काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उहाँलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आउनुभएको हो । सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट महानुभावको उपस्थिति थियो ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरतास्वरूप सन् १९५० देखि दुवै देशले एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविंदले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले बिहीबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । साथै, उहाँलाई जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त अवसरमा उहाँले जङ्गी अड्डा प्राङ्गणमा वृक्षरोपणसमेत गर्नुभएको थियो ।
प्रधान सेनापति सिग्देल र जनरल उपेन्द्र द्विवेदी बीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशका सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा एक अर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिने सम्बन्धमा समेत छलफल भएको थियो ।
त्यस्तै, भारतीय सेनाको श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता द्विवेदी र सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलबीच भद्रकालीस्थित संघको कार्यालयमा भेटघाट भएको थियो । उक्त अवसरमा उहाँलाई सैनिक श्रीमती संघले सञ्चालन गरेका विविध कल्याणकारी गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो । साथै, प्रधानसेनापति महारथी सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीको सम्मानमा बिहीबार साँझ जङ्गी अड्डामा रात्रिभोज आयोजना गरिएको थियो ।
प्रतिक्रिया