युरोप शाखालाई चलायमान र गतिशील बनाउन आग्रह

2.26k
Shares

काठमाडौं ।


नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच सञ्जयभक्त कँडेल नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई जुममार्फत शपथग्रहण तथा पदस्थापन गरिएको हो ।


कार्यक्रममा निर्वाचन समितिका संयोजक आरके त्रिपाठीले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रवासमा रहेका नेपाली पत्रकारले पत्रकारिताको माध्यमबाटै नेपाललाई योगदान गर्नुपर्ने बताउनुभयो ।

लोकतन्त्रवादी पत्रकारहरुलाई संगठित गर्ने उद्देश्यका साथ वैदेशिक शाखा विस्तार गरिएको उल्लेख गर्दै लम्सालले युरोप शाखालाई चलायमान र गतिशील बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, निर्वाचन समितिका संयोजक एवं कांग्रेस नेता आरके त्रिपाठी, केन्द्रीय प्रतिनिधि एवं युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, प्रेस युनियन युरोपका सल्लाहकार एवं वरिष्ठ पत्रकार भागीरथ योगी, युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला, प्रेस युनियन पोर्चुगलका संयोजक वासु सत्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रम प्रेस युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षता, सविना श्रेष्ठको स्वागत तथा भरत प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।