पचासी किलोमिटर पदयात्राको तयारीमा नेपाली सेना

1.88k
Shares

उदयपुर ।


नेपाली सेनाको गाईघाटस्थित पशुपतिप्रसाद गणले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको ८५ किलोमिटर पदयात्राको तयारी गर्ने भएको छ । सो पदयात्रा आगामी पुष २१ गतेदेखि २७ गतेसम्म गर्ने बताइएको छ ।


ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उदयपुरको गाईघाट बोक्सेस्थित पशुपति प्रसाद गणको पिपलटार व्यारेकको आयोजनामा उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको ८५ किलोमिटर महाभारत पदयात्रा गर्ने भएको हो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसर पारेर गणले आगामी पुस २१ देखि २७ गतेसम्म एतिहासिक स्थल उदयपुरगढीदेखि अर्को एतिहासिकस्थल चौदण्डीगढीसम्मको यात्रा गर्ने भएको पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले जानकारी दिनु भयो ।


गणपति वाग्लेका अनुसार यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्बसाधारणहरुको सहभागिता रहने छ । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ । पदयात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट गर्दै जाने जानकारी दिइएको छ ।

यात्रापुरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षसहितको समिति बनेको छ । साथै इतिहास संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विषयबस्तुमा पालिकाहरुमा हाजिरीजवाफ, निवन्धलेखन, वक्तृत्वकला र कविता वाचन प्रतियोगिता सञ्चालन गरिनेछ ।


यात्राको पहिलोदिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रोदिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथोदिन रौता पोखरीमा बस्नेछ । त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा बास बस्ने छ र छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौदिन विरेन्द्रबजार हुदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन गर्ने रहेको छ ।

यात्रा तालिका अनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने रहेको छ । समापन समारोहमा पालिकास्तरमा भएका साहित्यिक प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, यात्राको समीक्षा तथा सहभागिलाई सम्मान, मायाको चिनो वितरण लगायतका कार्यक्रम गरिने जनाइएको छ ।