पुस्तक चर्चा: महाकाव्यमा दौडिँदै प्रसाईं, भित्र्याउँदै आधुनिकता

188
Shares

लेखनका हिसाबले पाँचवटा महाकाव्य लेखिसकेका कवि कृष्ण प्रसाईंका तीनवटा महाकाव्य प्रकाशित छन्। विजयवती (२०७९), प्रतिविम्ब (२०८०) र सत्यवती (२०८१) प्रकाशित छन् भने नौली र नैनशोभा पाण्डुलिपिमा सीमित छन्। महाकाव्य भन्नेबित्तिकै नेपाली साहित्यका पाठक तथा सर्जकहरूले आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि भरतराज पन्तलगायतका कविहरूलाई सम्झने गर्दछन्। तर पछिल्ला चार दशकमा दर्जनौँ कविहरूका महाकाव्य पाठकमाझ आएका छन्।

महाकाव्यहरू पढ्दै गर्दा विगतदेखि नै यसका संरचनागत स्वरूपअन्तर्गत पद्य र गद्य दुवैमा लेखिएका देखिन्छन्। तथापि अधिकांश सर्जक एवम् कविहरूले महाकाव्यका रूपाकार कृतिहरूमा पद्यलाई नै जोड दिएको पाइन्छ। उसो त गद्य संचरनामा लेखिएका महाकाव्य पनि विश्वविद्यालय स्तरमा पढाइ भइरहेकै छन्। यद्यपि संरचनागतरूपले हेर्दा गद्यभन्दा पद्यलाई जोड दिएको इतिहास छ।

लेखनका हिसाबले नेपाली साहित्यमा सयौँ महाकाव्यहरू भित्रिए तापनि पाठकका मनमा विरलै काव्यले स्थान पाएको देखिन्छ । विशेषतः नेपाली साहित्यका अग्रणी पुस्ताका साहित्यकारबाहेकका महाकाव्यलाई हेर्ने हो भने एकाधलाई छाडेर अरूका महाकाव्य त्यति धेरै लोकप्रिय बनेको दृष्टान्त न्यून मात्रामा छ। विषयवस्तुका हिसाबले पछिल्ला समयका केही महाकाव्यहरू अब्बल साबित भए तापनि भाषिक रसमा अग्रणी पुस्ताका कृति समानका रचना नभएको कुरामा नेपाली साहित्यका समालोचकहरूको एकमत छ। हालसम्म नेपाली साहित्यका महाकाव्यहरूको विषयवस्तु हेर्ने हो भने करिब ८० प्रतिशतभन्दा बढी काव्यकृति इतिहाससँग सम्बन्धित छन् । कवि प्रसाईंका पाँचवटै महाकाव्यमा ऐतिहासिक विषयवस्तु समेटिएको छ।

भाषा तोडमोड नगरिएको एउटा पनि काव्य नभेटिने वर्तमान स्थितिमा पाँच–पाँचवटा महाकाव्यहरू शाब्दिकरूपमा गुणस्तरीय आउनुले नेपाली महाकाव्य क्षेत्रको शब्द चयनलाई सुधार गर्ने उत्तरआधुनिक प्रयासको शुरूवात गरिएको छ। अब अन्य कविहरूले पनि महाकाव्य लेख्दा शब्दचयनको गुणस्तरीयता प्रसाईंका महाकाव्यबाट पनि लिन सक्नेछन्।

प्रसाईंको पहिलो महाकाव्य विजयवती नेपालका प्रथम प्रामाणिक राजा मानदेवकी छोरीका नाममा लेखिएको छ। राजा मानदेवकी छोरी राजकुमारी विजयवतीका पाशुपतक्षेत्रलगायतका स्थानहरूमा प्रमाणित शिलालेखहरू छन्। उनी नेपालको पहिलो घोडा चढ्ने महिला हुन् । घोडामा चढेर नगरीको परिभ्रमण गर्दै हुकुमी शासनको कासन फलाक्न सक्ने विजयवतीलाई साहसी नारीका रूपमा लिइन्छ । राजकुमारी विजयवती कसरी स्वयं विभूषित भइन् ? उनका कर्महरूले त्यस बखत उनलाई लोकलोकमा कसरी परिचित गरायो ? त्यस समयमा काठमाडौँ नगरीका महिलाको दैनिकी जीवनयापन कसरी बित्थ्यो र अन्य महिला तथा राजपरिवारका सदस्यभन्दा राजकुमारीको स्वभाव कत्तिको फरक थियो ? समग्रतामा हेर्दा विजयवतीलाई रत्नका रूपमा लिइनुपर्ने विरासत के छ ? यी यावत् विषयहरूको सरलीकृत जवाफ विजयवती महाकाव्यमा भेटिन्छ । यसर्थ विजयवती एउटा ऐतिहासिक महाकाव्य हो ।

