आदिवासी जनजातिमध्ये किरात राई जाति एक हुन् । किरात राई जाति एक, भाषा अनेक अर्थात् राई जातिभित्र २६ भाषा बोलिन्छन् । किरात राईहरू आफूलाई प्रकृतिपूजक जाति मान्दछन् । यिनै किरात राई जातिलाई चिनाउने साकेला संस्कृतिबारे यहाँ चर्चा गर्न लागिएको छ । साकेला संस्कृतिलाई साकेन्वा, साकाला, साखेवा, साक्ले, तोषी भनिन्छ ।
उभौली र उधौलीमा घर–घरै पितृपूजा गर्दछन् । प्रकृतिपूजा गर्दछन् । ठूलो रूखमुनि थापित साकेला थान अथवा खुल्ला ठाउँमा सेउली गाडेर निर्माण गरिएका साकेला थानमा सामूहिक रूपमा सिमेभूमेको पूजा गर्दछन् । ढोल र झ्याम्टा बजाउँदै महिला र पुरुष गोलाकार साकेला सिली (साकेला नाच) नाच्दछन् । बुढापाका, किशोरकिशोरी, बालबालिका या भनौं बाजे–बोजु, बाबु–आमा, छोरा–छोरी/नाति–नातिनी एउटै गोलघेराभित्र बाजाको तालमा अभिनयात्मक नाच प्रदर्शन गर्दछन् ।
सुम्निमा र पारुहाङको आराधना नै उभौली–उधौली साकेला हो । मुन्दुम पर्गेल्ने काम नाक्छोङ, नाक्सो, न्वाक्सो (कुलपुजारी)ले गर्दछन् । त्यसपछि सामूहिक रूपमा सिली प्रदर्शन गर्नु नै यसको सार हो । परम्परागत मौलिक भेषभूषाले त्यसको रौनकता थप्ने गरेको छ ।
साकेला प्राचीन संस्कृति हो । उहिल्यैदेखि पुर्खाहरूले उभौली र उधौलीमा पितृपूजा गर्दै आएकै हुन् । प्रकृतिको मानमनितो गर्दै आएकै हुन्, जुन आजपर्यन्त निरन्तर छ । ढोल, झ्याम्टालगायत बाजा बजाएर नाच्ने यो संस्कृतिको समयले घुम्टो उघारिदियो र आज विश्वव्यापी चाड बनेको छ । गाउँघर कुनाकन्दरामा सीमित साकेला थानहरू सहर हुँदै हङकङ र बेलायतसम्म स्थायी रूपमा विस्तार भएका छन् । साकेला सिलीले नवीन पुस्तालाई आकर्षित तुल्याएको छ । जहाँ जहाँ किरात राई, त्यहाँ त्यहाँ साकेला नाचिन्छ ।
वास्तवमा राज्यसत्ताले आफ्नो अनुकूलतामा जनताका संस्कृतिलाई प्रदर्शन गराउँथ्यो । जथाभावी प्रदर्शन गरेमा जेलनेल ठोक्थ्यो। त्यसैले किरातीहरूको परम्परागत संस्कृति पनि कुनाकाप्चामै सीमित थियो । राज्यअनुकूलतामा सम्भवतः पहिलोपटक काठमाडौंमा २०२२ सालमा साकेला सिली प्रदर्शन भएको थियो । खोटाङ जिल्लाको तत्कालीन महिला संगठनकी अध्यक्ष कुमारीकृष्ण राई भन्नुहुन्छ, ‘२०२२ सालमा तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यको विवाह भएको वर्ष काठमाडौंको राष्ट्रिय नाचघरमा ५ मिनेट साकेला देखायौं (‘सितिमी’ मासिक, २०७५ वैशाख, अंक २९, सम्पादक तिलक चाम्लिङ)।’
काठमाडौंमा साकेला सिली
