डेनमार्क र क्रोएशिया क्वार्टरफाइनलमा


लन्डन, (एजेन्सी) ।


डेनमार्क र क्रोएशिया यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । लिग ए समूह ४ को दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नको लागि डेनमार्कलाई कम्तीमा बराबरीमा रोक्न आवश्यक थियो ।


सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३–२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो । यसअघि नै अन्तिम आठमा पुगिसकेको स्पेन ६ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ भने ८ अंक जोडेको डेनमार्क दोस्रो स्थानमा रह्यो ।


सर्बिया ६ अंक जोडेर तेस्रो स्थानमा र जितविहीन स्विट्जरल्यान्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ । स्विट्जरल्यान्ड दुई अंकका साथ पुछारमा छ । त्यसैगरी पोर्चुगलसँग १–१ को बराबरी खेल्दै क्रोएसियाले पनि अन्तिम आठमा स्थान पक्का ग¥यो । पोर्चुगल यसअघि नै प्रतियोगिताको अन्तिम आठमा पुगिसकेको थियो । लिग ए समूह १ मा पोर्चुगलले १४ र क्रोएसियाले ८ अंक जोडेका छन् ।


स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिइएको खेलमा ३३औं मिनेटमा भिटिन्हाले दिएको लामो पासमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ६५औं मिनेटमा जोस्को गभार्डियोलले गोल गरेपछि क्रोएसिया क्वाटरफाइनलमा पुग्न सफल भयो । सोही समूहमा स्कटल्याण्ड पोल्याण्डलाई २–१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।


त्यस्तै, लिग सी समूह ३ मा बुल्गेरिया र बेलारुसले १–१ तथा लक्जेमबर्ग र उत्तरी आयरल्यान्डले २–२ गोलको बराबरी खेले । लिग सी समूह २ मा कोसोभोले लिथुवानियालाई १–० र रोमानियाले साइप्रसलाई ४–१ ले पराजित गरे । ६ खेलको समाप्तिमा स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ ।

अन्तिम आठमा क्रोएसिया, फ्रान्स, इटाली, जर्मनी, स्पेन, पोर्चुगल र नेदरल्यान्ड्सले स्थान बनाइसकेका छन् । अन्तिम आठका खेलहरू आगामी वर्ष मार्च २० देखि मार्च २३ तारिखसम्म हुनेछ ।