहरुले मानसिक स्वास्थ्यका बारेमा आफ्ना अनुभवहरू विभिन्न ब्लग, पोस्ट र सामाजिक सञ्जालमार्फत शेयर गर्ने गरेका छन् । उनीहरूले झैँ मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरूलाई सजगता बढाउन र समर्थनको महत्त्वलाई जोड दिन मद्दत पु¥याउने पोस्टहरुको आवश्यकता हामी सबैको जिम्मेवारी हुन आउँछ, जसले धेरै युवा र समाजलाई प्रेरित गरेको छ ।
३. मनोचिकित्सकसँग परामर्श : डिप्रेसनलाई उपचार गर्न योग्यरूपमा मनोचिकित्सक (साइकोलोजिस्ट) वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । दबाई र परामर्शको माध्यमले यो अवस्था सुधार गर्न सकिन्छ । डिप्रेसनको रोग अन्य रोगभन्दा फरक छ । यसलाई सजिलै चिन्न गाह्रो छ । सामान्य तनाव र डिप्रेसनको फरक छुट्याउन गाह्रो छ । कैयौंलाई डिप्रेसनको बारेमा थाहा भए पनि आफू नै डिप्रेसनमा परेको मान्न गाह्रो छ । यस्तो अवस्थामा समाज, घरपरिवारले यसको पहिचान गर्नुपर्छ । मानसिक सहयोगका लागि समाजले के भन्ला, हामीले कस्तो–कस्तो भोगियो भनेर पीडित व्यक्तिलाई एक्लै छोड्नुहुँदैन।
४. मनोसामाजिक समर्थन : समाजले डिप्रेसन भएको व्यक्तिलाई सहयोग गर्ने वातावरण बनाउनुपर्छ, जहाँ उनीहरूले अरूसँग कुरा गर्न सक्छन् र सहयोग पाउन सक्छन् । युवा स्वयंसेवक, सामाजिक संस्था र सामुदायिक केन्द्रहरूले परामर्श दिने वा सहयोग गर्न सक्ने माध्यम उपलब्ध गराउनुपर्छ । सामाजिक सञ्जालमा सशक्त व्यक्तित्वहरुले यसको बारेमा खुलेर कुरा गर्नुपर्दछ, तब मात्र यसको पहिचान र उपचार समयमै हुन सक्छ । यसले गर्दा आत्महत्याको संख्यामा धेरै कमी आउनेछ ।
५. सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नु : डिप्रेसन रोकथामका उपायमा मनोवैज्ञानिक साक्षरता, खुला संवाद र आत्म–संरक्षण उपायहरूसँगै सकारात्मक जीवनशैलीका केही युक्तिहरू जस्तै– ध्यान, योग र रचनात्मक गतिविधि गर्न सकिन्छ। नियमित व्यायाम, स्वस्थ आहार र पर्याप्त निद्राको महत्त्वलाई बुझाउँदै समाज र अभिभावकले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुपर्छ। केवल यतिमात्र नभई बेलाबेलामा भ्रमण, विभिन्न क्लब तथा स्वयंसेवाको कार्यमा आफू र आफ्नो परिवारलाई सरिक गर्न लगाउनुपर्दछ।
प्रतिक्रिया