गत कात्तिक ३० गते यसै नेपाल समाचारपत्र दैनिकको प्रथम पृष्ठमा प्रकाशित प्रमुख समाचारअनुसार विश्वका प्रमुख १० प्रदूषित शहरहरुको सूचीमा काठमाडौं शहर छैटौं नम्बरमा परेको छ। स्मरण रहोस्, विश्वको सबैभन्दा प्रदूषित अथवा भनौं पहिलो नम्बरमा चाहिँ पाकिस्तानको लाहोर शहर बनेको छ।
उक्त समाचारअनुसार काठमाडौंको वायुको गुणस्तर सूचांक (वायुको गुणस्तर सूचांक– एक्युआई) १७० रहेको देखाइएको छ । खासमा धेरै समयअघिदेखि नै हरेक वर्षजस्तै हाम्रो देश नेपालको केन्द्रीय राजधानी शहर काठमाडौं प्रमुख १० प्रदूषित शहरमा पर्ने गरेको छ। जस्तो कि वि.सं. २०७८ मा पनि विश्वका प्रमुख १० प्रदूषित शहरमध्ये नेपालको केन्द्रीय राजधानी काठमाडौं प्रमुख १० प्रदूषित शहरमा परेको थियो। स्मरण रहोस्, सो वर्ष विश्वकै प्रमुख प्रदूषित शहरचाहिँ सार्क राष्ट्र बंगलादेशको राजधानी शहर ढाका रहेको थियो।
यो वर्ष सन् २०२४ को प्रमुख प्रदूषित १० शहरहरुमा (१) लाहोर– १,११७, पाकिस्तान । (२) दिल्ली–७१८, भारत । (३) ढाका– ६४९, बंगलादेश । (४) कोलकाता– २२९, भारत । (५) वुहान– १७२, चीन । (६) काठमाडौं– १७०, नेपाल । (७) जाकार्ता– इन्डोनेसिया । (८) कराँची– पाकिस्तान । (९) हनोई– भियतनाम । (१०) मुम्बई– भारत रहेका छन् । संयोगले विश्वका प्रमुख प्रदूषित १० शहरहरुमा एसिया महादेशका शहरहरु मात्रै परेका छन् भने भारतका तीन शहर र पाकिस्तानका दुई शहर विश्वकै प्रदूषित १० शहरको सूचीमा परेका छन् । भनिन्छ, वायु प्रदूषणका कारण मुटु, फोक्सो मृगौला, कलेजो, फियोलगात प्रमुख मानव अंगमा नराम्रोसँग असर पर्ने गरेको छ । यसरी अत्यधिक मात्रामा वायु प्रदूषण बढेपछि पाकिस्तान, बंगलादेश र भारत सरकारले त त्यसरी अत्यधिक प्रदूषण भएका शहरहरुमा मानिसहरुलाई अत्यावश्यक काम परेमा वा अत्यावश्यक काम परेकोबाहेकको अवस्थामा बाहिर ननिक्लन र विद्यालय बन्द गर्न आदेश नै जारी गरेका थिए।
वायु प्रदूषणका प्रमुख कारणहरुमा हाल चलिरहेको अनियन्त्रित उद्योगधन्दा, कलकारखाना र औद्योगिक उत्पादन भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि वायु प्रदूषणको प्रमुख कारण मान्ने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कमलाई राम्रो मानिन्छ । त्यस्तै गरेर ५१ देखि १०० सम्मलाई सामान्य मानिन्छ भने २०१ भन्दा माथि अस्वस्थकर हो ।
हुन पनि केही समयअघि वायु प्रदूषणबारे अध्ययन गरेर निकालिएको अर्को अध्ययन प्रतिवेदनअनुसार विश्वभरिका विभिन्न देशमा वायु प्रदूषणकै कारण बर्सेनि ८१ लाख मानिसको मृत्यु हुने गरेको नयाँ तथ्यांक आएको छ । त्यससम्बन्धमा अध्ययनचाहिँ ‘हेल्थ इफेक्ट इन्स्टिच्युट एन्ड मेट्रिक्स इभालुएसन’ नामक संस्थाले गरेको हो। उक्त संस्थाले ‘स्टेट अफ ग्लोबल एयर इन्डेक्स– २०२४’ नाम दिएर पछिल्लो अध्ययन प्रतिवेदन प्रकाशित गरेको हो, केही समयअघि । स्मरण रहोस्, सो अध्ययन प्रतिवेदन ‘हेल्थ इफेक्ट इन्स्टिच्युट एन्ड मेट्रिक्स इभालुएसन’ नामको संस्था एक्लैले गरेको होइन, उसले संयुक्त राष्ट्र संघ मातहत रहेको ‘द युनाइटेड नेसन्स चिल्ड्रेन फन्ड (युनिसेफ)’ सँग मिलेर गरेको थियो। जेसुकै भए तापनि सो अध्ययन प्रतिवेदनअनुसार सन् २०२१ मा मात्रै वायु प्रदूषणका कारण विश्वका विभिन्न देशका ८१ लाख मानिसको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै गरेर सन् २०१९ मा चाहिँ विश्वका ७२ लाख मानिसले वायु प्रदूषणका कारण आफ्नो अमूल्य जीवन गुमाएका थिए।
