प्री–एजीएम र शेयरधनीहरुको बारेमा उठ्ने गरेको सवाल

564
Shares

पब्लिक लिमिटेड कम्पनीहरुको वार्षिक साधारणसभाको सिजन शुरु हुँदै छ। त्यसो त केही कम्पनीहरुले लाभांशको घोषणा गरी वार्षिक साधारणसभासमेत गरिसकेका छन्। जब वार्षिक साधारणसभाको सिजन शुरु हुन्छ तब प्री–एजीएमको पनि चर्चा शुरु हुन्छ । वार्षिक साधारणसभा गर्ने केही कम्पनीहरुले साधारणसभामा बोल्ने केही वक्तालाई भत्ता दिने गरेको चर्चा हुन्छ शेयरधनीहरुमाझ। त्यसो त कम्पनीहरुले आफ्नो वार्षिक साधारणसभा गर्नभन्दा पहिले प्री एजीएम गर्ने गरेको जानकारहरु बताउँछन्।

सबै कम्पनीले प्री–एजीएम नगरे पनि धेरैजसो कम्पनीले गर्ने गरेको जानकारहरु बताउँछन्। प्री–एजीएमको नाम गरिने सभाहरुमा वार्षिक साधारणसभामा बोल्ने केही शेयरधनीहरुलाई बोलाएर डिनर खुवाउने र यातायात खर्च भनेर केही रकम दिने गरेको जानकारहरु बताउँछन् भने केही वक्ता शेयरधनीहरुले पनि स्वीकारेका छन् भन्दा पनि फरक नपर्ला । त्यसो त केही कम्पनीहरुले भने प्री–एजीएम नगरे पनि वक्ता शेयरधनीहरुलाई भत्ता दिने गरेको बताउँछन्।

यस्तो चर्चा साधारणसभाहरुमा शेयरधनीहरुबीच चली नै रहेको हुन्छ। त्यसो त साधारणसभाहरुमा थुप्रै सर्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको हुन्छ भने सभामा बोल्ने शेयरधनीहरु सीमित मात्र हुन्छन्। तर पछिल्लो समयमा बोल्नेमा महिला शेयरधनी पनि देखा परिसकेका छन् भने केही नयाँ वक्ताहरु पनि देखा परिरहेका छन्। यसलाई सकारात्मकरुपमा लिनुपर्ने हुन्छ। तर सर्वसाधारण शेयरधनीहरु भने धेरैजसो खाना र खाजामा नै झुम्मिने गरेका हुन्छन्, पाएदेखि खाजा झोलामा समेत राखेर लाने गरेका पनि छन्।

आखिर किन गर्छन् त कम्पनीहरुले प्री–एजीएम ? शेयरधनीहरुबीच चासोको विषय बनेको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीले आर्थिक वर्ष सकेपछि वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । तर कतिपय बैंक तथा वित्त कम्पनीले साधारणसभाभन्दा केही दिनअगाडि प्री–एजीएम गर्ने गरेको सरोकारवालाहरु बताउँछन् । कतिपय प्री–एजीएम गर्ने गरेका कम्पनीहरुको भनाइमा कम्पनी र शेयरधनीहरुबीच अन्तरक्रिया गर्नको लागि गर्ने गरेको पनि भनाइ रहेको छ । तर यस्ता प्री–एजीएमहरुमा साधारणसभामा बोल्ने गरेका केही सीमित वक्ता शेयरधनीलाई मात्र किन बोलाउँछन् त ? अरु इच्छुक शेयरधनीहरुलाई किन बोलाइँदैन त ? प्रश्न छ । कम्पनीहरुको वार्षिक प्रतिवेदनमा भएका केही कमी–कमजोरीको बारेमा विरोध नआओस् भन्नका लागि वक्ता शेयरधनीहरुलाई बोलाई प्री–एजीएम गर्ने गरेको जानकारहरु बताउँछन् । केही वक्ता शेयरधनीहरु स्वयं पनि कम्पनीहरुमा गई बार्गेनिङ गर्ने गरेको पनि चर्चा नभएको होइन । आखिर के हो त वास्तविकता ? के हो त प्री–एजीएम भनेको ? कम्पनीहरुले आफ्नो वार्षिक साधारणसभा गर्नभन्दा पहिले सभाहरुमा बोल्ने केही वक्ता शेयरधनीलाई वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्ने भनेर भेला गरिने कार्यक्रमलाई प्री–एजीएम भनेर भन्ने गरेका छन् । कम्पनीहरुले आफ्नो वार्षिक साधारणसभा गर्नेभन्दा केही दिनअगाडि प्री–एजीएम गर्ने गरिन्छ भनेर सबैजसो साधारणसभामा शेयरधनीहरुमाझ चर्चा हुने गरेको छ । केही कम्पनीले केही शेयरधनीलाई पारवहन खर्च भनेर केही रकमसमेत दिने गर्छन् भनेर सधैँ चर्चा हुने गरेको छ ।

