सनातन धर्म–संस्कृतिको संरक्षणमा ज्योतिष

282
Shares

सनातन धर्म, संस्कृति, संस्कार जोगाउन व्यक्तिगत तथा संस्थागत रूपमा लागिपर्ने धेरै छन् । उनीहरूले हाम्रा धरोहरका रूपमा रहेका धर्म, संस्कृति, संस्कार, भाषा, भेषभूषा, चाडपर्व, ऐतिहासिक सम्पदा, कला आदिको संरक्षण गरिरहेका छन्।
चाडपर्व, संस्कार, संस्कृति जोगाउन ज्योतिष तथा धर्मशास्त्रविद्हरू संस्थागत तथा व्यक्तिगतरूपमा लागिपरेका छन्।

ज्योतिषमा समावेशी रहेको समिति छ । कुनै जातजाति, लिंग नछुट्याई समिति बनेका छन् । विभिन्न देशमा नेपालले नै नेतृत्व लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरू बनेका छन् । प्रदेश तथा जिल्ला समितिहरु पनि सक्रिय छन्।

विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ, नेपाल ज्योतिष परिषद् लगायत संस्थाले नेपालमा काम गरिरहेका छन्। यी संस्थाले हस्तरेखा, तन्त्र विज्ञान, वास्तुशास्त्र, सिद्धान्त ज्योतिष, फलित ज्योतिष क्षेत्रलाई मध्यनजर गर्दै काम गरिरहेका छन्। विश्व ज्योतिष महासंघमा एसिया, युरोप, अमेरिका लगायत राष्ट्रबाट प्रतिनिधित्व गरेर कार्य गरिरहेका छन् । दक्षिण एसियाली ज्योतिष महासंघमा दक्षिण एसियाका राष्ट्रबाट प्रतिनिधित्व भइरहेको छ । यी दुवै संस्थाको नेतृत्व नेपालीले नै गरिरहेका छन् र प्रधान कार्यालय पनि नेपालमै रहेको छ।

नेपाल ज्योतिष परिषद्ले भने नेपालभित्र मात्रै काम गरिरहेको छ । यो संस्था तल्लो तह मानिने स्थानीय तहसम्म गठन गरिएको छ। यी संस्था स्थापनादेखि नै डाक्टर लोकराज पौडेलले हालसम्म महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

विश्व ज्योतिष महासंघ :
विश्व ज्योतिष महासंघको प्रधान कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको छ । यसको अध्यक्ष डाक्टर लोकराज पौडेल हुनुहुन्छ । उहाँ पञ्चाङ्गकार पनि हुनुहुन्छ । पौडेल नेपाल ज्योतिष परिषद्को संस्थापक अध्यक्ष, दक्षिण एसियाली ज्योतिष महासंघको पूर्वअध्यक्ष तथा हाल मार्गदर्शन हुनुहुन्छ । विश्व ज्योतिष महासंघको कार्यक्षेत्र विश्वमा रहेका देशहरूमा रहेको छ। ज्योतिषीहरूलाई एकबद्ध गर्दै संगठन निर्माण गर्ने र ज्योतिषीहरूलाई एकसूत्रमा बाँध्ने काम उहाँले गर्नुभएको छ।

हाल यो संस्था २४ देशमा क्रियाशील छ। यसको आजीवन सदस्य ३५ देशका छन् । विश्व ज्योतिष महासंघले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समिति बनाएको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डबाट यस संस्थाले पञ्चाङ्ग गणना गरेर पञ्चाङ्ग पात्रो प्रकाशन गर्दै आएको छ । त्यस्तै, विश्वमा रहेका ३० वटाभन्दा बढी देशको दशैं, तिहार लगायतका चाडपर्वको शुभसाइत निकाल्ने गरेको छ । यसले देश तथा स्थान अनुसार कुन दिन तथा समयमा पूजाआजा गर्ने, टीका–प्रसाद ग्रहण गर्ने, व्रत बस्ने, श्राद्ध आदि कर्म गर्ने लगायतका मुहूर्त छुट्याउने गरेको छ । जसले गर्दा आम मानिसलाई जुन देश तथा स्थानमा रहे पनि सहज रूपमा आफ्ना चाडपर्व मान्न, संस्कार गर्न सहज भएको छ ।