मानिसले हत्तपत्त नपत्याउने तर वास्तविक कुरो के छ भने, यसरी वायु प्रदूषणका कारण विश्वमा जति पनि मानिस मरिरहेका छन्, तीमध्ये ५८ मानिस पीएम २ अथवा भनौं धूलो र धुवाँमा मिसिने अति सूक्ष्म र स–साना विषाक्त कणका कारण मर्ने गर्छन्। जुन कण माइक्रोस्कोपिक दुरबिनले मात्रै देख्न सकिन्छ। जुन माइक्रोस्कोपिक दुरबिन जताततै हत्तपत्त राख्ने गरिँदैन। अध्ययन प्रतिवेदनले अर्को रोचक पक्ष के उजागर गरेको छ भने, घरभित्रको प्रदूषणको कारण मात्रै विश्वका विभिन्न देशमा बर्सेनि ३८ प्रतिशत मानिस मर्ने गरेको तथ्यांकमा उल्लेख छ। सो तथ्यांकमा जनाइएअनुसार ओजोन तह विनाशका कारणचाहिँ विश्वमा केवल ६ प्रतिशत मानिस मात्रै बर्सेनि मर्ने गरेका रहेछन्। त्यसो त वायु प्रदूषणसँगसँगै हामीलाई जलवायु परिवर्तनका कारणले पनि अनेक प्राकृतिक विपत्तिहरुले गाँज्ने गरेको छ। हुन पनि धेरै पहिलेदेखि नै जलवायु तथा वायु प्रदूषणका सम्बन्धमा काम गर्दै आएका विश्वका इनेगिनेका वैज्ञानिक तथा विज्ञहरुको भनाइलाई अटेर गर्दा (खास गरी विकसित देशका सरकार प्रमुखहरुले) विश्वभरि लगाताररुपमा असामान्य ढंगले जलवायु परिवर्तन हुँदै गएको, वायु प्रदूषण बढ्दै गएको छ।
सोही कारण हरेकजसो वर्षमा विश्वका विभिन्न देशमा अचानक मौसम परिवर्तन हुने, हिमपहिरो आउने, हिमताल फुट्ने, मुसलधारे वर्षा हुने, बेमौसममा अकस्मात् पानी पर्ने, चट्याङ पर्ने, मेघ गर्जने, हावाहुरी चल्ने, बाढी–पहिरो आउने, समुद्री आँधी आउने, पहिरो खस्ने, आगलागी हुने, अकस्मात् दर्के पानी पर्ने, असिना पर्ने, हिमपात हुने, हिमालका हिउँ पग्लने, समुद्रमा पानीको सतह बढ्ने, हावा–हुन्डरी चल्ने क्रम बढ्दै गएको छ।
वायु प्रदूषणका प्रमुख कारणहरुमा हाल चलिरहेको अनियन्त्रित उद्योगधन्दा, कलकारखाना र औद्योगिक उत्पादन भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि वायु प्रदूषणको प्रमुख कारण मान्ने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कमलाई राम्रो मानिन्छ । त्यस्तै गरेर ५१ देखि १०० सम्मलाई सामान्य मानिन्छ भने २०१ भन्दा माथि अस्वस्थकर हो । त्यस्तै गरीकन ३०१ भन्दा माथि घातक हो । यसरी हेर्दा केही वर्षअघि नेपालको शहरी क्षेत्रको जुन–जुन ठाउँमा वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, सबै ठाउँ वायुको गुणस्तर सूचांक (एक्युआई) बढी र अत्यधिक घातक रहेको देखिएको थियो ।
माथि एक प्रसंगमा उल्लेख गरिएझैँ वायु प्रदूषण बढ्नुमा उद्योगधन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भए तापनि नेपाल र नेपालजस्ता अन्य अविकसित एवम् अल्पविकसित देशहरुमा वायु प्रदूषण बढ्नुको प्रमुख कारणचाहिँ ‘२५/३५/४०/४५ वर्ष’ भन्दा पनि पुरानो बस, कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनहरु शहरबजारमा चल्न दिनुलाई पनि एक प्रमुख कारण मान्ने गरिन्छ । अविकसित एवम् अल्पविकसित देशहरुका सरकारले किन ‘२५/३५/४०/४५ वर्ष’ भन्दा पनि पुरानो बस, कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनहरु शहरबजारमा चल्ने अनुमति दिन्छ ? भन्दा करको लोभ (ट्याक्स धेरै लिन पाइने) भएर हो भन्ने आम भनाइ रहेको छ। हुन पनि त्यसरी ‘२५/३५/४०/४५ वर्ष’ भन्दा पनि पुरानो बस, कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटरलगायत सवारीसाधन चलाउनेहरुका अनसुार यस्तो सवारीसाधनमा सरकारले अत्यधिक कर लिइरहेको छ भने कतिपय ट्राफिक प्रहरीले ती सवारीसाधनको लाइसेन्स भए/नभएको र उनीहरुले कर तिरे÷नतिरेको पनि राम्रोसँग हेर्दैनन् । जसले गर्दा त्यस्ता पुराना सवारीसाधनधनीहरुलाई दोहोरो फाइदा भएको छ।
