शैक्षिक क्षेत्रमा सुधार अत्यावश्यक


नेपालको शैक्षिक अवस्था खासै चित्त बुझ्दो छैन् । हाम्रो शिक्षा प्रणाली अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको पनि छैन। त्यसैले हाम्रो शिक्षा कमजोर अवस्थामा छ। सामुदायिक क्षेत्रमा यसको सञ्जाल, संरचना र कभरेज राम्रो छ तर त्यसबाट जति प्रतिफल आउनुपर्ने हो त्यति प्रतिफल आउन सकेको छैन।

शिक्षा क्षेत्रमा राज्यले जति लगानी गरेको छ सो लगानी गरेअनुसारको उपलब्धि पनि निकै न्यून छ। हामीले श्ुरुमा निश्चित मापदण्ड नबनाई निश्चित पहँुच र स्वार्थका आधारमा विद्यालयहरु स्थापना गर्‍यौँ। विद्यालयलाई त एउटा पवित्र मन्दिरको रुपमा विकास गर्न सक्नुपर्ने हो तर त्यसरी मन्दिरको रुपमा विकास गर्न पनि सकिएको छैन । शिक्षा उच्चरुपमा केन्द्रीकृत हुँदै आइरहेको छ । शिक्षा काठमाडौं केन्द्रितजस्तो बन्न पुगेको छ।

शिक्षा क्षेत्र एकखाले मान्छेहरुले मात्रै चलाइरहेका छन्। शिक्षा प्रशासन तिनै एकथरी हालिमुहाली गर्ने मान्छेहरुमा मात्रै सीमित हुन पुगेको छ। शिक्षाशास्त्रीहरुको कम्पिटिसन नै भएन। गुणस्तरीयताको सोच नै छैन। विद्यार्थी, शिक्षक र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध हुनुपर्नेमा त्यस्तो सम्बन्ध नै स्थापित हुन सकेको छैन।

शिक्षा प्रशासनको कमजोरीले राम्रा र सक्षम जनशक्ति सरकारी सेवाबाट अन्यत्र पलायन हुने अवस्था सिर्जना भइरहेको छ । शिक्षामा राजनीतीकरण कति धेरै छ भन्ने कुरा त सबैमा जगजाहेरै छ । मुख्य प्रणालीले नै शिक्षा क्षेत्रको विकास र गुणस्तरमा ध्यान पुर्‍याउन सकेको छैन भने अन्य सहायक र उपसहायक निकायले त कसरी शिक्षा क्षेत्रको विकास एवं गुणस्तरमा ध्यान पुर्‍याउन सक्लान् ? त्यसबाट खासै आशा गर्न सकिँदैन ।

पहाडी क्षेत्रमा विद्यालयहरु प्रायः गाउँबस्तीको बीचमा नभएर गाउँको छेउछाउमा र जंगलनजिक राखिएको छ। यो पद्धति नै गलत छ । विद्यालयको अवस्थितिका कारण पनि सामाजिकरुपमा यसको महत्व अलि बढ्न नसकेको यथार्थ हामीसामु छ। गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्नेमा सरकारसामू ठूलो चुनौती छ, हाम्रो शिक्षालाई जीवनोपयोगी खासै बनाउन सकिएको छैन । त्यसैले कसरी जीवनोपयोगी बनाउन सकिन्छ भन्नेमा सरकारले संवेदनशील भएर सोच्ने र सोहीअनुसार प्रभावकारी योजना र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ।

शिक्षामा विविधता भन्ने कुरै छैन । एउटा पाठ्यक्रम बनाएर सबैलाई त्यसैमा सीमित बनाउने पद्धति छ । यस्तो खालको शिक्षा पद्धतिले समग्र शिक्षा क्षेत्रमा विविधिता ल्याउन सक्दैन। परम्परागत शिक्षाबाट हामी खासै माथि उठ्न सकेका छैनौँ । हामीले आधुनिकतालाई पनि अवलम्बन गर्न खोजिरहेका छौँ र परम्पराबाट पनि मुक्त हुन खोजिरहेका छौँ। तर परम्पराबाट मुक्त हुन पनि नसक्ने र आधुनिकतालाई पनि पन्छाउन नसक्ने खालको खिचडी प्रकृतिको शिक्षा प्रणाली अपनाउन पुगेका छौँ। यो पनि शिक्षा क्षेत्रको लागि ठूलो चुनौतीको कुरा हो। यसले गर्दा पनि शिक्षा क्षेत्रबाट अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। त्यसैले शैक्षिक क्षेत्रमा व्यापक सुधार अहिलेको अहं आवश्यकता हो।