नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट काठमाडौंमा सम्पन्न ‘फोरम अफ् इथिकल रिभ्यू कमिटी इन् दी एसिया एन्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)’ को युवा लक्षित २४औँ शिखर सम्मेलन नेपालमा पहिलोपटक हुनु देशकै लागि गौरवको कुरा हो । स्वास्थ्य क्षेत्रको भविष्यका लागि सोचेर अनुसन्धान कार्य गर्न प्रोत्साहित गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन सत्रमा मञ्चमै बोल्नु सकारात्मक पक्ष हो । उहाँले विश्वका २३ वटा मुलुकका वैज्ञानिकहरुको सम्मेलनले दीर्घकालीन नीति बनाउन ठोस निष्कर्ष निक्लियोस् भनी शुभकामना दिनुभएको छ । स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानले उत्तरदायित्वसहित उपलब्धि हुने विश्वास लिनु स्वाभाविक पनि हो ।
नेपालमा भएका यस्ता अनुसन्धानले अन्तर्राष्ट्रिय मान्यता पाइरहेको र फरक्यापले पनि मान्यता पाउँछ । यस्ता अनुसन्धानले थप उपलब्धि हुनेछ । यस्ता सम्मेलन र अनुसन्धानको निष्कर्ष आदानप्रदानले स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न सरकार सधैँ तयार हुनुपर्छ। यस्तो सम्मेलन नेपालमा हुनु स्वागतयोग्य र उपलब्धिमूलक हो । नेपालमा यही मंसिर ९ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालले स्वास्थ्य सुधारका लागि सिक्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । यस्ता सम्मेलन र त्यसबाट निस्कने निष्कर्ष राज्यका लागि स्वास्थ्य नीति बनाउन महत्वपूर्ण हुने गर्दछ । यसका साथै स्वास्थ्य अनुसन्धानका क्षेत्रमा कार्यरत निकायका लागि महत्वपूर्ण थलोका रुपमा उपयोग गर्न यस्तो सम्मेलनले भूमिका खेल्नेछ ।
अनुसन्धान ज्ञान प्राप्त गर्ने कार्य मात्रै नभएर मानवजीवनलाई गर्ने आदर पनि हो । अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्छ । यस खालको सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रको सुधारका लागि केही न केही उपलब्धिमूलक निष्कर्ष निकाल्नेछ । सम्मेलनले निकालेको निष्कर्षलाई नेपाल सरकारले नीति निर्माण तहमा विज्ञहरु राखी घनिभूत छलफल गराएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जाहेर गरोस् । उत्तरदायी अनुसन्धानले समाजलाई फाइदा हुने हुनाले अनुसन्धान गर्दा कसैप्रति पूर्वाग्रही हुन नहुने र सीमान्तकृत समुदायलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने सवाल सम्मेलनको छलफलमा निस्किएको छ । यस्ता गम्भीर विषयलाई फरक्यापले जोड दिँदै जाओस् । नेपाल सरकारले पनि नेपालमा यस्ता खाले सम्मेलन गर्न, अन्य मुलुकबाट स्वदेशी युवा चिकित्सक, स्वास्थ्यकर्मीलगायतले सिक्ने अवसर जुटाउन र कार्यान्वयनका क्षेत्रमा नीतिगतरुपमा लागू गर्न प्रतिबद्धता जनाओस्।
यो सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रका आवश्यकतालाई परिपूर्ति गर्न सकोस्। नेपालमा फरक्यापको सम्मेलन गर्न पाउनु नेपालकै लागि गौरवको विषय हो । नेपालमा विगतमा पनि अनुसन्धानका नतिजाका आधारमा गरिएका सुधारबाट स्वास्थ्य उपलब्धि भएका छन् र थप उपलब्धि हासिल गर्न पाउनुलाई राम्रो अवसरको रुपमा लिनुपर्छ । विगतमा भएका अध्ययन–अनुसन्धानले नेपालमा मातृशिशु मृत्युदर घटाउनमा महत्वपूर्ण भूमिका खेलेको छ। अब नसर्ने रोगको नियन्त्रण र न्यूनीकरण गर्नेतर्फ पनि सरकारको ध्यान पुग्नु जरुरी छ।
नेपालमा खाद्यमा हुने मिसावट, औषधिको गुणस्तरीयतामा हुने कमी, अनुगमन तथा मूल्यांकनको खाँचो छ। नेपालमा भएको यो सम्मेलनमा २३ वटा मुलुकको प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागिता हुनु प्रविधिको उपलब्धि हो। यस सम्मेलनमा नेपाललगायत विश्वका ९० भन्दा बढी कार्यपत्र प्रस्तुत गरियो । यो सम्मेलनको निष्कर्ष नेपालको स्वास्थ्य सुधारका लागि नीति निर्माण गर्न महत्वपूर्ण साबित हुनेछ। यसतर्फ सरकारको समयमै ध्यान पुगोस्।
प्रतिक्रिया