सन् १९१६ मा बेलायतको बकिङ्घमका एक क्षयरोगीलाई नजिकैको गिर्जाघरमा बजाइने गरेको घण्टको आवाजले आफ्नो स्वास्थ्य झन् खराब हुँदै गएको अनुभूति भयो । ती क्षयरोगीले घण्टको आवाजका कारण आफ्नो स्वास्थ्यमा नकारात्मक असर परेको उल्लेख गरी अदालतमा मुद्दा दायर गरे ।
अदालतले तीनजना विशिष्ट वैज्ञानिकलाई घण्टको आवाजको प्रभावबारे अध्ययन गर्न लगायो । ती वैज्ञानिकले सात महिना लगाएर घण्टको आवाजले क्षयरोगीलाई लाभ पुग्ने निष्कर्ष निकाले । क्षयरोग मात्र नभएर घण्टको आवाज अन्य रोगहरुमा पनि उपयोगी हुन सक्ने ती वैज्ञानिकले बताएपछि अदालतलाई मुद्दा छिन्न सजिलो भएको कुरा ‘दैनिक पूजाविधि तथा वार्षिक पर्व निर्देशिका’मा उल्लेख गरिएको छ ।
एक किसिमको विशेष धातुबाट बनेको सिङ्गिङ बाउल (कचौरा) बजाउँदा पनि लामो समय ध्वनिका तरंगहरु गुञ्जिरहन्छन् । यो गुञ्जनलाई पनि घण्टको गुञ्जनमा तुलना गर्न सकिन्छ । यस्तो ध्वनिबाट गरिने स्वास्थ्योपचारलाई ध्वनि थेरापी (साउन्ड थेरापी) भनिन्छ ।
धार्मिक शास्त्रमा शङ्खध्वनिले जस्तै घण्टध्वनिले पनि राक्षस भाग्ने र देवताहरुको आगमन हुने कुरा बताइएको छ । घण्टको पूजा गर्दा भन्ने यो तलको श्लोकले पनि यो कुरा व्यक्त गरेको छ–
आगमनार्थ देवानां गमनार्थं च रक्षसाम् ।
घण्टानादं प्रकुर्वीत पश्चाद्घण्टा प्रपूजयेत् ।
अर्थात् ‘देवताहरुको आगमन र राक्षसहरुको गमनका लागि घण्ट बजाउने काम गरेपछि घण्टको पूजा गरियोस् ।’ यसबाट के बुझ्न सकिन्छ भने, घण्टको ध्वनिले नकारात्मकता हटेर सकारात्मकता प्राप्ति हुन मद्दत पुग्छ ।
मन्दिरको घण्टको कुरा गर्ने हो भने, मन्दिरमा झुन्ड्याइएको घण्ट यसरी बनाइएको हुनुपर्छ कि सो घण्ट बजाएपछि कम्तीमा ७ सेकेन्डसम्म सो आवाजको प्रतिध्वनि गुञ्जिनुपर्छ । साथै घण्टको भाइब्रेसन बढी नै हुनुपर्छ ।
हाम्रा मन्दिरहरुमा राखिएका ठूला घण्टहरुको भाइब्रेसन र ध्वनिको तरंग शायद ७ सेकेन्डभन्दा धेरै बढी हुन्छ । यस्ता घण्ट बजाउँदाको आवाजको आवृत्ति (फ्रिक्वेन्सी) यस्तो हुन्छ कि त्यसले सो आवाज सुन्ने मानिसको मस्तिष्क मज्जाले सक्रिय हुन्छ । ७ सेकेन्डसम्म आइरहने आवाजको प्रतिध्वनि सुनिराख्दा मानिसको सातै चक्रलाई सकारात्मक प्रभाव पार्ने हुन्छ र स्वस्थ रहन मद्दत पुग्छ । यसैले हाम्रा प्रायः मन्दिरमा ठूला–ठूला घण्टहरु झुन्ड्याएको र त्यहाँ जानेहरुले बजाउने गरेको पाइन्छ ।
प्रतिक्रिया