नेपालमा वायु प्रदूषण बढ्नुको अर्को कारणमा युरो मापदण्ड नभएको पेट्रोल, डिजेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धनहरु प्रयोग गर्नु पनि हो । त्यस्तै नेपालका ग्रामीण क्षेत्रका मानिसले भात–भान्सा तयार गर्न काठ–दाउराको प्रयोग गर्ने गर्नु, गोबरको गुइँठा बाल्नु, भुस र फुसलाई पनि इन्धनका रुपमा प्रयोग गर्ने, जानेरै पनि भस्मे–बारी वा वन–जंगलमा डढेलो लगाउनु पनि वायु प्रदूषणको कारण मान्न सकिन्छ।
त्यसो त विगतका वर्षहरुमा विश्वका धेरै देशहरु जस्तै– चीन, अस्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडालगायतका देशमा कैयौँ दिन वा हप्तादिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगाताररुपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदूषण बढाउनका लागि सहायक भूमिका खेलेको देखिन्छ। यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदूषण पनि बढ्दो क्रममा रहेको देखन्छ। त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविदलगायतले जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदूषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन्।
त्यसयता सन् २०२३ मा भएको एसिया महादेशको खाडीक्षेत्रको संयुक्त अरब इमिरेट्सको पर्यटकीय शहर दुबईको एक्स्पो सिटीमा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसीसीसी) जलवायु परिवर्तनका सम्बन्धमा भएको सम्मेलन (कोप २८) सम्म आइपुग्दा धेरै सकारात्मक कुराहरु निर्णय भएका छन् । तर त्यस्ता सयौं निर्णयहरुमध्ये केही मात्रै लागू भएका छन् । अधिकांश जलवायु परिवर्तनसम्बन्धी मुद्दा लामो समयसम्म नसल्टिने खालका छन् । जस्तै– ओजोन तह प्वाल (भ्वाङ) पार्ने प्रमुख तत्वहरु कार्बनडाइअक्साइड कम उत्पादन गर्न, कोइलालगायत फोसिल फ्युल प्रयोगमा कमी ल्याउन वा कम प्रयोग गर्नुपर्ने भन्ने सम्बन्धमा अल्पविकसित तथा विकासशील देशहरु आनाकानी गरिरहेका छन् । त्यस्तै गरेर विकासको चरम सीमामा पुगेका अथवा भनौं सीमा नाघेका अति विकसित तथा औद्योगिक देश (जी ८ भनिने देश) हरुचाहिँ आफूहरुले विगतमा गरेको वायु प्रदूषण र त्यसको असरको क्षतिपूर्ति दिनेसम्बन्धमा एकमत रहेका छैनन्, केही देशले त स्वीकार गर्न नै आनाकानी गरिरहेका छन् ।
फलस्वरुप आज आएर जलवायु परिवर्तनका कारण आइपरेको मानवीय संकट, वातावरण विनाश, हिमनदी पग्लने क्रम र यसले ल्याउने असर जस्तो कि हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा आइपर्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो, डढेलो, आँधी, हुरी, पानी कम पर्ने, पानी नै नपर्ने, पानी सामान्य पर्दापर्दै असिना वर्षा हुने, मुसलधारे पानी पर्ने गरेको छ । त्यसरी हेर्दाखेरि जलवायु परिवर्तनकै कारण अकस्मात् आउने विपत्तिका लागि कसले जिम्मेवारी लिने ? यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा अझै पनि विश्वका अविकसित, अल्पविकसित, विकासशील र विकासको चरम सीमामा पुगेका अथवा भनौं सीमा नाघेका अति विकसित तथा औद्योगिक देश (जी ८ भनिने देश) हरुबीच मतैक्य हुन सकेको छैन ।
प्रतिक्रिया