राजधानी काठमाडौंमा साकेला सिलीलाई औपचारिक रूपमा सार्वजनिक रूपमा प्रदर्शन गर्ने काम भने २०३८ जेठ १० गते भएको थियो । ‘साकेला सिली’ अंकित ब्यानरसहित पुतलीसडकस्थित शंकरदेव क्याम्पसको प्राङ्गणमा प्रदर्शन गरिएको थियो । त्यसको अगुवाइकर्ता उतिखेरका जल्दाबल्दा युवाहरू गोपाल छाङ्छा (वरिष्ठ पत्रकार, छहरा साप्ताहिकका सम्पादक), शान्तिकुमारी राई (अधिवक्ता तथा नेपालको अन्तरिम संविधान, २०६३ का मस्यौदा समितिकी सदस्य), डिक बान्तावा (बान्तावा भाषाका कोशकार तथा चलचित्र निर्माता), श्याम लाओती, इन्द्र किरात, खगेन्द्र जबेगु, मिलन राई, खड्ग चाम्लिङ, भैरव राई, खम्बाशेर राई, अर्जुन राईलगायत धेरैजना हुनुहुन्थ्यो । पत्रकार गोपाल छाङ्छाको संयोजकत्वमा किरात हितकोष संस्था गठन गरेको र त्यही संस्थामार्फत् साकेला सिलीको आयोजना गरिएको थियो ।
‘त्यतिखेर हामीले मेरो संयोजकत्वमा किरात हितकोष खडा गरेका थियौं । हामीले साकेला समिति गठन गरेर झ्याम्टा किन्यौं । इन्द्र किरात र डिक बान्तावाले बाँसबारी छालाजुत्ता कारखानामा गएर सामग्री जुटाएर ढोल बनाउनुभएको थियो । त्यसपछि पद्मोदय हाई स्कुलको कोठामा रिहर्सल ग¥यौं । बान्तावा सिलीको डिक बान्तावाले अभ्यास गराएका थिए भने चाम्लिङ सिलीको प्रशिक्षण भैरव राईले दिएका थिए । मलाई नाच्न, बजाउन आउँदैनथ्यो, भावनामात्रै हो । मैले सबै साथीभाइहरूलाई जुटाएँ,’ ४३ वर्षअघिको त्यो घटना सम्झिदै वरिष्ठ पत्रकार गोपाल छाङ्छा भन्नुहुन्छ, ‘पहिलोचोटि शंकरदेव क्याम्पसमा साकेला नचायौं । प्रशासनले रोक्न खोजेको तर भनाउसुनाउ गरेपछि अनुमति पायौं । त्यसपछि दुई–तीन साल निरन्तर नचायौं । टुकुचा पुलसँग खसीबजारमा घर भएका बुद्धिकर्ण राईले साकेला सिलीमा सहभागीलाई खाजापानीको व्यवस्था गर्नुभएको थियो । पछि अरू अग्रजहरूको साथसहयोग मिल्यो । २०४५ सालदेखि किरात राई यायोक्खा संस्था गठन भएपछि साकेला सिली साझा संस्कृतिका रूपमा अगाडि बढ्यो ।’
किरात राई यायोक्खा
उतिखेर भर्खर जातीय संगठन निर्माण गर्ने क्रमको बिजारोपण हुन थालेको थियो । पढ्न आएका युवाहरूले काठमाडौंमा २०४५ साउन २२ गते किरात राई सांस्कृतिक तदर्थ समिति गठन गरेका थिए । २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको उदय भयो । त्योसँगै २०४७ भदौ २३ र २४ गते काठमाडौंमा सोही संस्थाको प्रथम राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले सम्पूर्ण किरात राई जातिको प्रतिनिधित्व हुनेगरी किरात राई यायोक्खा नामकरण गरी वैधानिक रूपमा अगाडि बढाएका थिए ।
किरात राई यायोक्खा अहिले (२०८१ साल) देशको २३ जिल्ला कार्यसमितिहरू र सयौं प्रारम्भिक कार्यसमितिहरू छन् । यसै गरी हङकङ र बेलायतमा स्थायी रूपमा किरात राई यायोक्खा रहेका छन् । अमेरिका, जापान, अस्ट्रेलिया, साउदी, यूएई, कतार, बहराइनलगायत १८ मुलुकमा किरात राई यायोक्खा क्रियाशील रहेका छन् । