काठमाडौं ।
नेपाल–वातावरण, जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा र क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को (यूसीएसएफ) द्वारा ५ वर्ष लगाएर गरिएको अनुसन्धानले नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए तापनि, गर्भपतनका लागि धेरै महिलाहरू अझै पनि बन्चित भएका छन् ।
सेवाबाट बन्चित हुनेमा विशेष गरी गरिब, सीमान्तकृत समुदाय र दुर्गम भौगोलिक क्षेत्रका रहेको कृपाले मंगलवार रिपोर्ट सार्वजनिक गर्दै जानकारी गरायो । अध्ययनले नेपालको कानुनी व्यवस्था र गर्भपतन सेवाको पहुँच बीचको असमानतालाई नीति र सेवामा थप सुधारको आवश्यकता रहेको औंल्याएको छ ।
कृपाका सह–निर्देशक तथा अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. महेश पुरीले भन्नुभयो– ‘नेपालमा विशेषगरी सीमित स्रोत साधन भएका, सीमान्तकृत समुदाय, दुर्गम क्षेत्रमा बस्ने महिलाहरू गर्भपतनसम्बन्धी सेवा तथा अधिकार प्राप्त गर्नबाट बन्चित भएको अध्ययनले देखाएको छ ।’
त्यस्तै गरी, क्यालिफोर्निया विश्वविद्यालयको प्राध्यापक तथा यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. डायना ग्रीन फोस्टरले भन्नुभयो– ‘यो अध्ययन नेपालमा महिलाहरूको गर्भपतन सेवासम्बन्धीको पहुँचबाट हुन सक्ने दीर्घकालीन परिणामहरूको अनुसन्धान गर्ने पहिलो अनुसन्धान हो । यस अध्ययनले सुरक्षित गर्भपतनको पहुँच भएमा महिलाहरू र उनीहरूको बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने तथ्य प्रष्ट रूपमा देखाएको छ ।’
सुरक्षित गर्भपतनको पहुँच समयमा नहुँदा, महिलाहरू असुरक्षित गर्भपतनको कोसिस गर्ने र त्यसबाट हुने स्वास्थ्य जोखिमहरू सामना गर्न बाध्य हुन्छन् । सन् २०१४ मा नेपालमा अनुमानित ३ लाख २३ हजार २ सय गर्भपतन भएका मध्ये ५८ प्रतिशत कानुनी मान्यता नपाएको संस्था तथा व्यक्तिबाट भएको थियो । यसले कानुन र सेवा बीचको अन्तरलाई स्पष्ट रूपमा देखाएको थियो । नयाँ अध्ययनले नेपालमा के कति महिलाहरूले गर्भपतन सेवाबाट बन्चित हुनुपर्दछ, कारणहरू के के हुन् र यसबाट महिलाहरूको स्वास्थ्य तथा बच्चा तथा पछि जन्मिएका बच्चाहरूमा के कस्तो असर पर्दछ भनेर अध्ययन गरेको छ।
यो अध्ययनमा सन् २०१९ अप्रिलदेखि २०२० डिसेम्बरसम्म नेपालका सात प्रदेशमा रहेका सरकारबाट सुरक्षित गर्भपतन गर्नको लागि मान्यता पाएका २२ वटा स्वास्थ्य संस्थामा गर्भपतन सेवा लिन आएका १ हजार ८ सय ४१ जना महिलाहरूलाई समावेश गरेको थियो। पहिलो अन्तर्वार्ता महिलाहरूले गर्भपतन सेवा पाउने वा नपाउने भन्ने थाहा पाउनुभन्दा आगाडि नै गरिएको थियो।
त्यसपछिको अन्तर्वार्ताहरू ६ हप्तापछि महिलालाई भेटेर गरियो र त्यसपछि हरेक ६÷६ महिनामा करिब पाँच वर्षसम्म महिलालाई प्रत्यक्ष रूपमा भेटेर अन्तर्वार्ता गरिएको थियो । यसै गरी, सन् २०२१ मा दुई जिल्लाका चार फार्मेसीहरूलाई पनि यस अध्ययनमा समावेश गरी त्यहाँ गर्भपतन सेवा लिन आएका करिब १ सय ५३ महिलाहरूलाई तीन वर्षसम्म फलोअप अन्तर्वार्ता गरियो ।
प्रतिक्रिया