कम्पनीको वार्षिकोत्सव होस् वा अन्य कार्यक्रममा पनि साधारणसभामा बोल्ने गरेका केही शेयरधनीलाई मात्र कम्पनीले बोलाउने गरेको चर्चा हुने गरेको छ । वार्षिक साधारणसभामा नै कम्पनी, कम्पनीको प्रतिवेदन, कम्पनीको कार्यको गतिविधिका बारेमा आ–आफ्ना भनाइ राख्न पाइन्छ भने किन अन्तरक्रियाको बहानामा प्री–एजीएम गरी केही वक्ता शेयरधनीलाई मात्र बोलाउने गरेको होला ? भनेर पनि चर्चा हुने गरेको छ आम शेयरधनीबीच । कतिपय सरोकारवालाको भनाइमा वार्षिक साधारणसभामा के–कस्ता भनाइ राख्ने भन्ने बारेमा छलफल गर्ने गरेको र कम्पनीको तर्फबाट चर्चित वक्ता शेयरधनीलाई कतिपय कम्पनीले नै आफ्नो सभामा बोल्नको लागि बोलाउने गरेको पनि चर्चा नचलेको होइन। यस्तो प्रवृत्तिले कतिपय कम्पनीको साखमा नै असर पर्ने गरेको पनि बताउँछन् सारोकारवालाहरु। यसमा कम्पनीहरुको ध्यान जान जरुरी छ।

कम्पनीहरुको वार्षिक साधारणसभामा कम्पनीको समीक्षा वर्षमा भए÷गरेका काम कारबाही, गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यस्तै साधारणसभामा आगामी वर्र्षमा गर्नुपर्ने भावी योजनाको बारेमा पनि छलफल गर्ने र योजना एवं प्रतिवेदनहरु परित गर्ने काम हुन्छ । समीक्षा वर्षमा भए/गरेका काम, गतिविधिहरुको प्रतिवेदन र प्रस्तावहरु साधारणसभाको बहुमतले पारित भएपछि मात्र लागू हुने प्रावधान रहेको छ। यसका लागि पनि वार्षिक साधारणसभा महत्वपूर्ण हन्ुछ कम्पनी र शेयरधनीहरुका लागि । यस कारणले पनि आर्थिक वर्ष सकिनासाथ कम्पनीहरुले वार्षिक साधारणसभा गर्ने गरेका हुन्छन्।
अधिकांश वार्षिक साधारणसभामा कम्पनीहरुले पेस गर्ने गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने काम हुन्छ। यस्ता छलफलमा टाठाबाठा भनिने केही वक्ता शेयरधनीहरुले बोल्ने गरेका हुन्छन्।

कम्पनीको वार्षिकोत्सव होस् वा अन्य कार्यक्रममा पनि साधारणसभामा बोल्ने गरेका केही शेयरधनीलाई मात्र कम्पनीले बोलाउने गरेको चर्चा हुने गरेको छ । वार्षिक साधारणसभामा नै कम्पनी, कम्पनीको प्रतिवेदन, कम्पनीको कार्यको गतिविधिका बारेमा आ–आफ्ना भनाइ राख्न पाइन्छ भने किन अन्तरक्रियाको बहानामा प्री–एजीएम गरी केही वक्ता शेयरधनीलाई मात्र बोलाउने गरेको होला ?

