लोकतन्त्रको पूर्ण अनुभूति दिलाऊ


कुनै पनि लोकतान्त्रिक मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्छ । तर विडम्बना, लोकतान्त्रिक मुलक नेपालबाट उच्च शिक्षाका लागि लाखौँ विद्यार्थी बाहिरिएका छन्। यो क्रम बढ्दो छ। त्यस्तै आज ४० लाख बढी युवायुवतीले विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनुपरेको छ। यसरी देशको मेरुदण्ड मानिने युवाहरुप्रति राज्य उदासीन बन्नु लज्जास्पद विषय हो।

देश चलाउने मुख्य मेरुदण्डका रुपमा रहेका युवाशक्तिलाई स्वदेशमा रोजगारी सृजना गर्नुको सट्टा रेमिट्यान्सबाट देश चलाउने घृणित नीति अवलम्बन गर्नु कत्तिको श्रेयष्कर होला ? सबैले मनन गर्ने कुरा हो। यहाँ सरकारमा रहने नेताहरुलाई कसरी सत्तामा रहिरहने भन्ने चिन्ता छ भने सरकारबाहिर रहेका अन्य नेतालाई कसरी हुन्छ सरकार ढलाएर आफू सत्तामा जाने खेल खेल्दै ठिक्क छ।

स्वास्थ्योपचारको कुरा गर्दा, केही वर्षयतादेखि सरकारले स्वास्थ्य बिमा लागू गरेको छ तर सेवा–सुविधा राम्रो नहुँदा कतिपय बिमितले बिमा नवीकरण गर्न छोडेको अवस्था छ। भनेको समयमा चिकित्सक सेवा उपलब्ध नहुने, आवश्यक औषधि नपाइने, सानो उपचारका लागि पनि बढी हैरानी खेप्नुपर्ने गुनासो बढेको छ।

उता स्वास्थ्य बिमा गरेर पनि १० प्रतिशत महसुल अतिरिक्त लगाइएको छ । राज्यद्वारा सहज किसिमले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा बिरामीले थप आर्थिक भार र हैरानी बेहुर्नुपर्ने हुँदा बिमासम्बन्धी नीति नै व्यावहारिक नभएको जनधारणा छ, जसले गर्दा लोकतन्त्रको नै उपहास भएको महसुस भएको छ।

जनआन्दोलनको उपब्धिका रुपमा लिइएको संविधान जारी भएको पनि ९ वर्ष पुगिसकेको छ तर अहिलेसम्म संविधान पूर्णरुपमा कार्यान्वयन भइसकेको देखिँदैन। राजनीतिक दल र तिनका नेता सत्तास्वार्थमा मात्र केन्द्रित भई जिम्मेवार नबनेकै कारण संविधान पूर्ण कार्यान्वयन हुन नसकेको आँकलन छ। लोकतन्त्र आएपछि सत्ता केन्द्रित नेता र आसेपासेमा बाहेक सर्वसाधारणको जीवनमा खासै परिवर्तन आएको देखिँदैन । त्यसैले सर्वसाधारणमा लोकतन्त्रको अनुभूति दिलाउनु आजको पहिलो आवश्यकता रहेको छ।

हुन त लोकतन्त्रको प्राप्तिपश्चात् केही राजनीतिक उपलब्धि हासिल नभएको भने होइन । तर जनताको जनजीविकाका सवालमा जुन परिवर्तनको अपेक्षा थियो त्यो अधुरै छ । जनतामा आज नैराश्यता र रोष बढ्दै गएको छ। धनी र गरिबबीचको खाडल पुरिनुको सट्टा झन् बढ्दै गएको छ। लोकतन्त्र आज केवल कागज र नेताहरुको भाषणमा छ, जनताले लोकतन्त्रको अनुभव हासिल गर्न सकेको अवस्था छैन।

राजनीतिक परिवर्तन र भाषणमा जति नै उच्चताभास भए पनि जनताको जीवनस्तर सुधार्ने कार्य हुन सकेको देखिँदैन। त्यसैले भिन्न विचार राख्नेलाई अनेक आरोप लगाएर घचेट्नुभन्दा उनीहरुसमेतको सहयोग लिई सरकार बलियो बनाउनु अपरिहार्य छ । साथै आफ्नो दुनो सोझ्याउनपट्टि नलागी कसरी हुन्छ जनतालाई पूर्ण लोकतन्त्रको अनुभूति दिलाउनु जरुरी छ ।