दर्शन र परम्पराको उत्पत्तिमा नेपालको विशिष्ट उपस्थिति रहेको छ : मन्त्री पाण्डे


भक्तपुर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दर्शन र परम्पराको उत्पत्तिमा नेपालको विशिष्ट उपस्थिति रहेको बताएका छन् ।

कोटेश्वर बहुमुखी क्याम्पस र धम्मा अध्ययन तथा सहयोग केन्द्रले संयुक्त रुपमा आज गठ्ठाघरमा आयोजना गरेको भगवान बुद्धलाई कसरी चिन्ने बिषयक विचार बिमर्श कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हाम्रो समाजको ज्ञान र दर्शनको अनुभवबाट समाज अधिक लाभान्वित हुनुपर्ने बताए ।

उनले नागरिकलाई ज्ञानको महत्व संझाउन र यस मार्गमा डोर्याउन थप प्रयत्नशील रहनुपर्ने बताउँदै हाम्रो शिक्षा प्रणालीलाई यान्त्रिक औपचारिकको सीमाबाट बाहिर ल्याएर थप जीवन्त,जीवन उपयोगी ,सृजनशिल र सदाचारी बनाउनुपर्नेमा जोड दिए ।

समाजलाई नयाँ समस्या उल्झन र चुनौतिहरुमा अल्झिएर आत्मिक ,भौतिक र मानसिक अशान्तिको सिकार हुने खतराबाट जोगाएर सहनशीलता,सद्भाव र सहिष्णुताको मार्गमा डोराउनुपर्ने मन्त्री पाण्डेको भनाई थियो ।

कुनै पनि मुलुकको प्रगतिको मानक त्यहाँको भौतिक विकास मात्र नभएको बताउँदै उनले आम नागरिकको आत्मिक र मानसिक तागत तथा चेतनाको विकास पनि हो भने ।यो बुझाई हाम्रो पूर्वीय ज्ञान र परम्पराको महत्त्वपूर्ण दर्शन र  हाम्रो सम्पत्ति पनि भएको उनले बताए ।

बुद्ध नेपालमा जन्मिएकोमा गर्व मात्र गर्ने तर बुद्धका ज्ञानलाई जीवनमा अनुसरण नगर्ने परिपाटीले हाम्रो गौरवको औचित्य नरहने मन्त्री पाण्डेको भनाई थियो ।

कार्यक्रममा बौद्ध शिक्षाकी व्याख्याता अजाहन सुजिन बोरिहान वानाकेट (थाइल्यान्ड)ले भगवान गौतम बुद्ध र बिश्व शान्तिका बारेमा बिस्तृत रुपमा चर्चा गरे।

सो अवसरमा कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले संसार युद्धको त्रासमा रहेको बेला बुद्धको जन्मभूमिबाट बिश्वशान्तिको सन्देश दिन चाहेको बताए ।

कार्यक्रममा थाइल्यान्ड लगायत विभिन्न देशबाट ६० जना अनुयायी र नेपालबाट प्रा.डा.उपेन्द्र कोइराला,प्रा.डा.हृदयरत्न बज्राचार्य,प्रा.डा.वासुदेव काफ्ले लगायत सहभागी भएको आयोजकले जनाएका छन् ।