यस्तै कवि प्रसाईंको दोस्रो महाकाव्य हो प्रतिविम्ब । प्रतिविम्ब ऋषि आत्मदेवकी धर्मपत्नी धुन्धुली र छोरा धुन्धुकारी तथा गोकर्णका जीवन लीलाका विषयमा लेखिएको छ । यस महाकाव्यको रोचक प्रसङ्ग के छ भने, यसमा निकै छोटा छन्दहरूको प्रयोग गरिएको छ । आकारका हिसाबले महाकाव्यभन्दा बृहत्तर खण्डकाव्यका रूपमा देखिन्छ । तर विषयसन्दर्भको विश्लेषण, सर्ग उपलब्धता, भावविधान, गुणविधानलगायतका पक्षहरूलाई केलाउँदा महाकाव्य भन्दा फरक नपर्ला ।

प्रकाशित तेस्रो महाकाव्य हो– सत्यवती । सत्यवतीको कथाबारे जानकार नहुने विरलै भेटिन्छन् । सत्यवती, उहीँ महाभारतकी पात्र । दासराजकी सुपुत्रीका रूपमा देखा परेकी सत्यवतीको पुरानो नाम मत्स्यगन्धा हो । विद्वान् ऋषि पराशर र मत्स्यगन्धाका संसर्गबाट ऋषि वेदव्यासको जन्म भएको मानिन्छ। ऋषि पराशरले मत्स्यगन्धालाई सत्यवती अर्थात् उनका शरीरमा रहेको माछाको गन्धलाई वासनामा परिणत हुने वरदान दिएका थिए। पछि गएर तिनै सत्यवतीको विवाह हस्तिनापुर राजा सन्तनुसँग हुन्छ । राजा सन्तनुको यसभन्दा अघि नै देवी गङ्गासँग विवाह भएको थियो। देवी गङ्गाले राजा सन्तनुका सातवटा पुत्रलाई नदीमा बगाएकी थिइन्।

आठौँ पुत्रका रूपमा देवव्रतको जन्म भएको हो। कालान्तरमा गएर तिनै देवव्रतको नाम भीष्म पितामह रहन गयो । सत्यवतीबाट राजा सन्तनुका चित्राङ्गद र विचित्रवीर्य नामका दुईवटा छोरा जन्मिएका थिए। गन्धर्वहरूसँगको लडाइँमा चित्राङ्गदको मृत्यु भयो। पछि गएर कौरव र पाण्डव बनेका जति सबै सन्ततिहरू माता सत्यवतीका सन्तान थिए। सत्यवतीका जीवनमा कहालीलाग्दा अनेकन् घटनाहरू घटिरहे । उनै सत्यवतीका जीवनमा आधारित वास्तविक एवम् काल्पनिक विषयवस्तुको नवीन लेखनबाट सत्यवती महाकाव्य सिर्जना गरिएको छ ।

प्रसाईंको अर्को पाण्डुलिपिमा रहेको महाकाव्य हो– नैनशोभा । नैनशोभा राणाकालीन समयमा तिब्बतमा बेचिएकी एक नेपाली युवतीको जीवनकथामा आधारित छ । नैनशोभाको जीवनकथा पढ्दा जो कोहीका आँखाहरू वर्षिन्छन्। त्यो कारूणिक दृश्यलाई सम्झँदामात्र आङ सिरिङ–सिरिङ हुन्छ । नैनशोभाले नेपाली समाजको तत्कालीन परिवेश, सामाजिक सोच र परम्परा, नेपाल र तिब्बतबीचको राजनीतिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई समेत सम्बोधन गरेको छ।

प्रसाईंको पाँचौँ महाकाव्य नौली हो । यो पनि पाण्डुलिपिमै सीमित रहेको छ । प्रस्तुत चारवटा महाकाव्यभन्दा यो महाकाव्यको विषयवस्तु अलिक भिन्न र नवीन छ । समयगत आधारमा हेर्दा पनि यो महाकाव्य नेपालको लोकतान्त्रिक व्यवस्थापछिको छ । यसमा सामाजिक गुणलाई प्रधानता दिइएको छ । प्रमुखरूपमा अन्तरजातीय प्रेम तथा विवाह र सांस्कृतिक चिन्तनलाई नजिकबाट नियालिएको छ । साथै यस महाकाव्यमा नेपाली समाजले भोगेको दर्दनाक युद्ध माओवादी सशस्त्र संघर्षलाई समेत लेखिएको छ ।

प्रस्तुत महाकाव्यहरूका आधारमा हेर्दा कवि कृष्ण प्रसाईं सामाजिक यथार्थवादी धारामै सीमित छन् । नेपाली महाकाव्य परम्पराका प्रतिमानका आधारमा यसको गणितीय पद्धतिलाई नियाल्दा पाँचवटा तत्वलाई आधार मान्ने हो भने प्रसाईंको महाकाव्य लेखन औसत रहेको देखिन्छ। अध्याययोजना, भावविधान, आख्यानीकरण, लयशैली र भाषिकशिल्प गरी पाँचवटा तत्वहरूमध्ये तीनवटामा धनात्मकता छ भने दुईवटामा ऋणात्मक परिणाम फेला पर्दछ । जस्तै– उनका प्रत्येक महाकाव्यमा अध्याययोजना उपयुक्त दृश्यमा गएर भएको देखिन्छ। आख्यानीकरण औसत रहेको छ । लयशैलीमा उनले नौलोपन अर्थात् आफ्नोपन ल्याउने सकारात्मक प्रयास गरेका छन्।

