दरबार अगाडि एमालेको जागरणसभा

2.44k
Shares

काठमाडौं ।


सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने भएको छ । अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो ।


एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताउनुभयो । देश बन्दै छ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएकाले पार्टीले जागरणसभा गर्न लागेको उहाँको भनाइ छ ।


‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौँ । यो अपिल जनतामा लैजान खोजेको हो,’ ज्ञवालीले भन्नुभयो– ‘अहिलेको सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न । तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’


एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रमको नेतृत्व गर्ने जिम्मा बागमती अध्यक्ष कैलाश ढुंगेललाई दिइएको छ । भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएकोले दरबारमार्गमा गर्ने निर्णय गरिएको एमालेले जनाएको छ । भद्रकालीबाट शुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ ।