कल्पदेखि कल्पतक-३

376
Shares

मेरो बुबाले नेपाली एघार पास गरेकाले छोरा÷छोरीहरुलाई निःशुल्क पढाइदिने गर्नुहुन्थ्यो। कसै–कसैका आमाबाबु ‘पढेर के पाइन्छ ? खेतमा गए खान पाइन्छ’ भन्दै खेततर्फ धकेल्ने गर्दथे । यस्तै माहौल र सत्संगमा हुर्किएकाले हाम्रो स्वभाव र आनीबानीमा केही नकारात्मक छाप र प्रभाव पर्नु नौलो भएन।

केही शिक्षित व्यक्तिहरू ज्यापुहरूतर्फ अङ्कित गर्दै ‘ज्यापुको बुद्धि लँगौटीमा’ भन्दै खेदो र जिस्क्याउने पनि गर्नुहुन्थ्यो । वर्तमान १२ वडाध्यक्ष बालकृष्ण महर्जनलाई पनि म ‘गुरुबा ढोगूँ’ ‘होइन बरु’ बालभाइ नमस्कार’ भन्न लाउने भनी बारम्बार ठट्टा, रमाइलो र हौसलाको पारामा भन्ने गर्दथेँ ! जे होस्, बाल्यावस्थादेखि हुर्कंदै हाल ८० मा प्रवेश गर्दासम्ममा वडाको विकासप्रति सन्तोष लाग्नु स्वाभाविकै हो ।

मेरो विवाहताका देखिने गरेको श्रीमान्श्री/मती, पति/पत्नीको माया–प्रीति, आदर/सत्कार, मान/सम्मान, काम/धन्दा, परम्परा आदिमा समेत निकै फेरफार, फेरबदल, परिवर्तन आई सुधार भएको देखिन्छ । त्यति बेला आफूभन्दा ठूलाबडा, जेठोलाई अनजानवश ठोकेमा, कुल्चेमा, नाघेमा बोलिने शिव/शिव, राम/राम, बिराएँ/बिराएँ भन्ने शब्द सुन्न त मठमन्दिर धाउनुपर्ने जस्तो छ। अनि ठाडो भर्‍याङमुनिबाट श्रीमान् माथि चढ्दै गर्दा श्रीमती उही भर्‍याङमाथिबाट तल ओर्लिंदै गरेको संयोग (भवितव्य) भएमा ‘तपाईंलाई नाघेकोमा क्षमा’ भन्दै खुट्टा ढोग्ने चलन त एकादेशको कथाजस्तै भैसकेको छ।

भूलचूक, बिराम भएमा आकलझुकल ‘सरी, प्याडन, एक्सक्युज मी’ बोलीसम्म निस्कन्छ पहिले–पहिले त पत्नीलाई दासीको रूपमा पनि हेरिन्थ्यो होला । नेपालमा वि.सं. १९८१ देखि यो प्रथा कानुनीरुपले खारेज भएको छ । यसलाई सुधारमूलक तथा उपलब्धिमूलक नै मान्नुपर्छ ।

मैले २०२१ सालतिर शेर गण (बटालियन) भैरहवामा हु.क. पदमा रही जागिर खाइरहँदा रेडियो नै ठूलो श्रेणी र स्तरमा गणिन्थ्यो । म नेवार भएको नाताले प्रेमध्वजको नेवारी गीत रेडियोमा बज्दा नेवारी नजान्ने साथीहरूले त्यस्को अर्थ सोध्नुहुन्थ्यो तर आफ्नो पनि बोल्ने बानी छुटेको वर्षौं भैसकेकाले अप्ठ्यारो र अकमक पर्दथ्यो । यति बेला मलाया लाहुरेहरू बिदा लिई घर फर्कन भैरहवा एयरपोर्ट (शान्तिनगर एयरपोर्ट) मा ट्रान्जिस्टर भिरी आउने गर्नुहुन्थ्यो । अनि कतिपय एयरपोर्टमै कामवती, रूपवती सुन्दरीहरूको जालो र पासोमा परी आमोदप्रमोद र रसरङमै सबै पैसा र सामग्रीसमेत सकाई घर नगई मलाया नै फर्किन्थे भन्ने पनि सुनिने गर्दथ्यो । त्यस बेला ट्रान्जिस्टर भन्नाले रेडियोभन्दा ठूलो महत्व र मूल्यवान् साधन हुन्थ्यो । सकी नसकी हामीले घरमा ‘धर्मभक्त वज्राचार्य एन्ड ब्रदर्स’ नामक एक हार्डवेयर पसल खोलेका थियौँ । रेडियो नेपालबाट कहिलेकाहीँ विज्ञापनको रूपमा हाम्रो फर्मको नाम प्रचारप्रसारमा आउँदा प्रफुल्ल भई गर्व र गौरवको अनुभूति हुन्थ्यो ।

वि.सं. २०३२ मा म पद्मोदयमा शिक्षक छँदा घरमा पनि आमाले सानो चुरोट/सुपारीको दुकान खोल्नुभएको थियो । हामीसँग भएको संघाई नामक चाइनिजं रेडियो खोली आमा खोजखबर, गीत सुन्ने गर्नुहुन्थ्यो । एकपटक कसैले उहाँलाई ‘गुरुमा, अब यसरी गीत, खबरमात्र सुन्नुपर्दैन । रेडियोमै प्रत्यक्ष कुराकानी गर्न, गाउन, नाच्न र उभिन आउँछन्/आउँछिन्’ भने छ क्यारे ! त्यो वृत्तान्त मलाई आमाले भन्नुभयो तर पत्यार लागेन । टिभी आउँदा त सत्य साबित भयो ।

बाल्यकालमा साथीको लहलहैमा कोकशास्त्र (यौनजन्य सामग्री) पनि हेरिन्थ्यो लुकिछिपी । अनि कालभैरव र हनुमानढोकाको झन्डै बीचमा अवस्थित मन्दिरमा कुँदिएका कामुक चित्रहरू हेरी आनन्द र सन्तुष्टि लिइन्थ्यो भने यदाकदा प्रोजेक्टरबाट यौनक्रीडा पनि हेरिन्थ्यो । अब विगतलाई धेरै नकोट्याई वर्तमानतर्फ नै लम्कौँ । जीवनको यथार्थ त बाँचुन्जेल मात्रै हो नि !
श्रीमती ज्युँदो छँदा उति वास्ता नहुने यो कलियुगे मोबाइलले उनीको देहान्तपश्चात् पनि पछ्याउन छाडेन । कलियुगले जन्माएको सरसाधनमध्ये अत्यन्त लोकप्रिय, महत्वपूर्ण, सरल, सुविधाजनक, उपयुक्त र उपभोग्य सामानको रूपमा मोबाइललाई चिनिन्छ । जीवनयापनको हरेक पाइला–पाइलामा मोबाइलको प्रयोग भइरहेको हुन्छ। उठ्दा, बस्दा, खाँदा, अध्ययन, खेलकुद, मनोरञ्जन, भोगविलास, खोजखबर, फेसबुक, टिकटक आदि क्षेत्रमा समेत मोबाइलको उपस्थिति खोजिन्छ । बालबच्चा, युवा, अधबैंसे, वृद्धवृद्धा सबैलाई मोबाइलविना हातखुट्टा भाँचेसरह हुन्छ । खानपिन, औषधि सेवन, परामर्श, परीक्षण इत्यादि दैनिक दिनचर्यामा समेत मोबाइलले अहम् भूमिका खेलेको छ । बैंक ट्रान्सफर, खरिद–बिक्री, जग्गाजमिनको बेचबिखनमा पनि यसको प्रयोग भएको पाइन्छ । मानौँ मोबाइलविनाको संसार नै अधुरो देखिन्छ । एक हिसाबले मोबाइलको जन्मदातालाई देवताकै कोटीमा राख्दा पनि आपत्ति नहोलाजस्तो छ।

प्रेमी/प्रेमिका, श्रीमान्श्री/मती, पति/पत्नी, आमा/छोरा, पिता/छोरी, पिता/बुहारी, भाउजू/देवर, साली/भिना, दाइ/बहिनी, दिदी/भाइ, दाइ/बुहारी, आफन्त/पराईसमेत यौनधन्दामा लिप्सिई चाहना र वासना पूरा गरिरहेको दृश्य मोबाइलमा छरपस्ट, छताछुल्ल, छ्याल्लब्याल्ल देखिएकै छ अनि यसको नकारात्मक प्रभाव बाल, तन्नेरी, युवा, अधबैंसे, वृद्धवृद्धासम्म पुग्नु कुनै अनौठो भएन। भरभराउँदो, ढकढकाउँदो, दनदनाउँदो, कामातुर यौवनावस्थामा अटल, अचल, अडिग, स्थिर र धैर्यवान् रहन त सामान्य मानिसको वशमा नभई ज्वालाभित्र होमिन्छ नि ! नग्न, निर्वस्त्र, अश्लील, उत्ताउलो तथा उत्तेजक अवस्थाबाट मुक्ति पाउन त साह्रै नै गाह्रो र मुस्किल हुन्छ । कठोर हृदय, फराकिलो छाती, ब्रह्मचर्यमा अडिग व्यक्तिले मात्र त्यसबाट मुक्ति वा छुटकारा पाउन सक्छन् । प्रख्यात ऋषि विश्वामित्रसमेत यसबाट अछूतो नभएको अवस्थामा हामी जाबो मनुवाको के कुरा ? बरू यस जञ्जालभित्र नफस्नु नै जाती ।

नग्न, निर्वस्त्र, अश्लील, उत्ताउलो तथा उत्तेजक अवस्थाबाट मुक्ति पाउन त साह्रै नै गाह्रो र मुस्किल हुन्छ । कठोर हृदय, फराकिलो छाती, ब्रह्मचर्यमा अडिग व्यक्तिले मात्र त्यसबाट मुक्ति वा छुटकारा पाउन सक्छन् । प्रख्यात ऋषि विश्वामित्रसमेत यसबाट अछूतो नभएको अवस्थामा हामी जाबो मनुवाको के कुरा ? बरू यस जञ्जालभित्र नफस्नु नै जाती ।

अब जन्म र मृत्युबारे पनि केही जान्ने र बुझ्ने जिज्ञासा मनमा उर्लियो । यसतर्फ दृष्टि लगाउँदा पृथ्वी, जल, तेज, वायु र आकाश अर्थात् चराचर जगत्का सम्पूर्ण निर्जीव तथा जीवित प्राणी, पदार्थ, तत्व, अदृश्य तथा दृश्य कीटपतङ्ग आदि यस ब्रह्माण्डकै वरिपरि फैलिएका, छरिएका, यत्रतत्र विचरित रहेका र यिनै तत्वको अमिश्रण, आंशिक मिश्रण वा समिश्रणले गर्दा प्राणीको जन्म भएको हो । जीवत्व भनेको शक्तिकै रूप हो । शक्तिविना प्राणीको जन्म हुन सक्दैन । पृथ्वी, जल, तेज, वायु र आकाश शक्तिकै स्वरूप हुन् । यसलाई पञ्चतत्व र पञ्चमहाभूत पनि भनिन्छ । यिनीहरूकै प्रत्यक्ष वा परोक्ष मिश्रण वा संलग्नतांको कारण जीवको उत्पत्ति वा जन्म हुन्छ । ब्रह्माण्डमा सृजित सम्पूर्ण भक्ष/अभक्ष तत्वका सृष्टिकर्ता वा स्रोत यी पञ्चमहाभूत हुन् । हामीले दिनहुँ खानपिन गर्ने वा गरिने सम्पूर्ण परिकारमा कहीँ न कहीँ, कतै न कतै यी नै पञ्चमहाभूतको योगदान, देन वा कृपादृष्टि रहेको हुन्छ।

हाम्रो देशमा केही वर्षपहिले देखिएको कोरोना रोग पनि एक भाइरल रोग हो भनिन्थ्यो अर्थात् वायु र वातावरणमा घुलिरहने (हावा) हो र शरीरभित्र पसेपछि यो सक्रिय भई रोग लाग्छ । त्यसैले यो हावा शरीरमा नभित्रियोस् भन्ने हेतुले मास्क) लगाउने गरिन्थ्यो । मेरी श्रीमतीको मृत्युको कारण पनि कोरोना नै मानिएको छ । महाभारत युद्धपछि युधिष्ठिरले विदुरको खोजी गर्दै जाँदा जंगलको छेउमा हड्डी र छालामात्र भई जीवित अवस्थामा भेटे रे ! उनले हावाको भरमा प्राण बचाएर राखेका रहेछन् रे ! युधिष्ठिरको उपस्थितिपश्चात् आफ्नो प्राण युधिष्ठिरमा लीन गरी प्राण त्याग गरे रे ! पत्याउनै गाह्रो । तर पढ्दा रमाइलो त लाग्छ नि हैन र ! किनभने युधिष्ठिर पनि विदुरजस्तै धर्मराजकै स्वरूप हुन् ।

हामी पनि कुनै बेला मर्निङ वाक गर्दथ्यौँ । यसरी हिँड्दा थाकेर एकछिन् रोकिई लामो सास तान्दै गर्दा स्फूर्ति बढेको आभास त मैले पाएको छु अर्थात् शरीरभित्र हावाको प्रवेशले त्यो फूर्ति पैदा भएको मलाई लाग्छ ।
(क्रमशः मंगलबार)