भारत, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, अमेरिका, भियतनाम, क्यानाडा लगायत देशमा महासंघले जनस्तरमा राम्रो प्रभाव पारेको छ । डा. पौडेलले विभिन्न देशमा राष्ट्रिय समितिका साथै प्रन्तीय समिति बनाउनुभएको छ । त्यस्तै, महिला विभाग, युवा विभाग, वास्तु विभाग, धर्मशास्त्र विभाग, तन्त्र विभाग आदि विभाग बनाएर यस क्षेत्रको श्रीवृद्धिका लागि काम गरिरहनुभएको छ । २०५२ सालमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन हुँदा नेपालमा प्रधान कार्यालय रहने गरी विश्व ज्योतिष महासंघ गठन गरिको थियो ।

त्यसै गरी, दक्षिण एसियाली ज्योतिष महासंघ नेपालमै दर्ता भई क्रियाशील रहेको छ । केन्द्रीय समितिको अध्यक्ष डा. सहदेव विष्ट हुनुहुन्छ भने यसको अन्तर्राष्ट्रिय समितिको सभापति आचार्य लक्ष्मण पन्थी हुनुहुन्छ । विभिन्न देशका प्रतिनिधित्व हुने गरी उपाध्यक्षहरू, विभिन्न देशका प्रतिनिधित्व हुने गरी पदाधिकारी सदस्यहरु रहेका छन् । महासंघकोे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिमा सभापतिमा डाक्टर माधव भट्टराई, सदस्य–सचिवमा आचार्य लक्ष्मण पन्थी, सदस्यहरूमा प्राध्यापक डा. पुरुषोत्तम भट्टराई, पण्डित सूर्यप्रसाद ढुंगेल हुनुहुन्छ । त्यस्तै, सल्लाहकारमा प्राध्यापक डा. रामचन्द्र गौतम, प्राध्यापक श्रीकृष्ण अधिकारी लगायतका रहेएका छन् ।

दक्षिण एसियाली ज्योतिष महासंघमा सार्क राष्ट्रहरू सम्मिलत छन् । नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटानमा राष्ट्रिय समिति तथा प्रदेश समितिहरू क्रियाशील छन् । अफगानिस्तान, पाकिस्तान माल्दिभ्स लगायतका देशमा आजीवन सदस्य बनाएर संयोजकमार्फ ज्योतिषीय कार्यहरू भइरहेका छन् ।

दक्षिण एसियाली ज्योतिष महासंघले नेपाल, भारत, बंगलादेश, मौरिसस, थाइल्यान्ड, दुबई, मलेसिया, इन्डोनेसिया, स्थानाबुलको तास्कन्द लगायत स्थानमा अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलन गरिसकेका छ । महासंघले सम्मेलनमा विभिन्न देशका विद्वान्हरूलाई सहभागी गराई कार्यपत्र प्रस्तुत गरेर सोही अनुसारको प्रतिवेदन तयार गर्ने गरेको छ । २०६० साल वैशाख ५ गते पण्डित धर्मराज रेग्मीले यस संस्थाको स्थापना गर्नुभएको थियो ।

हाल दक्षिण एसियाली ज्योतिष महासंघले विभिन्न अनुसन्धानमूलक जर्नलहरू प्रकाशन गर्दै आइरहेको छ । अनुसन्धानमूलक जर्नल मन्दाकिनीको प्रधान सम्पादकमा आचार्य पन्थी हुनुहुन्छ । नेपालको राष्ट्रिय समितिको सभापतिमा पण्डित खिलनाथ काफ्ले हुनुहुन्छ । राष्ट्रिय समितिले वास्तु ज्योतिषसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनहरू नेपालमा गर्दै आइरहेको छ ।