प्रतिविम्ब महाकाव्यमा उनले परम्परागत प्रयोगभन्दा नौलो किसिमको लयशैली समातेका छन् । भावविधान धनात्मक छ तर भाषिक शिल्पमा आफूलाई मजबुत बनाउने उद्देश्यका साथ अगाडि बढेका उनले थुप्रै नयाँ शब्द संयोजन गरी भाषिक असामञ्जस्यता कायम गरेको देखिन आउँछ । औसतका हिसाबले महाकाव्यका अंकगणितीय नियमलाई आत्मसात् गर्दा प्रसाईंको महाकाव्य लेखन औसत नै देखिन्छ । तथापि विषयवस्तुको चयन, काव्यिक चिन्तन र चित्रणलगायतका पाठकीय आयामलाई नजिकबाट नियाल्दा उनको लेखन नेपाली महाकाव्य क्षेत्रका लागि आवश्यक छ । यद्यपि सूक्तिमय श्लोकहरूको अभाव उनका महाकाव्यमा जरुर खड्किन्छ । भाषिक शिल्प, आख्यानीकरण तथा सूक्तिमय उपदेशात्मक श्लोकहरू बढाउँदै जाने हो भने उनको लेखन पाठकीय जिब्रोमा झुन्डिन सक्छ ।

यी केही कमजोरी हुँदाहुँदै पनि प्रसाईंका महाकाव्यले नेपाली साहित्यको महाकाव्यिक भण्डारगृहमा आफ्नो गर्विलो उपस्थिति मात्र जनाएका छैनन् । नेपाली महाकाव्यका केही अधुरा आयामहरूलाई पूर्ण गराइदिएका छन् । उनका महाकाव्यहरूमा बरू शाब्दिक असहजता देखिएला तर अशुद्धता रत्तिभर भेटिँदैन । नेपाली महाकाव्यमा प्रयोग हुँदै आएको पारम्परिक भाषा तोडमोड गर्ने प्रवृत्तिलाई उनले ख्याल राखेका छन्। उनले आफू अनुकूल शब्द मोड्ने तथा तोड्ने कार्य गरेका छैनन् । बरू उनले महाकाव्यका आवश्यकता अनुकूलन नयाँ शब्द निर्माणको सफल चेष्टा गरेका छन्। उनले थुप्रै स्थानमा समासको प्रयोग गर्दै नयाँ–नयाँ शब्द निर्माणको जटिल कार्य पनि महाकाव्यमै गरेका छन्। यसबाट प्रस्ट हुन्छ कि प्रसाईंका महाकाव्यमा मानक शब्दहरूको वर्चश्व छ । भाषिक शिल्पको कमजोर पक्षलाई शब्दचयन तथा निर्माणले छोप्न खोजिएको छ।

सामाजिक यथार्थवादी धारमै रहेर परिष्कृत भाषाशैली तथा शिल्पको प्रयोग गर्ने चेष्टा कविले नगरेका होइनन् । यस पक्षमा कति सफल कति असफल त्यो समालोचकहरूले विश्लेषण गर्ने नै छन् । एउटा कुरा केचाहिँ भन्न सकिन्छ भने भाषा तोडमोड नगरिएको एउटा पनि काव्य नभेटिने वर्तमान स्थितिमा पाँच–पाँचवटा महाकाव्यहरू शाब्दिकरूपमा गुणस्तरीय आउनुले नेपाली महाकाव्य क्षेत्रको शब्द चयनलाई सुधार गर्ने उत्तरआधुनिक प्रयासको शुरूवात गरिएको छ।

अब अन्य कविहरूले पनि महाकाव्य लेख्दा शब्दचयनको गुणस्तरीयता प्रसाईंका महाकाव्यबाट पनि लिन सक्नेछन्। सर्वपक्षलाई नियाल्दा औसत देखिने प्रसाईंका महाकाव्यहरूमा इतिहास लेखिएको होइन बरू यी महाकाव्यहरूले इतिहासलाई लेखेका हुन् । यसर्थ के बुझ्न सकिन्छ भने कृष्ण प्रसाईंका महाकाव्यहरू ऐतिहासिक छन् । महाकाव्यका विषय चयन प्राचीन भए तापनि उनी आधुनिकता भित्र्याउने काव्यिक बाटोमा सचेतन भएर मस्तिष्कले शब्दका माध्यमबाट दौडिरहेका छन् ।