बहिनी बलात्कार गर्ने दाजुलाई ११ वर्ष कैद

5.45k
Shares

धादिङ ।

बहिनी बलात्कार गरेको कसुरमा  सहोदर दाजुलाई जिल्ला अदालत धादिङले मंगलबार ११ वर्ष कैद गर्ने फैसला गरेको छ ।

२५ वर्षीया बहिनीलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० असार ३ गते बलात्कार गरेको कसुरमा ३९ वर्षीय दाजुलाई जिल्ला अदालतले हाडनाता करणी मुद्दामा ११ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

जिल्ला न्यायाधीश  गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदार ठहरिएका दाजुलाई जबरजस्ती करणी गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा ३१९ को ३ (ङ) बमोजिम ७ वर्ष र हाडनातामा बहिनी बलात्कार गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २२० को २ (ख) बमोजिम ४ वर्ष गरी  ११ वर्ष कैद गर्ने फैसला गरेका छन्  । कसुरदारबाट ३ लाख ४० हजार जरिवाना गर्ने र सो जरिवाना गरिएको रकम पीडितलाई क्षतिपूर्ति दिन समेत फैसला भएको छ । पीडितको धादिङ अस्पतालमा माघ २२ गते स्वास्थ्य परीक्षण भएको थियो ।

पीडितले ०८० माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि कसुरदार सोही दिन गिरफ्तार गरी  हिरासतमा लिएकोमा जिल्ला अदालतमा फागुन १५ गते मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतको फागुन १८ गतेको आदेशले कसुरदार पुर्पक्षका लागि थुनामा थिए ।