नेपाल ज्योतिष परिषद् :
नेपाल ज्योतिष परिषद् नेपालको अध्यक्ष हुनुहुन्छ– ज्योतिषी पण्डित केशवप्रसाद धिताल । यो नेपालको ज्योतिषीय तथा धार्मिक संस्थाहरूमध्ये सबैभन्दा ठूलो संस्था हो । यसको ७७ वटै जिल्ला समिति, सातै प्रदेश समिति, विभिन्न विभाग क्रियाशील रहेका छन् । नेपाल ज्योतिष परिषद्ले नेपालका ज्योतिषीहरूलाई एक ठाउँमा राखेर जनहितमा काम गरिरहेको छ। यस संस्थाले ज्योतिषीहरूलाई आचारसंहितामा रहेर काम गर्न प्रोत्साहन गर्ने रहेको छ। २०५५ पुस २४ गते डा. लोकराज पौडेलको अध्यक्षतामा यो संस्था स्थापना भएको थियो । परिषद्मा विश्वविद्यालयका प्राध्यापक, विभिन्न विद्वान्हरूको आबद्धता रहेको छ ।

पञ्चाङ्ग निर्णायक विकास समिति :
पञ्चाङ्ग निर्णायक विकास समिति नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको छ । यसको अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी हुनुहुन्छ । यो समिति सरकारी निकाय हो । यसले भित्तेपात्रो तथा पञ्चाङ्ग पात्रोहरूलाई स्वीकृत प्रदान गर्ने गर्दछ। समितिले पञ्चाङ्ग निर्माण गर्ने, चाडबाडहरूको निर्णय गर्ने, विभिन्न मुहूर्त निर्णय गर्ने र पञ्चाङ्गलाई स्वीकृत प्रदान गर्ने काम गर्दछ। यसले विभिन्न चाडहरूको शुभसाइत, मुहूर्त निर्णय गर्ने, विभिन्न विद्वान्हरूलाई राखेर विवादित कुराहरूको समाधान गर्ने गर्दछ । यसको सदस्य–सचिवमा पण्डित सूर्यप्रसाद ढुंगेल हुनुहुन्छ । सदस्यहरूमा आचार्य लक्ष्मण पन्थी, प्राडा देवमणि भट्टराई ज्योतिषी वासुदेव कृष्ण शास्त्री, सहप्राध्यापक तनुजा दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उपसचिव प्रतिनिधि रहने गरी समिति रहेको छ । समितिले पण्डित तथा ज्योतिषीहरूलाई नियमन पनि गर्ने गर्दछ।

समितिले विभिन्न समयमा कर्मकाण्डको प्रशिक्षण ज्योतिषको प्रशिक्षण दिने कार्य पनि गरिरहेको छ । यसले धार्मिक संस्थाहरू, ज्योतिषीय संघ–संस्थाहरू तथा पण्डितहरूलाई नियमन गर्ने काम गर्दछ । समितिले ज्योतिषी तथा पण्डितको आचारसंहिता निर्माण गर्ने काम पनि गर्दछ । ज्योतिषीहरूलाई लाइसेन्स प्रदान गर्ने कामको पनि यसले थालनी गर्न लागेको छ। समितिले नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक, धर्मशास्त्रका विद्वान्, फलित ज्योतिष, सिद्धान्त ज्योतिषका विद्वान्हरुलाई राखेर चाडबाड, जात्रा पर्व तथा मुहूर्तको निर्णय गर्ने गरेको छ । साथै, विभिन्न क्षेत्र, समुदाय (गुरुङ, तामाङ, नेवार समुदाय) लगायत जातजातिका पर्वहरूको विषयमा विद्वान्हरूसँग छलफल गरी निक्र्योल गर्ने गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटी दरबारभित्र रहेको छ।

पञ्चाङ्गकारको योगदान अतुलनीय :
पञ्चाङ्गकारहरूले धर्म, संस्कृति, चाडबाड मनाउन खेलेको भूमिका अतुलनीय छ । उनीहरूले खगोलको गणना गरेर नेपालमा पञ्चाङ्ग पात्रो प्रकाशन गर्ने गरेका छन् । जम्मा १५ जना पञ्चाङ्गकारले नेपालमा पञ्चाङ्ग पात्रो प्रकाशन गर्ने गरेका छन् । उनीहरूले गणना गरेको पञ्चाङ्गलाई पञ्चाङ्ग निर्णायक विकास समितिले छलफल गरी स्वीकृति दिने गरेको छ । त्यसपछि मात्र बजारमा पञ्चाङ्ग पात्रो जाने गरेको छ ।