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले ‘वृषमान–जसरानी राई स्मृति साकेला कप–२०५५’ स्थापना गरी साकेला सिली प्रतियोगिता आयोजना गर्दैआएको छ । ‘किरात राईहरूको आदिम युगबाट सुरू भएको मौलिक संस्कृति र परम्परालाई संरक्षण, प्रवद्र्धन र संवद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानु, ऐतिहासिक संस्कृतिलाई विश्वसामु परिचित गराउनु, विभिन्न थर पाछाका किरात राईहरूमा समन्वय र सद्भाव कायम गर्ने उद्देश्यमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निभाएको छ (निप्सुङ, वर्ष ७, अंक ११, २०५७ असोज) ।’ यसै गरी यायोक्खा जिल्ला तथा प्रारम्भिक कार्यसमितिहरूले साकेला थानहरू विस्तारसँगै उभौली र उधौलीमा महिना दिनसम्म साकेला सिली आयोजना गर्ने गरेका छन् । उनै अधिवक्ता शान्तिकुमारी राईको मननीन भनाइ छ– ‘आज साकेला विश्वभरि छ । संस्थागत अनुशासन जरुरी छ । मौलिकता कायम हुनुपर्छ ।’
‘साकेला दसहजार वर्ष पुरानो सांस्कृतिक दस्तावेज हो’
साकेला संस्कृतिलाई कसरी लिन सकिन्छ ?
साकेला अहिले समकालीन किरातीहरूको सांस्कृतिक पहिचान स्थापित गर्ने सशक्त माध्यमका रूपमा स्थापित भएको छ । त्यसले किरातीहरू एउटा जीवित सांस्कृतिक सम्पदासहित इतिहासको यथार्थमात्र होइन, वर्तमानको पनि यथार्थ समुदाय हो भन्ने परिचय सहरलाई अनि काठमाडौंमा बसेर शासन गर्ने सत्ताधारीहरूलाई ठूलो सन्देश साकेलाले दिइरहेको छ । यो नै सबैभन्दा ठूलो सामथ्र्य हो । यसले समग्र किरातीहरूको परिचय स्थापित गरिदिएको छ । साकेला भन्नासाथ किरातीलाई चिन्ने स्थिति बनेको छ । विस्तारै साकेलाप्रति गैरकिराती समुदायको पनि आकर्षण बढ्दैछ । दोस्रो, साकेलाको राम्रो पाटो मानवशास्त्रमा डिफ्युनिजम (प्रसारवाद) सिद्धान्त रहेछ । त्यसले कुनै पनि प्रभावशाली संस्कृतिचाहिँ एक ठाउँदेखि अर्को ठाउँ जान्छ । फैलिन्छ । विस्तार हुन्छ भन्दोरहेछ । यदि, त्यो मानवशास्त्रीय सिद्धान्तलाई मान्ने हो भने अहिले साकेला पनि त्यस्तै एउटा प्रभावशाली संस्कृति हो । त्यो अहिले गाउँमा मात्रै सीमित छैन । बजारमा पुगेको छ । सहरमा पुगेको छ । राजधानीमा पुगेको छ । त्यो अन्तर्राष्ट्रिय राजधानीहरू, ठूलठूला सहरहरूसम्म विस्तार भएको छ । भन्नुको अर्थ साकेला एउटा प्रभाशाली संस्कृति रहेछ । अन्तर्राष्ट्रिय स्तरसम्म प्रसार भइरहेको छ । साकेला सशक्त प्रभावशाली संस्कृति हो । गाउँको कुना–कुनासम्म सयौं नयाँ साकेला थान स्थापना भएका छन् । सहर बजारहरू, राजधानीको वरिपरि पनि निक्कै नयाँ थानहरू स्थापना गरिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा पनि नयाँ साकेला थानहरू स्थापना गरिएका छन् । त्यसले हाम्रो परिचय निक्कै फराकिलो बनाइदिएको छ ।
प्राचीनता र एक रूपतालाई कसरी हेर्ने ?
