काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा एमालेबीच अहिले जरिबानाको विषयलाई लिएर चर्काचर्की परेको छ। मंसिर ७ गते दरबारमार्गमा आयोजित जागरणसभा आयोजनापछि फोहोर गरेको भन्दै एक लाख जरिबाना गरेपछि दुई पक्षबीच अहिले तर्क–वितर्क शुरु भएको छ।
नेकपा एमालेले जागरणसभापछि त्यहाँ फालिएका फोहोर नउठाएको भन्दै जरिबानास्वरुप एक लाखको चिट पठाएपछि दुई संस्थाका समर्थकबीच चलेको जुहारी उदेक लाग्दो देखिन्छ। एमालेले जागरणसभापछि त्यहाँ जम्मा भएको फोहोर थुपारेर फोहोर उठाइदिन काठमाडौँ महानगरपालिकाको सवारीसाधन पठाइदिन पटक–पटक अनुरोध गरेको तर फोहोरको गाडी नआएको दाबी गरेको छ भने काठमाडौँ महानगरपालिकाका मेयर साहले भने जरिबाना जसरी पनि तिर्नुपर्ने भन्दै महानगर प्रहरी बललाई जरिबानाको रसिद लिएर एमाले केन्द्रीय कार्यालय पठाएपछि अहिले दुवै निकायबीचको सम्बन्धमा दरार पैदा भएको छ।
एमाले र मेयर साहबीच लामो समयदेखि टकराव चल्दै आएको छ । एमालेविरुद्ध खुलेर लागेका मेयर साहको पछिल्लो कदमपछि सो पार्टी पनि क्रुद्ध भएको छ । पटक–पटक जरिबाना रसिद बुझाउन गएको महानगरको टोलीलाई एमाले केन्द्रीय कार्यालयले फिर्ता पठाएपछि अहिले महानगरले उक्त जरिबानाको रसिद हुलाकमार्फत पठाएको छ।
यसरी हेर्दा मेयर साह र एमालेबीचको द्वन्द्व चरमोत्कर्षमा पुग्नु पक्कै पनि राम्रो होइन । यदि एमालेले दावी गरेजस्तै संकलित फोहोर उठाइदिन महानगरपालिकालाई अनुरोध गर्दा बेवास्ता गरेर जरिबाना पठाएको हो भने मेयर साहको मूर्खपनबाहेक केही होइन तर फोहोर नै नउठाई एमालेका कार्यकर्ता हिँडेका हुन् भने मेयरले चालेको कदमलाई सही मान्नुपर्छ । दलीय व्यवस्थामाथि नै अनास्था फैलाउने काममा बालेन र उनको टिम लागेको भन्ने आरोप लाग्दै आएको बेला एमालेमाथि बालेनले चलाएको जरिबानाको डन्डालाई पनि शंकाको दृष्टिले हेर्नुपर्ने देखिन्छ ।
मुलुकमा केही नभएको र आफूहरुले मात्रै केही गर्ने भन्ने लहडमा मेयर साहले चलाएको स्याल हुइयाँले मात्रै मुलुकमा परिवर्तन हुने देखिँदैन । त्यसैले मुलुकको विकास गर्ने हो भने कोही कसैमाथि आरोप वा प्रत्यारोप केही नलगाई गर्न सकिन्छ । मुलुकको सद्भाव नै बिगार्ने किसिमले जसरी काम गर्न खोजिएको छ यसले पक्कै पनि कसैको हित गर्ने देखिँदैन । देश टुक्रिएर होइन, एक भएर बनाउन सकिन्छ भन्ने हेक्का सबैले राख्नुपर्ने देखिन्छ।
अहिले दल–दलबीच देखिएको द्वन्द्व, स्वतन्त्र हौँ भन्नेहरुले देखाएको रबैयाले देश बन्छ भन्नु दिवास्वप्ना मात्रै हो भन्दा फरक नपर्ला। त्यसैले कसैले पनि कोहीप्रति वैरभाव नराखी निषेधको राजनीति त्यागेर अघि बढ्न सके मात्रै मुलुकले काँचुली फेर्ला, होइन भने मुलुकको अवस्थामा परिवर्तन आउला भनेर कल्पना गर्न सकिँदैन। फुटेर होइन, जुटेर अघि बढ्दा नै जनतालाई पनि फाइदा पुग्ला। यसतर्फ ध्यान दिन जरुरी छ।
प्रतिक्रिया