अधिकांश शेयरधनीको भनाइमा सबैजसो साधारणसभामा बोल्ने गरेका अनुहारहरु एउटै हुने गरेको बताउँछन्। किन नयाँ–नयाँ अनुहारहरु देखा पर्दैनन् भनेर पनि चर्चा हुने गरेको छ। सभामा उपस्थित शेयरधनीहरु यिनीहरुको भाषण मात्रै सुन्ने गरेको बताउँछन् । कतिपय शेयरधनीको भनाइमा नयाँ–नयाँ शेयरधनीले पनि बोल्नुपर्ने हो । कतिपय शेयरधनीको भनाइमा साधारणसभामा बोल्ने गरेका शेयरधनीले समग्र शेयरधनीको प्रतिनिधिको रुपमा हुने गरेको कारणले बोल्नभन्दा पहिले साधारणसभामा उपस्थित आम शेयरधनीसँग छलफल गरेर मात्र बोल्नुपर्ने हो तर यस्तो गरेको पाइँदैन। साधारणसभामा उपस्थित शेयरधनीहरुसँग छलफल नगरी, शेयरधनीहरुका समस्यालाई पहिचान नगरी सीमित शेयरधनीले आफ्नो योजनाअनुसार बोल्ने गरेको बताउँछन् प्रायः शेयरधनीहरु। यस कारणले पनि वार्षिक साधारणसभामा शेयरधनीहरुसँग कम्पनीको बारेमा अन्तरक्रिया गरिनुपर्ने बताउँछन् अधिकांश शेयरधनीहरु।

चर्चामा रहेका प्री–एजीएममा आर्थिक लेनदेन पनि हुने भएकोले होला शायद साधारणसभामा बोल्नेहरुको ताँती नै लाग्ने गरेको हो कि ! त्यसो त वृद्धभत्ता पाकिसकेकाहरुले समेत साधारणसभामा बोल्नको लागि मात्र भए पनि पाउकष्ट गर्ने गरेको हो कि ? वृद्धभत्ता पाकिसकेकाहरुले बोल्न नहुने भन्ने पनि छैन । त्यस्तै एकै दिन धेरै साधारणसभा भए आफूले भ्याउनेसम्ममा हस्याङफस्याङ गरी आफ्नो गाडीभाडा खर्च गरेरसमेत पुगेका हुन्छन् भनेर पनि चर्चा हुने गरेको छ।

त्यसो त हाम्रोमा एउटा उखान पनि छ– हावा नआई पात हल्लिँदैन भनेर । तर पनि कतिपय सारोकारवाला यस्तो हल्ला गरी केही कम्पनी र वक्ता शेयरधनीहरुलाई बदनाम गर्न खोजिएको त होइन ? पनि भन्ने गर्छन् । कम्पनीहरुले पनि आफ्नो साखमा असर हुने काम, गतिविधि गर्न नहुने आम शेयरधनीको भनाइ रहेको छ । यसमा स्वयं कम्पनीहरुले नै विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
साधारणसभामा भाग लिने शेयरधनीहरुको राम्रै जमघट हुन्छ तर यिनीहरुमा एकताचाहिँ नभएकै हो । अधिकांश शेयरधनीले कम्पनीले पेस गर्ने गरेका विषय, प्रस्ताव, प्रतिवेदनमा ध्यान दिने गरेको देखिँदैन । खाली खाना र खाजामा झुम्मिने गरेको, पाएदेखि खाजा झोलामा राखेरसमेत लैजाने गरेको पाइन्छ । छलफलमा नबस्ने कारणले सभा केही सीमित शेयरधनीहरुको नियन्त्रणमा रहने हुँदा कम्पनीले राखेका प्रस्तावहरु सजिलै पारित हुने गरेको देखिन्छ ।