विविधतामा एकरूपता खोजिनु पर्छ । विविधताविनाको एकरूपता खोजिनु हुन्न । किनभने आफ्नो–आफ्नो स्थान, आ–आफ्नो भूगोल, आ–आफ्नो सांस्कृतिक विशिष्टताअनुसार आफ्नो–आफ्नो पक्ष पनि विकास भएको छ । साकेला भूमिको पूजा हो । साकेला कृषिको उत्सव हो । साकेला गर्दा भूमिलाई पुज्छौं । खुसी बनाउँछौं । अन्न उत्पादन राम्रो होस् भनेर पुकार गर्छौं । त्यो बेला चुलाको पूजा गर्छौं । पितृको पूजा गर्छौं भन्ने कुरा सबैको साझा हो । त्यो एकरूपता त्यहाँमात्रै खोज्ने हो । त्यसपछि साकेलाको क्रममा विभिन्न प्रकारको सिलीहरू गर्छौं । त्यहाँ आधारभूत एकरूपता र भिन्नता पनि छ । त्यो दुइटैलाई स्वीकार गर्नुपर्छ । सिकार गर्ने सिली (अभिनयात्मक नाच), कृषि गर्ने सिली गर्छौं । त्यसमा सबैको समानता छ । तर, त्यसभन्दा अतिरिक्त जस्तो जुका पाइने ठाउँको राईले जुका सिली गर्छ । किनभने त्यो उसको सरोकारको विषय हो । तर, हलेसी वा सोक्मटारमा रहेका राईले जुका सिली खोजेर भएन । किनकि यहाँ त जुका हुँदैन । आ–आफ्नो विशिष्टताअनुसारका सिलीहरू पनि निर्माण भएका छन् । र साझा सिली पनि हामीसँग छ । त्यसैले विविधतासहितको एकरूपता साकेला हो भनेर बुझ्नुपर्छ ।
अर्को, प्राचीनताको हिसाबले साकेला किरातीहरूको सांस्कृतिक दस्तावेज पनि हो । कसरी हो भने यसमा सबैभन्दा पुरानो सिकारी सिली पाइन्छ । त्यो भनेको किरातीहरू कुनै बखत सिकारी जीवन प्रणालीमा थियो । त्यो भनेको दसहजार वर्षभन्दा अगाडिको पूर्ण जीवन सिकारमा आधारित थियो । कन्दमूल संकलनमा आधारित थियो । कन्दमूल र सिकारसँग सम्बन्धित हाम्रो सिली छन् । कृषिकर्म भस्मे, खोरियादेखि व्यवस्थित खेतीपाती गरिएको सिली गरिने भएको कारणले यो सिलीको उमेरचाहिँ कृषिको आधारमा दसहजार वर्षसम्म पुरानो हो । कृषिभन्दा अगाडि कन्दमूल संकलन र सिकारी जीवनको पनि सिलीमार्फत् प्रस्तुत गरिने भएको हुनाले साकेला दसहजार वर्षभन्दा पुरानो इतिहासको दस्तावेजीकरण मान्न सकिन्छ ।
संस्थागत प्रवद्र्धनमा कसरी लिन सकिन्छ ?
राईहरूको एउटा साझा समस्या भाषिक विविधता हुनु हो । त्यस कारणले साझापन खोज्न एउटा सूत्र बनाउनु पर्ने स्थिति छ । जस्तो चाम्लिङका ‘साकेला’ एउटा साझा शब्द बनायौं भने ‘यायोक्खा’ बान्तावाबाट बनायौं । ‘निप्सुङ’ थुलुङबाट बनायौं ।
अब अरू सांस्कृतिक शब्दलाई साझा सिम्बोल बनाउँदा अर्को भाषाबाट बनाउनु पर्छ । एकताको सूत्र त्यहाँ खोज्नु पर्ने भएको छ। नत्र २६ भाषामा एकरूपता खोज्न थाल्यौं भने ‘चण्डी’मा जानुपर्छ । चण्डीमात्र साझा हुन्छ । हाम्रै साझापन खोज्नको निमित्त कुनै एउटाको मूलभूत संस्कृति प्रतिनिधित्व गराएर गर्नुपर्छ । र यसको समग्र प्रतिनिधित्व गर्ने÷गराउने संस्था किरात राई यायोक्खामात्रै हो । त्यसको कुनै विकल्प छैन ।
प्रतिक्रिया